स्ववियु कार्यालयमा गे्रटर नेपालको नक्सा



मधुर पौडेल,बर्दियाको जनसेवा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको कार्यालयमा ग्रेटर नेपालको नक्सा राखिएको छ । गत चैतमा निर्वाचित भएको स्ववियु समितिले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको हो ।
क्याम्पसका स्ववियु सभापति लक्ष्मीप्रसाद न्यौपानेले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको बताए ।

समितिले बुधबार एक कार्यक्रमको आयोजना नै गरेर नक्सा राखेको हो । नेपालको एतिहासिक पृष्ठभूमिलाई जीवित रुप दिन र नेपाल सरकारलाई दबाब दिनका लागि ग्रेटर नेपालको नक्सा राखिएको स्ववियु सभापति न्यौपानेले बताए ।
बुधबार बसेको स्ववियुको बैठकले कार्यालयमा ग्रेटर नेपालको नक्सा राख्ने निर्णय गरेको थियो ।

‘ग्रेटर नेपालको नक्सा राष्ट्रिय गौरव हो । यो इतिहासमा सम्झिन लायक छ । त्यसैले हामीले निर्णय गरेको हो । नक्सा राखेका छौं,’ उनले भने । सरकार र राजनीतिक दलले आँट गर्न नसकेको अवस्थामा काठमाडौंका प्रमुख बालेन शाहले पहिलोपटक साहस गरेको भन्दै उनले बालेनको सिको नभइ आफूहरुले साहसी निर्णयको समर्थन गरेको बताए ।

आफू कुनै राजनीतिक दलको विचारसँग आस्था राख्ने भए पनि राम्रो काम र बालेनको कदमको समर्थन गरिएको उनको भनाइ छ ।
नेपालमा पहिलोपटक केही दिनअघि मेयर बालेनले ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेका थिए । पछिल्लो समय भारतले नेपालको भूमिसमेत समावेश गरी सांस्कृतिक नक्सा तयार गरेको प्रसंगपश्चात् नेपालमा उक्त विषय पेचिलो बन्दै गएको छ । साथै उक्त नक्सा बारे नेपालको संसद्मा पनि चर्चा परिचर्चा सुरु भएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ ३२ गते बिहीबार