शुभाकर विश्वकर्मा,कोहलपुर
बैजनाथ गाउँपालिका वडा नम्बर ४ बानियाभारका केशव रोकाया मिसन टुडे दैनिकका नियमित पाठक हुन् । उनी पत्रिका नछुटाएर पढ्छन् । व्यवसायसँगै राजनीतिसमेत गर्ने रोकाय समाजसेवामा रुचि राख्छन् । उनले जेठ २७ र २८ गते मिसन टुडेमा निःशुल्क पानी वितरण गरेको समाचार पढे ।

मिसन टुडे दैनिकले जेठ २७ गतेको अंकमा ‘… जसले आफू गर्मीमा रापिएर अरुको प्यास मेटाए’ शीर्षकमा फ्रन्टपेजमा प्रमुख समाचार प्रकाशित गरेको छ । यस्तै जेठ २८ गतेको अंकमा अन्तिम पेजमा ‘नेपालगन्जमा निःशुल्क खानेपानी वितरण’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

रोकायले पत्रिकामा समाचार पढेपछि आफूलाई पनि काम गर्नुपर्ने प्रेरणा मिलेको बताए । त्यसपछि उनले बानियाभारमा रहेका समाजसेवी तथा व्यवसायी र अग्रजहरुसँग सल्लाह गरे । सबैको सकारात्मक सुझावपछि केही युवाहरु मिलेर बानियाभारमा निःशुल्क शुद्ध निम्बु पानी र जुस वितरण सुरु गरेका हुन् । अभियानको संयोजक स्वयम् रोकाया छन् ।
अध्यधिक गर्मीका कारण सास्ती भोगिरहेका बटुवाहरुका लागि वडा नम्बर ४ बानियाभारमा युवाहरु जुटेर निःशुल्क शुद्ध निम्बु पानी र जुस वितरण सुरु गरेको उनले बताए ।
पहिलो चरणमा दुई दिन अभियान सञ्चालन गर्ने गरेर व्यक्तिगत खर्चमा अभियान सुरु गरिएको रोकायाको भनाइ छ । गर्मीबाट बच्नका लागि केही राहत मिलोस् भन्ने उद्देश्यले निःशुल्क पानी वितरण सुरु गरिएको कार्यक्रम संयोजक केशव रोकायाले बताए ।

उनका अनुसार गर्मीका कारण सास्ती भोगिरहेकाहरुलाई सहयोग गरेको समाचार मिसन टुडे दैनिकमा प्रकाशित भएपछि आफूहरुले अभियान सुरु गर्ने विषयमा छलफल गरिएको थियो । समाचारबाट प्रभावित भएर युवाहरुको तर्फबाट केही सहयोग पुगोस् भन्ने उद्देश्य निम्बु पानी र जुस वितरण सुरु गरिएको उनले बताए ।

राष्ट्रिय युवा संघ नेपाल बाँकेका जिल्ला कमिटीका सदस्यसमेत रहेका रोकायले समाजमा समस्या परेको बेला युवाहरु एकजुट हुन आवश्यक ठानेर निःशुल्क पानी वितरण सुरु गरिएको बताएका छन् । ‘गर्मीले जनजीवन प्रभावित भएको छ । नागरिकले सास्ती भोगिरहेका छन् । हामीले मिसन टुडे दैनिकमा नेपालगन्जमा पानी वितरण गरेको विषयमा समाचार पढेका थियौँ । हामीले पनि गर्न सक्छौँ भनेर काम सुरु गरेका हौं,’ उनले भने ।
रोकायले यसअघि पनि व्यक्तिगत तथा संस्थागतरुपमा विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी दिए । एकल लगानीमा होली मिलन, घैटोँलगायतका प्रतियोगितासमेत आफूले गरेको उनको भनाइ छ । बानियाभार स्माट युथ क्लवका संस्थापक सचिवसमेत हुन् ।
क्लबले पनि विभिन्न समयमा यस्ता सामाजिक कार्य गर्दै आएको छ । क्लबको तर्फबाट रक्तदान, वृक्षारोपणलगायतका कार्य गरेको बताए । उक्त अभियानको मुख्य प्रयोजकका रुपमा नेपालगन्ज रियलस्टेट प्रालि र सखिया कृषि सहकारी संस्था लिमिटेड छन् । प्रालिका प्रोपाइटर तथा युवा व्यवसायी गगन थारु र व्यवस्थापक तथा समाजसेवी मदन चौधरीको उल्लेख्य सहयोग गरेको छ ।
निःशुल्क सेवाका लागि आवश्यक पर्ने सामग्री उनीहरुले सहयोग गरेका हुन् । यस्तै बानियाभारमा छलफल पसल गर्दै आएका गणेश बुढाले १० केजी निम्बु निःशुल्क सहयोग गरेका छन् । युवा तथा समाजसेवी गणेश देवकोटाको समेत अभियान सञ्चालन गर्नमा मुख्य भूमिका छ । पहिलो दिन १५ वटा जार पानी खपत भएको छ । झन्डै सात सयजनाले स्थानीय, महिला बालबालिका तथा सडकमा यात्रा गर्ने बटुवाहरुले निःशुल्क सेवा लिएका छन् ।
व्यवसायी तथा सहकारीकर्मीसमेत रहेका गगन थारुले अध्यधिक गर्मी भएका कारण आफ्नो आम्दानीबाट केही प्रतिशत छुट्याएर युवाहरुको अभियानमा साथ दिएको बताए । उनका अनुसार यस्ता कार्य स्थानीय सरकारले गर्नुप¥यो । तर युवाहरुको सक्रियतामा यस्तो काम सुरु गर्नु उपयुक्त हुन्छ भन्ने लागेर सुरु गरिएको बताए । गाँभर र चिसापानीमा समेत अभियान विस्तार गर्ने योजना रहेको उनले बताए । यस्तै अर्का युवा मदन चौधरीले यस्तो कार्य सुरुवात गर्नु सकारात्मक कार्य रहेको बताए ।
निःशुल्क जुस वितरण कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ । अभियान आज पनि सञ्चालन हुनेछ । संयोजक रोकाया कार्यक्रमको प्रभावकारिता हेरेर केही दिन लम्ब्याउन सकिने बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्