नेपालगन्ज,कथाकार डा. इन्द्रबहादुर भण्डारीद्वारा लिखित कथासंग्रह ‘मयँगाँठो’ शनिबार नेपालगन्जमा विमोचन गरिएको छ । खजुरा प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित उक्त कथासंग्रहको साहित्यकार सनत रेग्मी, प्रतिष्ठानका प्राज्ञ सदस्य महानन्द ढकाल, शशीराम कार्की, लेखक तथा साहित्यकार नरेन्द्रजंग पिटर र आख्यानकार नयनराज पाण्डेले संयुक्तरुपमा विमोचन गरेका हुन् ।

कथासंग्रहको समालोचना गर्दै समालोचक ईश्वरी रिजालले यो कथासंग्रहमा १८ वटा निकै समय सान्दर्भिक कथा समेटिएको जनाए । कोभिड–१९ (कोरोना भाइरस) महामारी र जनयुद्धको प्रभावसँग सम्बन्धित कथालगायत केही इतिहास झल्काउने कथा पढ्नैपर्ने खालको रहेको उनको भनाइ छ ।
पाठकको हैसियतले कृतिको समीक्षा गर्दै साहित्यकार सुमीत्रा न्यौपानेले डा. भण्डारीद्वारा लिखित कथा निकै रोमाञ्चक र शिक्षाप्रद रहेको बताइन् ।
कार्यक्रममा बोल्दै साहित्यकार सनत रेग्मीले खजुरा प्रज्ञा प्रतिष्ठानले साहित्यको विकासका लागि सुरु गरेको अभियान महŒवपूर्ण रहेको जनाउँदै अन्य पालिकाले पनि प्रतिष्ठान स्थापना गरेर साहित्यिक गतिविधि अगाडि बढाउनुपर्ने बताए ।
खजुरा प्रज्ञा प्रतिष्ठानका उपकूलपतिसमेत रहेका कथासंग्रहका लेखक डा. इन्द्रबहादुर भण्डारीले कृति प्रकाशन गरेकोमा प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै अब बाँकेको साहित्यले झनै फड्को मार्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा साहित्य खगेन्द्रगिरी कोपिला, सागर गैरे, झलक गैरे, कल्पना पौडेल, माधव शर्मा, खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीलगायत साहित्यप्रेमीको उपस्थिति थियो ।









प्रतिक्रिया दिनुहोस्