लाइसेन्स बाँड्ने तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा



नेपालगन्ज, असार
सवारी चालक अनुमतिपत्रका लागि लिइएको परीक्षाको नतिजा हेरफेर गरेको कसुरमा यातायात व्यवस्था कार्यालय कैलाली (धनगढी)का तत्कालीन कार्यालय प्रमुखसहित तीन जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

यातायात कार्यालय धनगढीका तत्कालीन प्रमुख लक्ष्मण शाही, सहायक कम्प्युटर अपरेटर नरेन्द्रकुमार कठरिया र कम्प्युटर अपरेटर पवनकुमार रावलविरुद्ध शुक्रबार अख्तियारले कैद र जरिवानाको मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आरोपी तीनैजनाले आर्थिक वर्ष २०७८÷७९ को अवधिमा चालक अनुमतिपत्रका लागि लिइएका लिखित र प्रयोगात्मकतर्फ नतिजा हेरफेर गरेको खुलेको छ । कार्यालय प्रमुख शाहीले कुल चार सय ६३ जनाको परीक्षा नतिजा हेरफेर तथा परीक्षामा संलग्नै नभएकालाई उत्तीर्ण गराई अनुमतिपत्र दिएको खुलेको छ ।

त्यसका लागि शाहीले आफू मातहतका दुई कम्प्युटर अपरेटरलाई परिचालन गरेको पनि खुलेको छ । तीनैजनालाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ मा उल्लेखित ‘सरकारी कागजात सच्याएको’ कसुरमा ३ महिनादेखि १ वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म जरिवाना मागदाबीसहित प्रतिवादी बनाएर मुद्दा दायर गरिएको छ ।
सरकारी कागजात सच्याएको कसुरमा दफा १३ मा उल्लेखित ‘प्रश्नपत्रको गोपनीयता भंग गर्ने वा परीक्षाको परिणाम फेरबदल’को गर्नेमाथि कैद र जरिवानाको सजाय हुने उल्लेख छ । कार्यालय प्रमुख शाहीले आफ्नो ‘युजर आइडी’ प्रयोग गरेर लिखित परीक्षामा एक सय ८० जना र प्रयोगात्मक (ट्रायल)मा दुई सय ८३ जनालाई परिणाम फेरबदल गराई उत्तीर्ण गराएको अनुसन्धानबाट खुलेको छ ।

अख्तियारका प्रवक्ता भेला दाहालका अनुसार दुई पांग्रे, चार पांग्रे र अन्य सवारी चालक अनुमतिपत्रका लागि लिइएका लिखित परीक्षामा अनुत्तीर्ण एक सय ८० परीक्षार्थीको परिणाम फेरबदल गरी उत्तीर्ण गरिएको खुलेको छ । त्यसमध्ये पनि निरीक्षकले लेखेको नतिजा÷प्राप्तांकलाई पुनर्लेखन गरी सच्याएको पनि पाइएको छ ।

पुनर्लेखन गरिएको संख्या २३ रहेको भेटिएको छ । ३९ जनालाई परीक्षामा सामेल नै नगराई उत्तीर्ण गराइएको पनि खुलेको छ । २१ जनाको नतिजालाई शाहीले आफ्नै युजर आइडीबाट स्वीकृत गराई उत्तीर्ण गराएको पनि पाइएको छ ।

अनुमतिपत्रका लागि लिइएको फिल्ड परीक्षा नतिजा सच्याएर कार्यालय प्रमुख शाही र कम्प्युटर अपरेटरको मिलेमतोमा अनुत्तीर्ण र अनुपस्थित व्यक्तिलाई उत्तीर्ण गरिएको अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ । त्यस्तै सहायक कम्प्युटर अपरेटर कठरियाले आफ्नो युजर आइडीबाट लिखित परीक्षामा अनुत्तीर्ण भएका ‘ए’, ‘बी’ र ‘के’ समूहका ६१ जनाको परिणाम फेरबदल गरी उत्तीर्णको सूचीमा प्रविष्ट गराएका थिए ।

त्यस्तै ए, बी, सी,÷सी–१, ई, एफ, जी र के समूहका सवारी चालकको प्रयोगात्मक परीक्षामा अनुत्तीर्ण र अनुपस्थित दुई सय ८३ जनाको परिणाम कार्यालय प्रमुख शाहीले फेरबदल गरी उत्तीर्ण गराएकोमा परीक्षामा उपस्थित नभएका २५ र अनुत्तीर्ण एक सय ३९ जना गरी एक सय ६४ को नतिजालाई ए समूहको चालक अनुमतिपत्र उत्तीर्ण गरेर प्रणालीमा प्रविष्ट गराएका थिए ।

अर्का प्रतिवादी रावलले ए समूहका सवारीको लिखितमा अनुत्तीर्ण चारजनालाई उत्तीर्ण गरेका थिए । कार्यालय प्रमुख शाहीबाट स्वीकृत भएर आएका दुई सय ८३ मध्येका विभिन्न समूहका सवारीको चालक अनुमतिपत्रको प्रयोगात्मकमा अनुपस्थित नभएका ६ र अनुत्तीर्ण ६२ गरी ६८ जनाको फिल्ड प्रतिवेदन सच्याएर उत्तीर्ण गरी सिस्टममा प्रविष्ट गरेका थिए । यसरी गैरकानुनीरुपमा चालक अनुमतिपत्र दिँदा यातायातका कर्मचारीले परीक्षार्थीसँग आर्थिक साँठगाठ गरेको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० असार ९ गते शनिबार