थारु रत्नबाट डा. राजन पाण्डेसहित चारजना पुरस्कृत



बाँके ।

थारू आयोगले थारू समुदायका लागि योगदान गर्ने चारजनालाई थारू रत्न पुरस्कारबाट सम्मान गरेको छ । बुधबार थारू आयोगले विशेष समारोहको आयोजना गरी तक्मासहितको सम्मान गरेको हो ।

थारू रत्न पुरस्कार पाउनेमा स्वास्थ्य विधाअन्तर्गत भेरी अस्पतालका डा. राजन पाण्डे, थारू संस्कृतिविद् एवम् अनुसन्धानकर्ता महेश चौधरी, सामाजिक अभियन्ता एवम् अनुसन्धानकर्ता भुलाई चौधरी र महिला सशक्तीकरणअन्तर्गत सुनसरीमा रहेको फर्वाड माइक्रो फाइनान्स वित्तीय संस्था रहेका छन् ।

डा. पाण्डे भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिसिन विभाग प्रमुख हुन् । उनी थारू समुदायलाई मात्रै लाग्ने सिकलसेल एनिमियाको एकस्पर्टसमेत हुन् । उनी हालै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) पिइएन–प्लसको नेपालको तर्फबाट सिकलसेल एनिमियाको क्लिनिकल प्रोटोकल डेभलपमेन्ट एक्सपर्ट प्यानेलमा मनोनयन भएका थिए ।

त्यस्तै महेश चौधरीले थारू समुदायका अध्येता, कृषि विद् तथा अनुसन्धानमूलक किताबहरू प्रकाशन गरेका छन् । उनको नेपालको तराई तथा यसका भूमिपुत्रहरू, स्थविरहरुको प्राचीन इतिहास, हिँड्न ट्रेजर अप लो ल्याण्ड नेपाल(भाग–१ र २) तथा र संस्कृतिलगायत पुस्तक प्रकाशित छ ।

उनी २०२८ सालमा प्रकाशित थारु भाषाको पहिलो पत्रिका ‘गोचाली’का सम्पादकसमेत रहिसकेका छन् । हालै महेश चौधरीको निधन भएकाले उनको पुरस्कार पछि घरमै गएर पुरस्कार दिने आयोगका अध्यक्ष विष्णु चौधरीले जानकारी दिए ।

त्यस्तै सामाजिक अभियन्ता एवम् अनुसन्धानकर्ता भुलाई चौधरी थारू सांस्कृतिक विद्, थारू कल्याणकारिणीसभाका पूर्व महामन्त्री, थारू भसा साहित्य केन्द्र नेपालका अध्यक्ष हुन् । उनको ‘थारू संस्कृति’, हमर थारू भाषा यात्रा, थारू लोक संस्कृतिलगायतका पुस्तक प्रकाशित छन् । उनले थारू भाषा, जीवनको आशा नारा दिएर थारू भाषा, साहित्य र कलालाई समिश्रण गर्दै थारू समुदायमा भाषिक जागरण अभियान चलाउँदै आएका छन् ।

यस्तै भगवती चौधरी संस्थापक रहेको फर्वाड माइक्रो फाइनान्सले महिलाको उत्थान र आत्मनिर्भर बनाउनका निम्ति योगदान गरेको छ । सुनसरीमा रहेको फर्वाड माइक्रो फाइनान्सले दुई सयभन्दा बढी महिलाहरूलाई रोजगारी दिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० असार ८ गते शुक्रबार