कोहलपुरमा विश्व सिकलसेल एनिमिया दिवस मनाइयो



शिवानी विक
कोहलपुर (बाँके)
कोहलपुर नगरपालिकामा विश्व सिकलसेल एनिमिया दिवस एक कार्यक्रमका बीच मनाइएको छ । ‘नवजात शिशुको स्क्रिनिङलाई औपचारिक बनाउने र तपाईंको एससीडि स्थिति जान्न विश्वव्यापी एससीडि समुदायहरूको निर्माण र सुदृढीकरण’ भन्ने मुल नाराका साथ दिवस मनाइएको हो ।


शरीरको रक्तकोशिकामा हुने आजीवन लाग्ने रोग सिकलसेल एनिमिया दिवस सन् २००८ देखि मनाउन थालिएको हो । पुर्खौदेखि तराई क्षेत्रमा बसोबास गर्दै आएका थारु समुदायका मानिसमा यो रोग लाग्ने गरेको छ ।

अहिले यो रोग बाँके, बर्दिया, दाङ लगायतका जिल्लामा बढी देखिएको छ । उक्त कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सांसद संञ्जु कुमारी चौधरीले लुम्बिनी प्रदेशको ६ वटा स्वास्थ्य कार्यालयबाट सिकलसेल एनिमिया तथा थालेसेमिया रोगको उपचार सेवा प्रवाह भइरहेको बताइन् । उनका अनुसार भेरी हस्पिटल नेपालगन्ज,लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगायतमा उपचार भइरहेको छ ।

लुम्बिनी प्रदेश सरकारले सिकलसेल एनिमिया रोगको स्वास्थ्य बीमाबाट उपचार गर्ने नीति लिएको पनि उनले बताइन् । त्यसको लागि बजेट पास हुने बित्तिकै कार्यान्वयन प्रक्रिया अघि बढाइने उनले बताइन् ।
उत्त अवसरमा बोल्दै कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले देशभरीमा पहिलो पटक कोहलपुर नगरपालिकाले ९८ जना सिकलसेलको बिरामीहरुको पहिचानगरिएको उल्लेख गरे । उनले सिकलसेल एनिमिया तथा थालेसेमिया रोगको उपचारमा सहजीकरण, ल्याव टेस्ट, सिकलसेल एनिमियाको अभिमुखीकरण कार्यक्रम, बिरामी पहिचानको लागि ७० लाख रुपैयाँ अनुदानमा आएको जानकार।ी दिए ।
कार्यक्रममा कोहलपुर नगर अस्पताल मेडिकल अधिकृत रवि शर्मा वाग्लेले सिकलसेल एनिमिया भएको बिरामीको शरीरमा रक्तकोष हँसिया आकारमा विकास हुने बताएका थिए । त्यसको आयु जम्मा १० देखि १२ दिनसम्म मात्र हुने उनको भनाइ छ । बंशाणुगत रोग भएका कारण विवाह गर्दा बिशेष ध्यान दिन पर्ने वाग्लेले बताए ।

रातो कार्ड पाएकाले हरीयो संग, पहेलो कार्ड पाएकाले हरियो संग र हरियोकार्डले हरियो संग विवाह गर्न पर्नुपर्ने उनको सुझाव थियो । हाल सम्म सिकलसेल एनिमियाको परिक्षण गरीरहदा कोहलपुर नगरपालिका भित्र ९८ जना सिकलसेलका बिरामी फेला परेका छन् । समुदाय स्तरमा रगत टेस्ट गरी परिक्षण भइरहेको कोहलपुर नगरपालिका सिकलसेल एनिमियाका फोकल पर्सन शिव गौतमले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८० असार ५ गते मंगलबार