कोहलपुरका किसानलाई कृषि सामग्री वितरण



गणेश रावत
कोहलपुर (बाँके), २९ जेठ
कोहलपुरका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि सामग्री र यान्त्रिकरण वितरण गरिएको छ । कोहलपुर नगरपालिकाअन्तर्गत कृषि शाखाको ५० प्रतिशत अनुदानमा उनीहरुलाई उक्त सामग्री वितरण गरिएको हो ।
सोमबार एक औपचारिक कार्यक्रमका बीच कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगीता सुवेदी र आर्थिक विकास समितिका संयोजक अनिता विसीले संयुक्तरुपमा कृषि सामग्री र यान्त्रिकरण कृषकलाई हस्तान्तरण गरेका छन् । कृषि सामग्री तथा यान्त्रिकरण लिएर घरमा प्रयोग नगरी थन्काउने गरेको गुनासो आएको र आगामी दिनमा पनि यस्ता गुनासा नआउने गरी प्रयोगमा ल्याउन कृषकलाई आग्रह गरे । सधै आफ्ना वरिपरि र कार्यकर्तालाई छनोट गरेर मात्रै कृषि सामग्री तथा यान्त्रिकरण वितरण गर्ने गरेको आरोप बेलाबेला खेप्नु परेको भन्दै उनले यसपालि मापदण्डअनुसार किसानलाई कृषि सामग्री र यान्त्रिकरण हस्तान्तरण गरेको बताए । यान्त्रिकरणको प्रयोगबाट उत्पादनमा वृद्धि र आत्मनिर्भर बन्न मद्दत पुग्ने विश्वास लिएको उनको भनाइ छ ।
उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका उपमेयर सुवेदीले कोहलपुर नगरपालिकाले कृषि उत्पादनमा जोड दिइ प्रथामिकताका साथ काम गरिरहेको बताइन् । ‘निवार्चित भएको एक वर्ष पूरा भएको छ । यो अवधिमा हामीले कृषिलाई विशेष जोड दिएर कृषिमा आत्मनिर्भर बनाउन पकेट क्षेत्रसमेत घोषणा गरेका छौं,’ उनले भनिन् । वडावडामा कृषि प्राविधिकसहित अनुगमनबाट सहयोग पाउने किसान छनोट गरिएको आर्थिक विकास संयोजक विसीले जनाइन् । कृषि पेसा अंगालेर विगतदेखि कृषि पेसा गरिरहेकालाई सहयोग पाउनेमा छनोट गरिएको उनको भनाइ छ । यसले कृषकलाई कृषि गर्न थप उर्जा मिल्ने भन्दै उनले भनिन्, ‘वितरित सामग्री स्रयोग भए नभएको बेलाबेला अनुगमन गर्छाैं ।’
सातवटा मिनिटेलर र ६ वटा पाउन टेलर वितरण गरिएको नगर कृषि शाखा नायब प्राविधिक सहायक यज्ञ रोकायले बताए । त्यसैगरी साना सिँचाइ ५० प्रतिशत अनुदानमा ३० वटा पम्पसेट र ३० वटै सेक्सन पाइप, ३५ वटा डेलीभरी पाइप, ग्राडेन पाइप १० वटा रोल, धान पकट क्षेत्रमा दुई पावर टिलर र नौवटा मिनिटिलर र तरकारी पकेट क्षेत्रमा तीनवटा पावर टिलरसहित त्यसमा लाग्ने समा पनि वितरण गरिएको उनले जनाए ।

प्रकाशित मिति : २०८० जेठ ३० गते मंगलबार