बाँके, राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाहीसहित दुईजना किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा दोषी ठहर भएका छन् । विशेष अदालतले प्रबन्धक शाहीलाई दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय सुनाएको हो ।
विशेष अदालतको फैसलाअनुसार प्रबन्धक शाहीलाई कैदका साथै एक करोड २५ लाख रुपैयाँ जरिवानासमेत तोकेको छ । सोही इजलासले शाहीसँगै व्यवसायी रिजवान अहमद जसगढलाई पनि सो मुद्दामा दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ । उनलाई एक वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाही र अहमदसमेत आठजनालाई प्रतिवादी कायम गरी २०७७ पुस १४ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यस मुद्दामा अभियोजन दर्ता भएका अन्य ६ प्रतिवादीले भने सफाइ पाएको अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।
मुद्दा दायर गरेको अढाइ वर्षपछि अदालतबाट फैसला आएको हो । नेपालगन्ज त्रिभुवन चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखाका प्रबन्धक रहेका शाहीसमेतका कर्मचारीले किर्ते कागजातको आधारमा किर्ते धितो मूल्यांकन गरी कर्जा प्रवाह गरेको अभियोजनसहित मुद्दा दर्ता गरिएको थियो ।
नेपालगन्ज उपमहानगरपालिका–११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढलाई ऋण लगानी गर्दा बैंकलाई झुक्याएर एक करोड २५ लाख रुपैयाँ ऋण प्रवाह गरेको अभियोगमा २०७७ जेठ २७ गते शाहीलाई प्रहरीले पक्राउ गरेको थियो ।









प्रतिक्रिया दिनुहोस्