नेपालगन्जमा मनाइयो रक्तदाता दिवस



मिसन संवाददाता

विश्व रक्तदाता दिवस बाँकेमा भव्यताका साथ मनाइएको छ । नियमित रगत तथा प्लाजमा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ भन्ने मुल नाराका साथ नेपालगन्जमा २०औँ विश्व रक्तदाता दिवस मनाइएको हो ।
नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार सेवा बाँकेको आयोजनामा मनाइएको उक्त दिवसमा रक्तदानसमेत गरिएको थियो ।

रगत समूह पत्ता लगाउने डा. कार्ल ल्यान्डस्टेनरको जन्मदिनको अवसर पारेर विश्वभरि विश्व रक्तदाता दिवस मनाइन्छ । उक्त कार्यक्रममा बोल्दै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेका अध्यक्ष गोवद्र्धन बुढा (सम्झना) ले नियमित रगत अभाव हुन नदिन स्वस्थ व्यक्तिले नियमित रक्तदान गर्नुपर्ने उनको भनाइ छ ।

‘रक्तदान गर्दा स्वास्थ्यलाई समस्या हुँदैन,’ उनले भने, ‘शरीरमा नयाँ रगत पलाउँछ ।’ कसैको एक थोपा रगतले मृत्युको मुखसम्म पुगेको बिरामीले पुनर्जीवन पाउने भन्दै उनले भने, ‘मानवताका लागि रक्तदान आवश्यक छ ।’
मानव अधिकार शान्ति समाजकी केन्द्रीय सदस्य ज्योति बाल्मिकीले रक्तदान गर्न युवाहरुलाई उत्पे्ररित गरिरहेको बताइन् ।

चालु आर्थिक वर्षको हालसम्म ११ हजार नौ सय ९६ पिन्ट रगत संकलन भइ वितरण भएको प्रादेशिक रक्तसञ्चार सेवाका बरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले जनाए । विश्व रक्तदाता दिवसका अवसरमा रक्तदान गर्ने निकाय मानव अधिकारी तथा शान्ति समाज, लाइन्स क्बल अफ पञ्चशील बाँके र के एल दुगड गु्रपले संस्थागतरुपमा रक्तदान गरेका छन् ।
रक्तसञ्चार सेवा समितिका संयोजक राजकुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका उपसभापति सुरेन्द्रनाथ सापकोटा, मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष प्रेम शर्मालगायतले विचार व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २०८० जेठ ३२ गते बिहीबार