खुल्यो मनिहार हत्याको फाइल :भारतीय सुटर पक्राउ



कृष्ण ओली,बाँके
जिल्ला प्रहरी कार्यालय बाँकेले साढे १५ वर्षपछि नेपालगन्जका अब्दुल मजिद मनिहार हत्याको फाइल खोलेको छ । मनिहारको २०६४ असोज १९ गते दिउसो बागेश्वरी मन्दिरको गेट अगाडि न्यूरोडस्थित लालीगुराँस होटेलमा क्रूर (निर्मम, निर्दयी) हत्या भएको थियो ।

हत्याको अनुसन्धान अगाडि बढेसँगै एकजना भारतीय पेसेबर अपराधी (सुटर) समेत पक्राउ परिसकेका छन् ।
हत्यामा संग्लन भारतीय अपराधीको समूहले होटेलका १०२ र १०५ नम्बर कोठामा बुक गरेका थिए । मनिहार भने हत्या गरिएको अवस्थामा होटेलको कोठा नम्बर १०५ मा भेटिएका थिए ।

भारत उत्तरप्रदेश आसीआना कोलनी कानपुर रोड लखनउका ४१ वर्षीय जसजित सिंह भनिने मनमित सिंह भटिया पक्राउ परेको बाँकेका प्रहरी उपरीक्षक (एसपी) सन्तोषसिंह राठौरले जानकारी दिए । उनका अनुसार डिल्लीबजार कारागारबाट १२ वर्ष जेल बसेर गत फागुन २६ गते रिहा भएलगत्तै उनीलाई काठमाडौं प्रहरीको सहयोगमा नियन्त्रणमा लिएर बाँके ल्याइएको थियो ।

सुन्धारास्थित केन्द्रीय कारागार भद्र बन्दीगृहमा भेटघाटको निहुँमा गएका भटियाले नक्कली भारतीय नोट एवम् खैरो हेरोइन कारोबारको अभियोगमा कारागारमा रहेका युनुस अन्सारीमाथि गोली प्रहार गरेका थिए ।
भारतीय पेसेबर सुटर भटिया कारागारभित्रै भएको अन्सारीमाथिको गोलीकाण्डमा १२ वर्ष जेल बसेका हुन् ।

नेपालगन्जका मनिहार हत्यामा उनको समेत संग्लनता देखिएपछि जेलबाट रिहालगत्तै प्रहरीले पक्राउ गरेर बाँके प्रहरीको जिम्मा लगाएको थियो । घटनाको अनुसन्धानपश्चात गत चैत तेस्रो साता नै मुद्दाको फाइल सरकारी वकिल कार्यालय बाँकेमा बुझाइएको एसपी राठौरले मिसन टुडेलाई जानकारी दिए ।

सरकारी वकिलको कार्यालयले थुनछेकका लागि बाँके जिल्ला अदालतमा मुद्दा पेस गरेकोमा गत चैत २३ गते पक्राउ परेका भटियालाई पुर्पक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको थियो ।
मनिहारको हत्यामा संग्लन काठमाडौंको डिल्लीबजार कारागारमा रहेको सूचना पाएपछि बाँके प्रहरीले साढे १३ वर्ष पुरानो घटनाको फाइल खोजेर अनुसन्धान अगाडि बढाएको थियो ।

‘केही पहिला पनि अनुसन्धान अगाडि बढाउन खोजेका थियौं । त्योबेला पीडित परिवारले असहयोग गर्दा अगाडि बढेको थिएन,’ घटनाको अनुसन्धानमा खटिएका एक प्रहरीले मिसन टुडेसँग भने, ‘पछिल्लोपटक गरेको प्रयास सफल भएपछि अनुसन्धान पनि अगाडि बढ्यो । केही भए पनि सफलता हात लाग्यो भन्नुप¥यो ।’

पछिल्लो अनुसन्धानमा पीडित परिवारले प्रहरीलाई सहयोगसमेत गरेका थिए । प्रहरीलाई समेत पीडित परिवारलाई विश्वासमा लिन लामो समय लागेको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संग्लन रहेको भन्दै पक्राउ परेका भटियासहित तीनजनाविरूद्ध अनुसन्धानपश्चात मुद्दा दायर गरेको थियो ।

तीमध्ये बाँके जिल्ला अदालतको आदेशले पक्राउ परेका भारतीय सुटर भटिया पुर्पक्षका लागि नेपालगन्ज कारागारमा छन् । अन्य दुई भारतीय नागरिकलाई फरारको सूचीमा राखिएको छ ।

‘तीनजना अभियुक्तमध्ये एकजना कारागार र अन्य दुई भारतीय नागरिक फरारको सूचीमा छन्,’ एसपी राठौरले मिसन टुडेसँग भने, ‘उनीहरूको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । नियन्त्रणमा लिनको लागि सकेसम्म सबै उपाय लगाइरहेका छौं ।’
घटनाको बेला नेपालगन्ज बागेश्वरी टोलमा घर भएका मनिहारलाई खुकुरी र तरबार प्रहार गरेर क्रूर हत्या गरिएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

पुराना फाइलमा रहेका केही प्रमाणहरू हेर्दासमेत गोली प्रहारभन्दा पनि धारिलो हतियार प्रहारबाट हत्या भएको देखिने अनुसन्धानमा खटेका प्रहरी अधिकारीले बताए ।

‘बाहिर गोली प्रहार भने पनि त्यसो देखिँदैन । धारिलो हतियार नै प्रहार हो,’ ती प्रहरी अधिकारीले भने, ‘खुकुरी र तरबारले हानेर हत्या भएको हो । खुकुरी र तरबार भने भेटिएका छैनन् ।’ साढे १३ वर्ष पुरानो घटना भएकोले अहिले प्रहरीलाई अनुसन्धानका क्रममा घटना बेलामा प्रमाणहरू जुटाउन अठ्यारो भएको थियो ।

जसले आस देखाए उसैले हत्या गरे
हेलो ?
हजुर ।
हेलो, लालीगुराँस होटेल ?
हो ।
रूम नम्बर १०५ मा … !
रूम नम्बर १०५ मा ?
लास … ।
२०६४ असोज १९ । साँझ साढे पाँच बजेतिर नेपालगन्जस्थित न्यूरोड रोडमा रहेको लालीगुराँस होटेलमा अपरिचितले फोन गरेर यस्तो खबर दियो साहुजी झसंग भए । पत्याएनन् तर हत्तपत्त कोठातिर दौडिए । नभन्दै रगतमा लत्पतिएको एक अधवैंशेको लास थियो कोठामा ।
२०६४ असोज १९ गते नेपालगन्ज बागेश्वरीका मजिद मनिहार परिचित अजय सिंहसँगै घर आए । छोरा बिक्की मनिहार जाली भारतीय रूपैयाँ कारोबारीको अभियोगमा उत्तरप्रदेश कारागारमा थिए । अजयले उनै बिक्कीलाई छुटाउने आश्वासन दिएका थिए मनिहार परिवारलाई । मनिहारले श्रीमती नुरजहाँलाई चिया पकाउन अह्राए ।

‘अन्टी चाये एैसा बनाना कि दिल खुस हो जाए, थोडा से हो पर टेस्टी हो,’ नुरजहाँतिर हेर्दै अजयले भने । चिया आयो ।
मजिद तनावमा थिए छोराका कारण । बिक्कीलाई कसरी भारतको जेलबाट छुटाऊँ ? उनी यसैमा भौँतारिइरहेका थिए ।

अजयले सहयोग गर्छु भनेकाले उनी केही आशावादी थिए । छलफल गर्दागर्दै दुई घन्टा बित्यो । पाँच बजेतिर मजिद अजयसँगै मोटरसाइकलमा बाहिरिए । उनी घरबाट एक किलोमिटरको दूरीमा रहेको लालीगुराँस होटेल पुगे । त्यसपछि मजिद फर्किएनन् । कोठा नम्बर १०५ मा धारिलो हतियारले कञ्चटमा घोचेर मारिएको अधवैंशेको शव मजिद मनिहारकै थियो ।

होटेलको कोठा नम्बर १०२ र १०५ मा मजिदकै परिचित बसेका थिए । मजिद मारिएपछि भने उनीहरू गायब थिए । पत्रकार केपी ढुंगानाको ‘ओपन सेक्रेट’ किताबमा उल्लेख भएअनुसार भदौ पहिलो साता मजिदका छोरा बिक्की नक्कली भारतीय रूपैयाँ कारोबार अभियोगमा भारत बहराइचबाट पक्राउ परेका थिए ।

२३ वर्षीय बिक्की पक्राउको कारण खुलाउँदै भारतीय प्रहरीले उनी नेपालमा नक्कली भारू कारोबारमा सक्रिय रहेको र पक्राउ पर्दा साथबाट पाँच लाख नक्कली भारू बरामद भएको बताएको थियो ।

५० हजार खर्च गरे बिक्कीलाई छुटाइदिने प्रस्ताव पठाए भारत कानपुरका इबरारले, मजिदलाई । मजिद पैसा खर्च गरेर भए पनि छोरो छुटाउन तयार भए इबरारले १८ गते पैसा लिन आफ्ना सहयोगी नेपालगन्ज पठाए ।
तिनै व्यक्ति थिए होटेल लालीगुराँस कोठा नम्बर १०२ र १०५ का पाहुना, अजय र बिजेन्द्र सिंह । होटेलको बिजेन्द्रले आफ्नो ठेगाना लखनउ लेखेका थिए, अजयको झाँसी ।


आइतबार कोठा बुक भएपछि मजिदले पटकपटक होटेल गएर उनीहरूसित छलफल गरेका थिए । अजयसँग मजिद बढी नजिक थिए । उनी छोराबारे उनैसित बढी कुरा गर्थे । १९ गते बिहान मजिद आफ्ना १३ वर्षीय अर्को छोरो मुसिम सिद्दीकीलाई लिएर लालीगुराँस होटेल पुगे । केहीबेर त्यहीँ बसेर १० बजेतिर उनी मुसिम र भारतीयलाई साथै लिएर घर आए । बिहानको खाना खाए, अनि फेरि होटेल फर्किए ।
‘ओपन सेक्रेट’ किताबमा उल्लेख भएअनुसार दिउँसो दुई बजे अजय फेरि मजिदकै घर आए र बिक्कीलाई छुटाउनेबारे कुरा गरेर फर्किए । फेरि उनी तीन बजे मजिदको घर आए, घरवरिपरि गहिरोसँग नियाले, चिया पिए र पाँच बजे मजिदलाई लिएर होटेल फर्किए । होटेलबाट आएको सूचनाअनुसार प्रहरी कोठामा पुग्यो ।

प्रारम्भिक अनुसन्धानबाट धारिलो हतियार प्रयोग गरेर मजिदको हत्या भएको निष्कर्ष निस्कियो । तर कुन हतियार भन्ने खुलाउन सकेन प्रहरीले । अटोस्पी रिपोर्टमा ‘कज अफ डेथ कुडन्ट बि स्पेसिफिक, भिसेरा रिपोर्ट स्टिल टु बि एनलाइज्ड’ लेखियो ।
होटेलको लगबुकका आधारमा हत्यामा भारतीय नागरिक सलग्न रहेको निष्कर्ष निकाल्यो प्रहरीले । पत्नी नुरजहाँले भारत बहराइचका इबरार, भारत लखनउका बिजेन्द्र र अजयविरूद्ध प्रहरीमा किटानी जाहेरी दिइन् । हुन त मजिद भारत उत्तरप्रदेश बहराइचकै स्थायी बासिन्दा हुन् ।

तर, उनी नेपालगन्ज बागेश्वरीटोल बस्न थालेको २० वर्ष नाघिसकेको थियो । सो बेला नेपाली नागरिकता पाइसकेका थिए उनले । स्थानीय स्तरमा पार्टी राजनीतिमा पनि सक्रिय थिए मजिद, एमालेबाट २०६४ सालमा उनी नेपाल मुस्लिम इत्तेहाद संगठन, बाँकेका जिल्ला उपाध्यक्ष भएका थिए । बहराइचकै नुरजहाँ सिद्दीकीसँग बिहे गरेका मजिदका तीन छोरा, दुई छोरी छन् ।

पीडीत परिवार विस्थापित
मनिहारको हत्यापश्चात उनको परिवार भने नेपालगन्जबाट विस्थापित भइसकेको छ । परिवारका मुख्य मान्छेको नै हत्या भएपछि परिवारका अन्य सदस्यहरू नेपालगन्ज छोडेर भारतमा बस्न थालेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरीले दिएको जानकारीअनुसार उनीहरू नेपालगन्ज छोडेर भारतको मुम्बई क्षेत्रमा बसोबास गर्दै आएका छन् ।

‘परिवारका सदस्यको हत्यापछि अन्य सदस्यहरू नेपालगन्जमा बसोबास गर्दैनन्,’ ती प्रहरीले भने, ‘उनीहरू अहिले त नेपालगन्जबाट विस्थापित नै भइसकेका छन् ।’ मनिहारको हत्यापछि उनका नाममा बागेश्वरी टोलमा रहेको केही सम्पत्ती बैंकले लिलामी गरेको थियो । पहिलेदेखि बैंकमा ऋण रहेका कारण उनको हत्यापछि बैंकले लिलामी गरेर आफ्नो ऋण उठाएको बताइन्छ ।
मनिहारका परिवारका सदस्यबाहेक अन्य आफन्तहरू भने नेपालगन्जमै बस्ने गरेका छन् । प्रहरीले भारतमा रहेका परिवारका सदस्यहरूसँग समन्वय गर्दै आएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० असार १३ गते बुधबार