घरधनीलाई भाडा नबढाउन अपील



मिसन संवाददाता
कोहलपुर, २९ जेठ
कोहलपुर उद्योग वाणिज्य संघले घरधनीलाई घर भाडा नबढाउन अपील गरेको छ । आर्थिक मन्दीका कारण धरासायी भएका व्यवसायीलाई परिस्थिति असहज रहेको बेलासम्म घर भाडा वृद्धि नगर्न अपील गरेको हो ।
संघले सम्पूर्ण घरधनीको नाममा अपीलपत्र जारी गर्दै मौजुदा कायम रहेको भाडा दरमा आपसी सहमति र सद्भावका साथ भाडामा छुट गरी व्यवसायीमैत्री घरधनीको रुपमा उदाहरणीय बन्न आग्रह गरेको छ । अध्यक्ष लक्ष्मणराज पौडेलले अहिले पनि पनि आर्थिक मन्दी विद्यमान रहेका कारण पलायन हुन लागेका व्यवसायीलाई सहज वातावरण सिर्जना गरिदिन अपील गरिएको बताए । ‘आर्थिक मन्दी विद्यमान छ । व्यवसायीले बैंकको किस्ता तथा भाडासमेत निर्धारित समयमा तिर्न नसकेको अवस्था छ । यो विषम परिस्थितिका कारण व्यावसायिक सटर खाली हुँदै जान थालेका छन् । संघीय सरकाराको बजेटले पनि व्यवसाय क्षेत्र निराश भएको छ । हामीले व्यवसायीहरुको हितमा काम गरिरहेका छौं । त्यस कारण ब्याजदर घट्दै आएका छन्,’ उक्त अपीलमा भनिएको छ ।
कोरोना भाइरस विश्वको अर्थ बजार सिथिल बनेकाले व्यवसाय नै धरापमा परेको उनको भनाइ छ । आर्थिक मन्दीकै कारण व्यापार व्यवसाय प्रतिकूल अवस्थाबाट गुज्री रहेको बेला केही घरधनीहरुले सटर भाडा साविकको भाडादरभन्दा बढी शुल्क लगाउने आशय व्यक्त हुनु चिन्ताको विषय भएको अध्यक्ष पौडेलले बताए ।
उनी भन्छन्, ‘घरधनीका आआफ्नै अप्ठ्यारा र संकट छन् । तर पनि अप्ठ्यारो परिस्थितिसँग जुध्दै सजकतातर्फ उन्मुख हुनुपर्ने बाध्यकारी अवस्था छ । यसभन्दा अघि तपाईंहरुले घर भाडामा छुट दिनुभएको छ । अबको केही समयसम्म छुट दिन अनुरोध छ ।’
यस्तै उनले आर्थिक बन्दी कै कारण नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा निर्देशिका २०७९ ले झन व्यवसायी मारमा परेको उनले बताए । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदरमा वृद्धि गर्दै जानु ऋण लगानीमा कटौती गर्नु उत्पादन एवम् व्यापारजन्य व्यवसायमा तिव्ररुपमा गिरावट आएको र कच्चा पदार्थको मूल्य बढेका कारण व्यावसायिक क्षेत्र इतिहास मै कमजोर रहेको संघले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ ३० गते मंगलबार