मधुर पौडेल,बाँसगढी
नेपाल विद्युत् प्राधिकरण बाँसगढी वितरण केन्द्रका कर्मचारीले उपभोक्ताबाट फजुल पैसा उठाएको पाइएको छ । बाँसगढी वितरण केन्द्रमा कार्यरत रामहरि थारुले बाँसगढी नगरपालिका वडा नम्बर ४ नेवादाका ५८ वर्षीय सोमा चौधरीबाट १० हजार रुपैयाँ फजुल पैसा लिएको आरोप लागेको हो ।

गुलरियामा जाँदा धेरै लाग्ने र यहाँबाट बाँसगढीबाट थोरैमा मिल्ने भनेर कर्मचारीले भनेको सोमाले बताए । ‘गुलरियामा २० देखि ३० हजारसम्म लाग्ने बताउनु भयो । मैले १० मा हुन्छ भने सोध्दा उहाँले त्यसमा सहमति जनाउनु भयो,’ उनले भने, ‘१० हजारमा बाँसगढीमै हुने भन्नु भयो । गुलरिया जानुभन्दा मैले यही दिएँ ।’
बिलबिना १० हजार रुपैयाँ बाँसगढी विद्युत् वितरण केन्द्रमा कार्यरत कर्मचारी रामहरिले लिएको सोमाका छोरा बलबहादुर चौधरीले जनाए । ‘विद्युत् चुहावट गरेको र कार्यालयमा जाँदा २०÷३० हजार लाग्ने र यही मिल्दा १० हजार रुपैयाँमा कुरा मिल्ने भन्दै बुवा (सोमा) लाई प्रलोभनमा पारिएको रहेछ,’ बलबहादुरले भने, ‘यसरी उपभोक्तालाई त्रासमा पारेर फजुल पैसा उठाउन मिल्छ ।’
करिब एक महिना अगाडि बाँसगढी वितरण केन्द्रबाट मिटर रिडरका लागि कर्मचारी सोमाको घरसम्म पुगेका थिए । त्यतिबेला सोमाले कृषि मिटर बंगुर र माछा पोखरीमा प्रयोग गरिरहेका थिए । मिटर रिडरले त्यतिबेला सोमालाई कृषि मिटर यसरी प्रयोग गर्न नपाइने र सामान्य खेतीपातीमा प्रयोग गर्न सुझाव दिएका थिए ।
त्यसपछि सोमाले उक्त मिटर उनीहरुकै सुझावअनुसार प्रयोग गरे । पुनः असार ४ गते ६ जना कर्मचारी उनको घरदेखि करिब ८÷९ सय मिटर टाढा रहेको खेतबारीसम्म कर्मचारी पुगे । जहाँ सोमाले कृषि मोटर जडान गरेका छन् ।
‘खेतबारीबाट कर्मचारीले आफैँ मिटर निकाल्नु भयो,’ बलबहादुरले भने, ‘त्यतिबेला हाम्रो मोटर तरकारीमा प्रयोग भइरहेको थियो ।’ उनीहरुले दिएको सुझावअनुसार मिटर प्रयोग गर्दा पनि त्रास देखाएर सोही दिन बुवा (सोमा) बाट १० हजार रुपैयाँ लिएको उनको भनाइ छ ।
विद्युत् कर्मचारीलाई दिएको बिल बुवासँग नभएपछि बाँसगढी वितरण केन्द्रसम्म पुगेको उनी बताउँछन् । ‘यस विषयमा हामीले बाँसगढी वितरण केन्द्रका प्रमुखसँग कुरा राखौं,’ उनी भन्छन्, ‘कार्यालय प्रमुखले यस विषयमा आफू जानकारी नभएको बताउनु भयो । जसले पैसा लिनु भएको थियो, उहाँसँग कुरा भयो ।’
फजुल पैसा लिने कर्मचारीले आफू यस्तो विवादमा मुछिन नचाहने भन्दै १० हजार बराबरको विद्युत् महसुल तिरेको रसिद काटिदिएको उनको भनाइ छ ।
यस विषयमा फजुल पैसा लिएको आरोप लागेका कर्मचारी रामहरिले भने पैसा लिएको तर विद्युत् महसुलको लिएको बताएका छन् । ‘मैले पैसा लिएको साँचो हो,’ बुधबार मिसन टुडेसँग टेलिफोन कुरा गर्दै रामहरिले भने, ‘तर, उहाँहरुले आरोप लगाएजस्तो गरी होइन । विद्युत् महसुल लिएको हुँ ।’
विद्युत् चुहावट देखिएपछि विद्युत् महसुल र जरिवाना लिएको भन्ने प्रतिक्रिया दिए पनि यसमा शंका गर्ने ठाउँ प्रशस्त देखिन्छ । मिटर रिडिङ भएपछि मिटर रिडरले बिल सोही दिनै दिने गर्छन् ।
यदी मिटर राखिएको घरमा कोही नभए मिटर रिडिङ गरेर उनीहरुले बिल सोही मिटर वा घरवालाले देख्ने गरी बिल राखिदिएका हुन्छन् । तर, उनले बिल नदिएर १० हजार पैसाँ नगद लिएका थिए ।
बाँसगढी वितरण केन्द्रका प्रमुख शंकर रानाभाटका अनुसार कर्मचारी रामहरिले पैसा लिएको स्वीकार्नु भएको छ । ‘रामहरिले पैसा लिनु भएको स्वीकार्नु भएको छ,’ उनले भने, ‘किन र कसरी लिनु भयो । यस विषयमा अनुसन्धान हुन्छ । मैले मात्र चाहेर पनि भएन माथिल्लो निकाय छ । मैले माथिल्लो निकायमा जानकारी गराएको छुँ ।’
मिसन टुडेकर्मीमाथि हातपात
माथि उल्लेखित विषयमा रिपोर्टिङ गर्न नेपाल विद्युत् प्राधिकरण बाँसगढी वितरण केन्द्र पुगेका मिसन टुडेका पत्रकार मधुर पौडेलमाथि हातपात भएको छ । बाँसगढी वितरण केन्द्रका कर्मचारी तथा फजुल पैसा असुली गरेको आरोप लागेका कर्मचारी रामहरि थारुले उनीमाथि हातपात गरेका हुन् ।
पीडित पक्ष बाँसगढी वितरण केन्द्रमा गुनासो लिन जाँदा पत्रकार पौडेल पनि पुगेका थिए । आरोपित रामहरिसँग कुरा गर्न खोज्दा आफूमाथि हातपात भएको उनको भनाइ छ ।
‘मैले प्रतिक्रिया लिन खोजिरहेको थिएँ,’ उनले भने, ‘उहाँ (रामहरि) प्रतिक्रिया दिनबाट डराएर मलाई हातपात गर्नुभयो ।’ समाचार संकलनका लागि बाँसगढी वितरण केन्द्रमा पुगेका पत्रकार पौडेललाई हातपात गर्नेमाथि कारबाही हुने पर्ने मिसन टुडे राष्ट्रिय दैनिकले माग गरेको छ ।









प्रतिक्रिया दिनुहोस्