बंशजको नागरिकता प्राप्त गर्न टोकन



कोहलपुर, जिल्ला प्रशासन कार्यालय बाँकेले जन्मको आधारमा सन्ततीका लागि नयाँ नागरिकता प्राप्त गर्न अनलाइन टोकन प्रणाली लागु गरेको छ । सेवाग्राहीहरुलाई पर्न जाने झन्झटिलो अवस्थालाई सुधार गर्न नागरिकता प्राप्तिका लागि अनलाइन टोकन प्रणाली लागु गरिएको हो ।

सेवाग्राहीले अनलाइनबाट टोकन भरेरै नागरिकता सहजै प्राप्त गर्न सक्ने सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जनाए । ‘अनलाइनबाटै टोकन लिँदा कहिले आउने भन्ने कुरा त्यसमा हुनेछ । मिति र गतेअनुसार उहाँहरु आउनु हुनेछ,’ उनले भने, ‘प्रविधिको पहुँचमा हुनेले अनलाइन फार्म भर्नेछन् । पहुँचमा नहुनेहरु भने कार्यालय मै आएर सेवा लिन सक्नेछन् ।’

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाल नागरिकता ऐन (पहिलो संशोधन)ऐन २०७९ को कार्यान्वयनको चरणमा छ । जन्मको आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई बंशजको आधारमा नेपाली नागरिकता वितरण भइरहेको छ । सो क्रममा सेवाग्राहीहरुलाई कार्यालय मै आएर लाइन लागि पालो कुर्नुपर्ने झन्झटिलो, सास्ती हैरानी हुने अवस्थालाई मध्यनजर गरेर यस्तो सेवा लागु गरिएको छ ।’

नागरिक वितरणलाई सहज, सरल, छिटोछरितो, निष्पक्ष र पारदर्शीरुपले सेवा प्रवाह गर्नका लागि टोकन प्रणाली लागु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताए । अनलाइन टोकन प्रणालीमा आआफ्नो विवरण प्रविष्ट गर्नुपर्नेछ । टोकनमा तोकिएको दिन मात्रै कार्यालयमा उपस्थित हुनुपर्ने प्रशासनले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुर र नरैनापुरमा भने प्रणाली लागु हुने छैन । नागरिकता विधेयक प्रणामीकरण भएसँगै बाँकेमा असार १० गतेबाट नागरिकता वितरण सुरु गरिएको थियो । पहिलो दिन एकजनाले मात्रै बंशजको आधारमा नागरिकता लिएको कार्यालयले जनाएको छ । असार ११ गते भने २७ जनाले नागरिकता लिएका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०८० असार १३ गते बुधबार