परमेश्वरको मन्त्र फुक्दा बालकको अकाल मृत्यु



शुभाकर विश्वकर्मा,कोहलपुर
नेपाली समाजमा ‘दुई सन्तान ईश्वरको वरदान’ भन्ने उखान निकै प्रचलित छ । चारजनाको सानो परिवारलाई खुसी परिवारका रुपमा समेत बुझ्ने गरिन्छ । यस्तै, अभाव र विपन्नताका बीच सुखमय जीवन जिइरहेको थियो, बर्दियाको गुलरिया–१० प्रमुख यादवको परिवार ।
आजभन्दा आठ वर्ष पहिले घरमा पहिलो सन्तानको रुपमा छोरा जन्मिँदा कम्ता खुसी थिएनन्, यादव दम्पती । उनीहरुको मायाको चिनो स्वरूपमा चार वर्ष अघि कान्छो सन्तानको समेत आगमन भयो । दुवैजनाले दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहेका थिए । छोराहरुलाई स्कुल पढाउथे । घर खर्चको जोहो गर्थे । सबै थोक पु¥याएका थिए, दुवैजनाले मजदुरी गरेर ।
तर, जीवन सधै सोचे जस्तो कहाँ हुँदो रहेछ र ? यही असार १ गतेको कुरा हो, यादव दम्पतीको जीवनमा कालो बादल मडारियो । उनीहरुको सपना टुट्यो । भविश्यको साहारारुपि सन्तानको देह लिला सधैका लागि समाप्त भयो । त्यो पनि अन्धविश्वासका कारण ।

मन्त्र जप्दा सञ्चो हुन्छ भन्ने विश्वासका कारण उनीहरुले आफ्नो पहिलो सन्तान गुमाउन पुगे । उनीहरुले सायदै सोचेका थिएनन्, आफ्नो सन्तानले यदि छिट्टै आफूहरुलाई छोडेर जान्छन् भनेर ।
यतिबेला यादवको परिवारमा सन्नाटा छाएको छ । आफ्नो जेठो छोरा ८ वर्षीय अजय यादवलाई गुमाउँदा अझै अर्धचेत अवस्थामा छिन्, आमा । छोराको मृत्यु भएको चार दिन बितिसक्दासमेत अजयकी आमा छोरा सम्झेर धुरुधुरु रोइरहन्छिन् ।
सोमबार मिसन टुडे दैनिकसँग टेलिफोनमा कुरा गर्दासमेत राम्रोसँग बोल्न सकिरहेकी थिइनन् उनी । उनले भनिन, ‘मेरो जेठो छोरो हो । एउटै साहारा थियो । मलाई एक्लै छोडेर गयो ।’ उनका अनुसार अजय पहिलेदेखि नै कहिलेकाहिँ बिरामी परिरहन्थे ।

उक्त दिन भने अजय बिरामी भएर घरमै बेहोस भएपछि छिमेकीको सल्लाहमा परिवारले गुलरिया–४ तुलापुरमा रहेको सत्य वचन परम ईश्वरीय मार्ग दर्शन नामक संस्थामा लिइएको थियो ।

वचन तथा पार्थना गरेपछि सञ्चो हुन्छ भन्ने विश्वासका कारण संस्थामा लगिएको उनले बताइन् । ‘घरमै हुँदा मेरो छोरा तातो भइसकेको थियो । भगवान्को भरोस गरेर त्यहाँ लिएका थियौं । आधा घण्टा म्याडमले पार्थना गर्नुभयो । त्यसपछि केके भयो मैले केही थाहा पाइन्,’ उनी भन्छिन् ।

बुवा यादव भने संस्था चलाउनेहरुले वचन तथा प्रार्थना गरेपछि परमेश्वरले ठीक गर्नुहुन्छ, औषधि उपचार गराउन कहीकतै लैजानु पर्दैन भन्ने भ्रामक आश्वासन दिएको दाबी गर्छन् । उक्त संस्था त्यहाँ विगत तीन÷चार वर्षदेखि सञ्चालन हुँदै आएको छ । त्यहाँका केही व्यक्तिहरुले संस्था सञ्चालन गर्दै आएका छन् ।

आफूलाई भ्रममा पारी बिरामीलाई संस्थामा ल्याइ वचन तथा प्रार्थना गर्ने क्रममा मृत्यु भएको उनले बताए । मृतक यादव मधुरा हरिद्वार आधारभूत विद्यालयमा कक्षा ३ मा अध्ययनरत रहेको पारिवारिक स्रोतले जनाएको छ ।

ज्यानसम्बन्धी कसुरमा तीनजना पक्राउ
गुलरिया नगरपालिका वडा नम्बर १० कालाबन्जार बस्ने प्रमुख यादवले जिल्ला प्रहरी कार्यालय गुलरियामा तीनजनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा जाहेरी दर्ता गराएका छन् । कार्यालयका सूचना अधिकारी हिक्मतबहादुर बोहोराका अनुसार पीडित पक्षले किटानी जाहेरी दर्ता गरेको छ ।
ज्यानसम्बन्धी मुद्दामा जाहेरी दर्ता गरेर तीनजनालाई पक्राउ गरिएको उनले बताए । बोहोराले गुलरिया–४ तुलापुरका ३९ वर्षीय राजु शाही, ३८ वर्षीय गीता शाही र ३५ वर्षीया निशा नेपालीलाई पक्राउ गरिएको बताए । तीनैजनालाई पक्राउ गरी बर्दिया जिल्ला अदालत गुलरियाबाट ज्यानसम्बन्धी कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको उनको भनाइ छ ।
‘यो घटना असार १ गते घटेको हो । परिवारबाट जाहेरी आएपछि हामीले पक्राउ गरेका छौं । थप अनुसन्धान भइरहेको छ,’ बोहोराले भने । अदालतबाट दोस्रोपटक म्याद थप भएको उनले बताए । प्रारम्भिक अनुसन्धानको क्रममा पक्राउ परेका तीनजना नै संस्थाको सञ्चालक भएको पाइएको उनले बताए । उनीहरुले नै उक्त अवस्थामा वचन र प्रार्थना गराउँदै आएको पाइएको छ । ज्यानसम्बन्धी मुद्दा भएकाले प्रहरीले गम्भीररुपमा अनुसन्धान गरिरहेको छ । अनुसन्धानपछि सबै कुरा खुल्ने बर्दिया प्रहरीले जनाएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८० असार ६ गते बुधबार