शुभाकर विश्वकर्मा
कोहलपुर
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाबाट बाँकेका पीडितहरुले पूर्वअध्यक्ष केदारनाथ शर्माविरुद्ध ठगी मुद्दा दायर गर्ने तयारी गरेका छन् । मंगलबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले भारतको मुम्बईबाट पक्राउ गरेसँगै बाँकेका पीडितहरुले गठी आरोपमा मुद्दा हाल्ने तयारी गरेका हुन् ।

उनलाई भारतबाट ल्याइएसँगै बाँकेका शिव शिखर पीडितहरु काठमाडौं पुगेका छन् । शर्मासहित तत्कालीन सञ्चालक समितिविरुद्ध मुद्दा हाल्ने तयारी गरिएको संघर्ष समितिका संयोजक दीपक ढुंगानाले मिसन टुडेलाई बताए । उनका अनुसार मुद्दा दर्ताका लागि शिव शिखर सहकारीबाट पीडितहरुको टोली काठमाडौं पुगिसकेको छ ।
उनले बुधबार (आज) सिआइबी र सहकारी विभागमा मुद्दा दर्ता गरिने बताए ।
‘हामी विगत ६ महिनादेखि न्यायको खोजीमा छौं । बचतकर्ताहरुको बचत फिर्ताको प्रयास भइरहेको छ । पूर्व अध्यक्ष पक्राउ परेका छन् । अब हामी कानुनी लडाइँ लड्दैछौं । मुद्दा दर्ता हुँदैछ,’ उनले भने ।
उनीहरुको टोलीमा २० जना छन् । संघर्ष समितिले शिव शिखर सहकारी संस्था बाँकेमा रहेका तीनवटा शाखाका प्रबन्धकलाई समेत सँगै काठमाडौं लिएको छ ।
बाँकेमा शिव शिखरका २० हजार तीन सय ६५ जना बचतकर्ता छन् । उक्त सहकारीका बाँकेमा भएका तीनवटै शाखा अहिले बन्द अवस्थामा छन् । नेपालगन्ज, कोहलपुर र बैजनाथ गाउँपालिकाको सम्झनामा उक्त सहकारीका शाखा सञ्चालनमा थिए । संघर्ष समिति संयोजक ढुंगानाले कोहलपुर शाखाबाट ७२ करोड, सम्झना शाखामा साढे पाँच करोड र नेपालगन्जमा पाँच करोडभन्दा बढी बचताकर्ताहरुको बचत फिर्ता गर्नुपर्ने बताएका छन् ।
यसअघि बाँकेमा १० करोड बराबरको खाद्य सामग्री साना बचतकर्ताहरुलाई वितरण गरिएको उनको भनाइ छ । बाँके जिल्लामा मात्रै कुल ७८ करोड ठगी भएको पीडितहरुले दाबी गरेका छन् ।
काठमाडौं पुगेको टोलीमा कोहलपुर शाखाकी म्यानेजर सुनिता चौधरी, सम्झना शाखाकी समीक्षा खनाल, नेपालगन्ज शाखाकी सन्ध्या गुरुङ र बाँके इञ्चार्ज राजकुमारी शाहीसमेत छन् । उनी भन्छन्, ‘शाखाका म्यानेजरलाई समेत लिएर आएका छौं । उहाँहरुले हाम्रो संघर्षमा सघाउनुहुन्छ । सहयोगीको भूमिका खेल्नुहुनेछ ।’
बाँकेमा रहेका सहकारी पीडितहरुले ६ महिनादेखि आन्दोलन र खबरदारी गर्दै आएका छन् । पूर्वअध्यक्ष शर्मालाई १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेको छ ।









प्रतिक्रिया दिनुहोस्