१५ वर्षपछि सुख्खा बन्दरगाहा उद्घाटन



कोहलपुर, बाँकेको नेपालगन्जस्थित जैसपुरमा निर्मित एकीकृत जाँच चौकी (आइसीपी) उद्घाटन गरिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालगन्जस्थित नाकामा निर्माण भएको उक्त आइसीपी बिहीबार संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उद्घाटनको घोषणा गरेपछि भारततर्फबाट नेपाल आएका कन्टेनर नेपाली सुख्खा बन्दरगाह प्रवेश गरेका थिए ।

नेपाल भित्रिएका कन्टेनरलाई सुख्खा बन्दगाहको सञ्चालन तथा व्यवस्थापन गर्ने कार्यालय नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीहरुले स्वागत गरेका थिए । करिब १५ वर्ष अघिदेखि भारत सरकारको सहयोगमा निर्माणाधीन सुख्खा बन्दरगाह सञ्चालनमा आएको समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । भारतका डिएम प्रशान्त बर्मा, जिएम प्रदीप त्यागी, बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्य, प्रहरी प्रमुख सन्तोष राठौरलगायतको सहभागिता थियो ।

उक्त बन्दरगाह भारत सरकारको सहयोगमा निर्माण भएको हो । यो परियोजना १५ अघि भारतकै सहयोगमा निर्माण सुरु गरिएको थियो । जाँचचौकी नेपालगन्ज र भारतको रूपइडियामा अवस्थित छ ।

नेपाल इन्टरमोडल यातायात विकास समिति कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार नेपालतिर ६० बिघामा फैलिएको जाँचचौकीमा पार्किङ, गोदाम, भन्सार भवन, क्वारेन्टिन भवन, नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय, बैंक, भन्सार एजेन्ट, तौल नाप्ने पुल आदि पूर्वाधार निर्माण गरिएको छ ।

जेठ १७ गतेदेखि नेपालका प्रधानमन्त्री भारत भ्रमणमा छन् ।
बिहीबार भएको दुई देशका प्रधानमन्त्रीबीचको भेटवार्तामा विभिन्न सातवटा सम्झौता भएका छन् । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्टलगायतका विषयमा समझदारीमा हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयमा जानकारी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ १९ गते शुक्रबार