शिवानी विक, कोहलपुर (बाँके)
खुला सिमानामा पर्खाल लगाउ महाअभियान केन्द्रीय संघर्ष समितिले सीमा अतिक्रमणविरुद्ध सिमानामा पर्खाल लगाउने अभियान सुरु गरेको छ । ‘विस्तारवादविरुद्ध अघि बढौँ, मातृभूमिको रक्षा गरौँ’ भन्ने मूल नारासहित उक्त समितिले सोमबार सातवटै प्रदेशमा पत्रकार सम्मेलन आयोजना गरेको छ ।
केन्द्रीय कार्यक्रमअनुसार कोहलपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत तत्कालीन उद्देश्य सार्वजनिक गरिएको छ । अभियानको उद्देश्यका विषयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

अखण्ड भारतको नक्सामा समेटिएको नेपालको भूभाग तत्काल हटाउन दबाब दिने, नेपाल भारतको खुला सिमानामा तारबार तथा पर्खाल लगाउने, भारत सरकारले आफ्नो नक्सामा देखाएको कपिलवस्तु र लुम्बिनी नहटाएसम्म नेपाल सरकारले ग्रेटर नेपालको नक्सा संसद् भवनमा राख्न दबाब दिइने खुला सिमानामा पर्खाल लगाउ महाअभियान केन्द्रीय संघर्ष समिति नेपालका संयोजक प्रदीप ओलीले बताए ।
उनका अनुसार कालापानी नेपाली भूभाग भएकाले भारतीय सेना हटाउन पहल गर्ने, देशमा भएका असमान तथा राष्ट्रघाति सम्झौताहरुलाई खारेज गर्न दबाब सिर्जना गर्ने, दलाल पुँजीपतिको सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्ने महाअभियानको लक्ष्य रहेको छ ।
आम नागरिकका जनजीविकाको सवालको पक्षमा बुलन्द आवाज उठाउने, शिक्षा, स्वास्थ्य र खानेपानी देशभरि निःशुल्क उपलब्ध गराउन दबाब दिने, चर्को बेरोजगारी अन्त्य गरी सीपमूलक तालिम गराउन पहल गर्ने अभियानकले लक्ष्य लिएको उनले बताए ।
देशमा रहेका बन्द कारखाना तथा मझौला उद्योग तत्काल सञ्चालन गराउन दबाब दिइने उनले पत्रकार सम्मेलनमार्फत जानकारी दिए । उनले अबको ६ महिनाभित्र खुला सिमानामा पर्खाल लगाएर सक्ने गरी काम गर्ने उनले प्रतिबद्धता जनाए ।









प्रतिक्रिया दिनुहोस्