कोहलपुरमा विद्यालयमा लगाइएका ताला फोड्न नगर प्रहरी परिचालन



बाँके ।

कोहलपुर नगरपालिकाभित्र सामुदायिक विद्यालयमा आन्दोलनरत कर्मचारीले लगाएको ताला फोड्न नगर प्रहरी परिचालन गरिएको छ । नगर प्रहरी प्रमुख वीरबहादुर थापाको कमाण्डमा विद्यालयमा लगाइएको ताला फोड्न प्रहरी परिचालन गरिएको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।

‘आदरणीय अभिभावकज्यूहरू यतिबेला कोहलपुर नगर क्षेत्रभित्रका अधिकांश विद्यालयहरूमा नियमित पठनपाठन भैरहेको छ भने एकाध विद्यालयमा ताला लगाएको भन्ने सूचना प्राप्तभए अनुसार हामिले नगरप्रहरीमार्फत ताला फोड्दैछौं र पठनपाठन सुचारू गर्दैछौ’ उनले फेसबुकमा लेखेका छन्, ‘यति भन्दैगर्दा शिक्षक कर्मचारीका जायज मागहरू संघीय सरकारले चाँडो सम्बोधन गर्नुपर्छ । यो आन्दोलप्रति हाम्रो ऐक्यबद्धता पनि छ तर विद्यालय बन्द हामिलाई स्विकार्य छैन ।’

वडा नम्बर १ को कौशिलानगरदेखि विद्यालयमा लगाइएका तालाहरू फोड्न नगर प्रहरी अगाडि बढेको छ । आजदेखि नेपाल कर्मचारी परिषद् बाँकेले अनिश्चितकाल सम्मका लागि सामुदायिक स्कुल बन्दको आव्हान गरेको थियो । सोहीअनुसार आन्दोलनरत कर्मचारी शिक्षकहरूले विद्यालय बन्द गराएका हुन् ।

अहिले कतीपय सामुदायिक विद्यालयबाट विद्यार्थीहरूलाई आन्दोलनरत कर्मचारी शिक्षकहरूले घर फर्काइरहेका छन् । विद्यालयका शिक्षक कर्मचारीहरूले त्रिभुवन नमुना माध्यमिक विद्यालय लगायतका विद्यालयमा धर्ना समेत दिइरहेका छन् । शनिबार नै नगर प्रमुख आचार्यले विद्यालय बन्दविरुद्ध कडा रूपमा प्रस्तुत हुने बताएका थिए ।

उनले विद्यालय बन्द गराउने शिक्षक कर्मचारीलाई कानुन अनुसार कारबाहीको चेतावनी समेत दिएका छन् । सोहीअनुसार विद्यालय सञ्चालनमा ल्याउन बिहानैदेखि नगर प्रहरी परिचालन गरिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०८० असार ३ गते आइतबार