वडाध्यक्षको कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा



मिसन संवाददाता
नेपालगन्ज, २८ जेठ
राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष लवराज खरेलले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन् । वडा कार्यपालिकाको निर्णयअनुसार उनले आइतबार आफ्नो कार्यकक्षमा नेपालको पुरानो मानचित्र झल्किने गरी ग्रेटर नेपालको नक्सा राखेका हुन् ।
भारतको नयाँ संसद् भवनमा ग्रेटर इन्डियाको नक्सा राखेपछि हामीले किन नराख्ने भनेर ग्रेटर नेपालको नक्सा आफ्नो कार्यकक्षमा राखेको वडाध्यक्ष खरेलले बताए । भारतले जेठ १४ गते नयाँ संसद् भवनमा ‘अखण्ड भारत’ को नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तु क्षेत्रलाई समेत समेटेको छ । जसको प्रतिकारका लागि कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको वडाध्यक्ष खरेलको भनाइ छ ।
जेठ २६ गते बसेको वडा कार्यपालिकाको बैठकले ग्रेटर नेपालको नक्सा राख्ने निर्णय गरेको थियो । उक्त प्रस्ताव वडाध्यक्ष खरेल आफैँ गरेका हुन् । ‘नेपालको लुम्बिनी र कपिलवस्तु भारतको कहिले नि थिएन,’ उनले भने, ‘आफ्नो हक दाबी र आधार नपुग्ने नेपालको लुम्बिनी र कपिलवस्तुलाई भारतले अखण्ड भारतका नाममा आफ्नो नक्सामा पार्न खोज्यो ।’ दाबी र आधार नै नपुग्ने ठाउँमा भारतले नक्सा बनाउन नमिल्ने भन्दै उनले प्रश्न गरे, ‘आधारप्रमाण नपुग्ने ठाउँमा उस (भारत)ले नेपाली भूभाग नक्सामा समेट्न मिल्ने । अनि हिजो हाम्रो भूमि भएको स्थानको मानचित्र हामीले बनाउन नमिल्ने ?’
यतिमात्र होइन, सबै पालिका र वडामा ग्रेटर नेपालको नक्सा राख्नु पर्ने उनको भनाइ छ । आफ्नो मानचित्र नयाँ पुस्तालाई चिनाउन पनि यस्तो गर्न जरुरी रहेको उनी बताउँछन् । ‘राष्ट्रप्रेम झल्काउन काठमाडौंका मेयर बालेन शाहले एउटा कार्यको सुरुवात गर्नुभयो । हामीले पनि राष्ट्रप्रेम झल्काउनु पर्छ,’ उनी भन्छन्, ‘राष्ट्रप्रति सबै जिम्मेवार हुनुपर्छ र देशप्रति माया र सद्भाव देखाउनुपर्छ ।’ विभिन्न समयमा नेताहरुले राष्ट्रघाती सम्झौता गर्दा नेपाल खुम्चिँदै गएको उनको भनाइ छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उनले वडाध्यक्षको चुनाव जितेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ २९ गते सोमबार