कोहलपुर, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका भएका सिंहको उपचारका क्रममा मंगलबार साँझ कोहलपुरमा निधन भएको हो ।

गाडी दुर्घटनामा परेर गम्भीर घाइते भएका सिंहलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल ल्याइएको थियो । अस्पतालले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्री सिंहको उपचारको क्रममा मृत्यु भएको पृष्टि गरेको छ ।
अस्पतालका निमित्त निर्देशक प्रा.डा. ढुण्डीराज पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ । घाइते सिंहसहित अन्य दुईजनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत ५ बजे अस्पताल ल्याइएको थियो ।
सिंहलाई अस्पतालमा ल्याउँदा शरीरमा नाबीको चाल थिएन । मुटुको धड्कनले पनि काम गर्न छोडिसकेको थियो । सिंहको कोहलपुर पु¥याइएको ३५ मिनेटभित्रै निधन भएको थियो । यस्तै दुर्घटनामा परी घाइते भएका ३५ वर्षीय धर्मराज जोशी र ३५ वर्षकै दिपेन्द्र भण्डारीको अवस्था स्थिर रहेको र आकस्मिक कक्षमा उपचार भइरहेको पौडेलले बताए । जोशी सवारी चालक हुन् भने भण्डारी सिंहका सुरक्षा गार्ड हुन् ।
सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो । मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश०१–००१झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।









प्रतिक्रिया दिनुहोस्