राप्तीसोनारी गाउँपालिकामा साइकल खरिदमा अनियमितता



शुभाकर विश्वकर्मा
कोहलपुर, २९ जेठ
राप्तीसोनारी गाउँपालिकामा साइकल खरिदमा अनियमितता भएको पाइएको छ । बालबालिकालाई शैक्षिक प्रोत्साहन सहयोग कार्यक्रमअन्तर्गत खरिद गरिएका साइकलमा अनियमितता भएको पाइएको हो ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनमा गाउँपालिकाले छात्राका लागि खरिद गरेको साइकल अनुत्पादक क्षेत्रमा प्रयोग भएको ठहर गरेको छ ।

प्रतिवेदनमा छात्रालाई वितरण गर्ने भनेर खरिद गरिएका साइकल स्वास्थ्य चौकी, हुलाक गैरसरकारी संस्था, अशक्त र असहायलाई वितरण गरेको उल्लेख छ । उक्त प्रतिवेदनले गुणस्तर परीक्षण नगरिकनै साइकल खरिद गरेको पनि जनाएको छ । प्रतिवेदनअनुसार वितरण गरिएको साइकल प्राविधिक स्पेशिफिकेशन गरिएको थिएन ।

प्रतिवेदनमा भनिएको छ, ‘गाउँपालिकाले खरिद गरेका एक हजार एक सय ९९ थान ‘लेडिज’ (महिला) साइकल कार्यालयमा प्राप्त भएपछि स्पेशिफिकेशनअनुसार भए नभएको सम्बन्धमा प्राविधिक परीक्षण गरेर जिन्सीमा दाखिला गरिएको छैन । गाउँपालिकाले खरिद गरेकामध्ये एक हजार एक सय ८५ साइकल गुणस्तर परीक्षण नगरी वितरण गरेको उक्त प्रतिवेदनमा जनाइएको छ ।


यसैगरी बोलपत्र आह्वान हुँदा साइकल खरिदको जिम्मा पाएको पञ्चकोशी कन्ष्ट्रक्शन ज्वाला टेडर्स कोहलपुरसँग ५५ लाख सात सय ८५ रुपैयाँमा सात सय ५० थान साइकल खरिद गर्ने गरी गाउँपालिकाले सम्झौता गरेको भए पनि सात सय ४९ वटा मात्रै साइकल खरिद गरिएको जनाइएको छ ।

सात सय ४९ वटा खरिद गरिएका साइकलको मूल्य सम्झौताअनुसार ५४ लाख ९३ हजार चार सय ५० रुपैयाँ भुक्तानी गर्नुपर्नेमा ५२ लाख रुपैयाँ चार हजार तीन सय २० रुपैयाँ मात्र भुक्तानी भएको छ ।

सम्झौताभन्दा कम मूल्यमा भुक्तानीको सम्बन्धमा कार्यालयसँग छलफल गर्दा साइकलको न्यूनतम तौल १९ केजी हुनुपर्नेमा सो नभएकाले दुई लाख ८९ हजार एक सय २८ रुपैयाँ कट्टी गरिएको जानकारी प्राप्त भएको महालेखाले बताएको छ ।
गाउँपालिकाले व्यवसायीसँग साइकल खरिद गर्दा प्राविधिक स्पेशिफिकेशन नै गरेको थिएन । हचुवाको भरमा साइकल खरिद भएको महालेखाले ठहर गरेको छ । साइकल भए नभएको परीक्षण नगरिएको र प्राविधिक स्पेशिफिकेशन पनि नभएको उल्लेख छ ।

पञ्चकोशी कन्ष्ट्रक्शन ज्वाला टेडर्स कोहलपुरसँग ५५ लाख सात सय ८५ रुपैयाँमा सात सय ५० थान साइकल खरिद्को बोलपत्र स्वीकृत भएकोमा उक्त सप्लायर्सले विओक्युमा रहेको टेक्निकल रिक्वायरमेन्टमा खाली राखेको छ । बोलपत्रदाताले बोलपत्र पेस गर्दा आर्थिक र प्राविधिक दुवै प्रस्ताव भर्नुपर्ने भएकाले रीतपूर्वकको बोलपत्र पेस नभएको देखिएको छ ।

सप्लायर्सले प्राविधिक प्रस्ताव खाली राखी बोलपत्र पेस भएकाले त्रुटिपूर्ण प्रक्रियामा उक्त बोलपत्र स्वीकृत गरेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसैगरी प्रतिवेदनमा वितरण गरिएका एक हजार एक सय ८५ वटा साइकलमध्ये ११ विद्यालयमा ११ र १२ मा अध्ययनरत छात्रालाई र दुईवटा क्याम्पसमा स्नातक तहमा अध्ययनरत १३ वटा विद्यार्थीलाई हस्तान्तरण गरेकोमा एक हजार एक सय ७३ जना विद्यार्थीले साइकल बुझेको फोटोसहित भर्पाइ पेस भएको छ ।

साथै स्वास्थ्य चौकी, हुलाक गैरसरकारी संस्था अशक्त र असहायलाई गरी १२ थान वितरण गरेको भनिएकोमा जय बागेश्वरी असल शासनलाई वितरण गरेको दुई थानको नभर्पाइ नै नभएको उल्लेख छ ।

सबै कुल खरिद गरिएका एक हजार एक सय ९९ थान साइकलमध्ये एक हजार एक सय ८५ साइकल वितरण गरेको र बाँकी १४ थानमध्ये जिन्सी खातामा चार थान मौज्दात देखिएको र बाँकी रहेका प्रति साइकल सात हजार तीन सय ३४ रुपैयाँ ३८ पैसाका दरले ७३ हजार तीन सय ४३ रुपैयाँ ८१ पैसा मूल्य बराबरका १० थान साइकल कहाँ प्रयोग भएको हो ? सो बारे पालिकाले एकिन गरी जिन्सी अध्यावधिक गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

उक्त कार्यक्रमअन्तर्गत छात्रालाई साइकल वितरणका लागि गाउँपालिकाले बोलपत्र आह्वान गरेर साइकल वितरण गरेको थियो । गाउँपालिकाले शैक्षिक प्रोत्साहन सहयोग कार्यक्रममा साइकल खरिदका लागि ९१ लाख ९६ हजार रुपैयाँ विनियोजन गरेको थियो । १२ सय थान साइकल खरिद गर्ने गाउँपालिकाको लक्ष्य थियो ।
महालेखाले प्रश्न उठाएको उक्त विषय अघिल्लो आर्थिक वर्षको भएको गाउँपालिकाले जनाएको छ ।

छात्रालाई आएको साइकल क्लबलाई
राप्तीसोनारीका छात्रालाई विद्यालय जान सहज होस् भनेर खरिद गरिएको साइकल क्लबलाई दिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । राप्तीसोनारीले छात्राका लागि आएका १२ वटा साइकल जय बागेश्वरी असल शासनलाई सहयोग गरेको हो ।
छात्राका लागि खरिद भएका साइकल जय बागेश्वरी असल शासनलाई भरपाइ नगरिकनै सहयोग गरेको उक्त प्रतिवेदमा छ ।

मनीषा सिंह थारु
उपाध्यक्ष
साइकल खरिद प्रक्रियामा अनियमितता भएको विषयमा मैले पनि जानकारी पाएकी छुँ । महालेखाको प्रतिवेदनमा यस विषयमा धेरै कुरामा प्रश्न चिन्ह खडा गरेको छ । साइकल हामी आएपछि खरिद गरिएको होइन । हामीले यस्ता कार्यक्रम ल्याएका पनि छैनौँ ।

यो कार्यक्रम अघिल्लो जनप्रतिनिधिको पालामा भएको हो । कार्यक्रम ल्याउनेदेखि खरिद वितरणसम्मको काम त्यतिबेला नै भएको छ । हामी आएपछि यसलाई निरन्तरता दिएनौँ । अरु उहाँहरुको पालामा सुरु भएका अन्य कामलाई राम्रा कामलाई निरन्तरता दिएका छौं । हाम्रो पालामा नभएको कामको विषयमा धेरै बोल्न मेरो नैतिकताले दिँदैन । यस विषयमा गाउँपालिकाले केही पहलकदमी लिनुपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ ३१ गते बुधबार