17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

छोरा छुटाईदिन्छु भन्नेले नै गरे नेपालगन्जका मनिहारको हत्या

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, असार १४, २०८०  

कृष्ण ओली । बाँके ।

हेलो ?
हजुर ।
हेलो, लालीगुराँस होटेल ?
हो ।
रूम नम्बर १०५ मा … !
रूम नम्बर १०५ मा ?
लास … ।

२०६४ असोज १९ । साँझ साढे पाँच बजेतिर नेपालगन्जस्थित न्यूरोड रोडमा रहेको लालीगुराँस होटेलमा अपरिचितले फोन गरेर यस्तो खबर दियो साहुजी झसंग भए । पत्याएनन् तर हत्तपत्त कोठातिर दौडिए । नभन्दै रगतमा लत्पतिएको एक अधवैंशेको लास थियो कोठामा ।

२०६४ असोज १९ गते नेपालगन्ज बागेश्वरीका मजिद मनिहार परिचित अजय सिंहसँगै घर आए । छोरा बिक्की मनिहार जाली भारतीय रूपैयाँ कारोबारीको अभियोगमा उत्तरप्रदेश कारागारमा थिए । अजयले उनै बिक्कीलाई छुटाउने आश्वासन दिएका थिए मनिहार परिवारलाई । मनिहारले श्रीमती नुरजहाँलाई चिया पकाउन अह्राए ।

‘अन्टी चाये एैसा बनाना कि दिल खुस हो जाए, थोडा से हो पर टेस्टी हो,’ नुरजहाँतिर हेर्दै अजयले भने । चिया आयो ।
मजिद तनावमा थिए छोराका कारण । बिक्कीलाई कसरी भारतको जेलबाट छुटाऊँ ? उनी यसैमा भौँतारिइरहेका थिए ।

अजयले सहयोग गर्छु भनेकाले उनी केही आशावादी थिए । छलफल गर्दागर्दै दुई घन्टा बित्यो । पाँच बजेतिर मजिद अजयसँगै मोटरसाइकलमा बाहिरिए । उनी घरबाट एक किलोमिटरको दूरीमा रहेको लालीगुराँस होटेल पुगे । त्यसपछि मजिद फर्किएनन् । कोठा नम्बर १०५ मा धारिलो हतियारले कञ्चटमा घोचेर मारिएको अधवैंशेको शव मजिद मनिहारकै थियो ।

होटेलको कोठा नम्बर १०२ र १०५ मा मजिदकै परिचित बसेका थिए । मजिद मारिएपछि भने उनीहरू गायब थिए । पत्रकार केपी ढुंगानाको ‘ओपन सेक्रेट’ किताबमा उल्लेख भएअनुसार भदौ पहिलो साता मजिदका छोरा बिक्की नक्कली भारतीय रूपैयाँ कारोबार अभियोगमा भारत बहराइचबाट पक्राउ परेका थिए ।

२३ वर्षीय बिक्की पक्राउको कारण खुलाउँदै भारतीय प्रहरीले उनी नेपालमा नक्कली भारू कारोबारमा सक्रिय रहेको र पक्राउ पर्दा साथबाट पाँच लाख नक्कली भारू बरामद भएको बताएको थियो ।

५० हजार खर्च गरे बिक्कीलाई छुटाइदिने प्रस्ताव पठाए भारत कानपुरका इबरारले, मजिदलाई । मजिद पैसा खर्च गरेर भए पनि छोरो छुटाउन तयार भए इबरारले १८ गते पैसा लिन आफ्ना सहयोगी नेपालगन्ज पठाए ।

तिनै व्यक्ति थिए होटेल लालीगुराँस कोठा नम्बर १०२ र १०५ का पाहुना, अजय र बिजेन्द्र सिंह । होटेलको बिजेन्द्रले आफ्नो ठेगाना लखनउ लेखेका थिए, अजयको झाँसी ।

आइतबार कोठा बुक भएपछि मजिदले पटकपटक होटेल गएर उनीहरूसित छलफल गरेका थिए । अजयसँग मजिद बढी नजिक थिए । उनी छोराबारे उनैसित बढी कुरा गर्थे । १९ गते बिहान मजिद आफ्ना १३ वर्षीय अर्को छोरो मुसिम सिद्दीकीलाई लिएर लालीगुराँस होटेल पुगे । केहीबेर त्यहीँ बसेर १० बजेतिर उनी मुसिम र भारतीयलाई साथै लिएर घर आए । बिहानको खाना खाए, अनि फेरि होटेल फर्किए ।

‘ओपन सेक्रेट’ किताबमा उल्लेख भएअनुसार दिउँसो दुई बजे अजय फेरि मजिदकै घर आए र बिक्कीलाई छुटाउनेबारे कुरा गरेर फर्किए । फेरि उनी तीन बजे मजिदको घर आए, घरवरिपरि गहिरोसँग नियाले, चिया पिए र पाँच बजे मजिदलाई लिएर होटेल फर्किए । होटेलबाट आएको सूचनाअनुसार प्रहरी कोठामा पुग्यो ।

प्रारम्भिक अनुसन्धानबाट धारिलो हतियार प्रयोग गरेर मजिदको हत्या भएको निष्कर्ष निस्कियो । तर कुन हतियार भन्ने खुलाउन सकेन प्रहरीले । अटोस्पी रिपोर्टमा ‘कज अफ डेथ कुडन्ट बि स्पेसिफिक, भिसेरा रिपोर्ट स्टिल टु बि एनलाइज्ड’ लेखियो ।

होटेलको लगबुकका आधारमा हत्यामा भारतीय नागरिक सलग्न रहेको निष्कर्ष निकाल्यो प्रहरीले । पत्नी नुरजहाँले भारत बहराइचका इबरार, भारत लखनउका बिजेन्द्र र अजयविरूद्ध प्रहरीमा किटानी जाहेरी दिइन् । हुन त मजिद भारत उत्तरप्रदेश बहराइचकै स्थायी बासिन्दा हुन् ।

तर, उनी नेपालगन्ज बागेश्वरीटोल बस्न थालेको २० वर्ष नाघिसकेको थियो । सो बेला नेपाली नागरिकता पाइसकेका थिए उनले । स्थानीय स्तरमा पार्टी राजनीतिमा पनि सक्रिय थिए मजिद, एमालेबाट २०६४ सालमा उनी नेपाल मुस्लिम इत्तेहाद संगठन, बाँकेका जिल्ला उपाध्यक्ष भएका थिए । बहराइचकै नुरजहाँ सिद्दीकीसँग बिहे गरेका मजिदका तीन छोरा, दुई छोरी छन् ।

प्रकाशित मितिः बिहिबार, असार १४, २०८०     8:39:07 AM  |