नेपालगन्ज र बैजनाथमा बिहानी कक्षा



कोहलपुर : मौसममा सुधार नआउँदै नेपालगन्ज उपमहानगरपालिका र बैजनाथ गाउँपालिकामा आजदेखि बिहानी कक्षा सञ्चालन हुँदै छन् । बिहानको समयमा गर्मी कम हुने भएकाले यहाँ बिहानी कक्षा सञ्चालन हुन थालेका हुन् ।
यी दुई पालिकाले यहाँका सामुदायिक, संस्थागत विद्यालयलाई बिहान कक्षा सञ्चालन गर्न पत्राचार गरेका छन् ।

आजदेखि अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि बैजनाथका विद्यालय सञ्चालन गर्न पत्राचार गरिएको बैजनाथ गाउँपालिकाका अधिकृत तप्तराज आचार्यले जनाए । गाउँपालिकाको निर्णयानुसार बैजनाथमा बिहान ६ः३० बजेदेखि ११ः३० सम्म कक्षा सञ्चालन हुने छन् ।

यसअघि गाउँपालिकाले गर्मीका कारण जेठ २३ गतेदेखि जेठ ३१ गतेसम्म विद्यालय बन्द गरेको थियो । बैजनाथसँगै बाँकेका अन्य पालिकामा समेत विद्यालय बन्द गरिएका छन् । यसैबीच, राप्तीसोनारी गाउँपालिकाले पनि आगामी शुक्रबारसम्म पढाइ स्थगित गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ ३२ गते बिहीबार