पहिलो चरणमा कोहलपुर टाउन प्लानिङको ३६ सय मिटर सडक चौडा गर्नेगरी स्तरोन्नति गरिने छ । १६ मिटर चौडा बाटोमा करिब १० मिटर चौडा, १३ मिटर चौडा बाटोमा करिब साढे आठ मिटर चौडा र १२ मिटर चौडा बाटोमा करिब आठ मिटर चौडा अस्फाल्ट कालोपत्रे गर्नेगरी काम अगाडि बढेको छ ।
कालोपत्रे गरेर बचेको दुवै भागमा नाली र फुटपाथ रहनेछ । पहिलो चरणमा नाली स्तरोन्नति गरिएका हरियाली मार्ग, उज्ज्वल मेडिकल मार्ग, रेडक्रसमार्ग हुँदै मेडिकल कलेजको उत्तरगेट, बसपार्कदेखि दक्षिण एनटिभीरोडलगायतका सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न लागिएको छ ।
कृष्ण ओली । बाँके ।
कोहलपुर टाउन प्लानिङ क्षेत्रका सडक स्तरोन्नति गर्ने प्रक्रिया अगाडि बढाइएको छ । नाली स्तरोन्नति भइसकेका क्षेत्रमा सडक स्तरोन्नतिको प्रक्रिया अगाडि बढाइएको हो । टाउन क्षेत्रका सडक चौडा पार्नका लागि कोहलपुर नगर विकास समितिले प्रक्रिया अगाडि बढाएको छ । पहिलो चरणमा तीन किलोमिटर ६ सय मिटर सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न प्रक्रिया अन्तिम चरणमा पुगेको कोहलपुर नगर विकास समितिका अध्यक्ष पूर्णप्रसाद आचार्यले जानकारी दिए ।
सडक स्तरोन्नतिसहित कालोपत्रेको लागि टेण्डर आह्वान गरेर निर्माण कम्पनीसँग सम्झौतासमेत भइसकेको छ । कोहलपुर नगरपालिकाका नगर प्रमुखसमेत रहेका नगर विकास समितिका अध्यक्ष आचार्यले अहिले नाली स्तरोन्नति गरिएको क्षेत्रमा सडकको स्तरोन्नति गरिने मिसन टुडेलाई जानकारी दिए ।
‘हामी आउनुभन्दा अगाडिबाट नै टाउन क्षेत्रमा नाली स्तरोन्नतिको काम चलिरहेको थियो । त्यो काम सकिएसँगै सडक कालोपत्रे हुँदैछ,’ उनले भने, ‘त्यसका लागि टेण्डर आह्वान गरेरसमेत निर्माण कम्पनीसँग सम्झौता गरिसकेका छौं । अब काम अगाडि बढिसक्यो ।’
नाली स्तरोन्नतिको क्रममा कोहलपुर टाउन क्षेत्रका अधिकांश सडक धुलाम्मे हुँदा स्थानीयसहित व्यवसायीहरूले समेत सास्ती भोगिरहेका छन् । तीन किलोमिटर ६ सय मिटर सडक स्तरोन्नतिसहित कालोपत्रेका लागि भ्याटबाहेक आठ करोड ९० लाख रुपैयाँमा सम्झौता भएको कोहलपुर नगर विकास समितिले जनाएको छ ।
खड्का निर्माण सेवा बाँकेसँग सो रकममा सडक निर्माणको सम्झौता गरिएको नगर विकास समितिका अध्यक्ष आचार्यले जनाए । नगर विकाससँग स्रोतको अभाव भएकाले पहिलो चरणमा ३६ सय मिटर सडक स्तरोन्नतिसहित कालोपत्रे हुन गइरहेको उनले जानकारी दिए । ‘नगर विकासको मुख्य स्रोत घडेरी बिक्री नै हो । आर्थिक मन्दीका कारण घडेरी बिक्री हुन सकेका छैनन्,’ उनले मिसन टुडेसँग भने, ‘त्यसैले एकैपटक सबै स्थानमा सडक स्तरोन्नति गर्ने योजना कार्यान्वयनमा आउन सकेन । पहिले जनघनत्व बढी रहेका क्षेत्रमा काम गर्नेछौं ।’
बाँकी रहेका क्षेत्रमा दोस्रो चरणमा सडक स्तरोन्नतिसहित कालोपत्रे गरिने समितिका अध्यक्ष आचार्यले बताए । टाउन प्लानिङ क्षेत्रसहित कोहलपुरलाई नै सुन्दर बनाउन आफुहरू लागिपरेको उनले दाबी गरे । कोहलपुर नगर विकास समितिका इन्जिनियर विराज अर्यालले सडक स्तरोन्नतिसहित अस्फाल्ट कालोपत्रे गरिने जानकारी दिए ।
‘अस्फाल्ट कालोपत्रे गर्नेगरी निर्माण कम्पनीसँग सम्झौतासमेत भइसकेको छ,’ उनले भने, ‘चार सेन्टिमिटर बाक्लो अस्फाल्ट कालोपत्रे हुन्छ ।’ उनका अनुसार पहिलो चरणमा नाली स्तरोन्नति गरिएका हरियाली मार्ग, उज्ज्वल मेडिकल मार्ग, रेडक्रसमार्ग हुँदै मेडिकल कलेजको उत्तरगेट, बसपार्कदेखि दक्षिण एनटिभीरोडलगायतका सडक स्तरोन्नतिसहित कालोपत्रे गर्न लागिएको छ ।
इन्जिनियर अर्यालले मिसन टुडेलाई दिएको जानकारी अनुसार १६ मिटर चौडा बाटोमा करिब १० मिटर चौडा, १३ मिटर चौडा बाटोमा करिब साढे आठ मिटर चौडा र १२ मिटर चौडा बाटोमा करिब आठ मिटर चौडा अस्फाल्ट कालोपत्रे गरिनेछ । ‘कालोपत्रे गरेर बचेको दुवै भागमा नाली र फुटपाथ रहनेछ,’ उनले भने, ‘त्योबाहेकको सबै भागमा कालोपत्रे हुन्छ ।’
पहिलो चरणमा करिब चार सय मिटर सडक तीन मिटर चौडा ढलानसमेत गर्ने तय भएको इन्जिनियर अर्यालले मिसन टुडेलाई जानकारी दिए । ईलाका प्रहरी कार्यालय कोहलपुर नजिकै, गोलपार्क नजिकै र एनटिभी रोड नजिकै सडक ढलान गरिनेछ । कोहलपुर टाउन प्लानिङ क्षेत्रमा पहिलो चरणमा ५२ सय मिटर र दोस्रो चरणमा २५ सय मिटर नालीको स्तरोन्नति गरिएको छ । दुवै चरणको नाली स्तरोन्नतिको काम सम्पन्नसमेत भइसकेको कोहलपुर नगर विकास समितिले जनाएको छ ।
सबै सडकलाई चौडा पार्ने लक्ष्य छ
पूर्णप्रसाद आचार्य
अध्यक्ष, कोहलपुर नगर विकास समिति
अहिले हामीले कोहलपुर टाउन प्लानिङ क्षेत्रको सडक चौडा पार्ने योजना अगाडि बढाएका छौं । सोही क्रममा पहिलो चरणमा ३६ सय मिटर सडकको ठेक्का आह्वान गरेर निर्माण कम्पनीसँग सम्झौतासमेत गरिसकेका छौं ।
बढी जनघनत्व भएका टाउनका सडक पहिलो चरणमा चौडा पारिनेछन् । अहिले आर्थिक मन्दीका कारण नगर विकाससँग रहेका घडेरी बिक्री हुन नसकेका कारण स्रोतको अभाव छ ।
स्रोतको सुनिश्चता हुने बित्तिकै बाँकी रहेको क्षेत्रमा समेत सडक चौडा पार्नेगरी ठेक्का आह्वान गरेर काम अगाडि बढाउँछौं ।
नगर विकास समितिसँग रहेको रकमबाट मात्र पहिलो चरणमा ३६ सय मिटर स्तरोन्नति गर्न लागेका हौं । टाउनमा नाली स्तरोन्नति गरिएका सबै सडकलाई चौडा पार्ने हाम्रो लक्ष्य छ । सकेसम्म चाडै हामीले बाँकी रहेका सडकहरुलाई समेत चौडा पार्ने लक्ष्य राखेर स्रोत जुटाइराखेका छौं ।
सारिँदै बिजुलीका पोल
सुरज रेग्मी
प्रमुख, विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्र
कोहलपुर टाउन क्षेत्रको सडक मर्मत र स्तरोन्नतिको सम्झौता भएसँगै बिजुलीका पोलहरू सार्नका लागि प्रक्रिया थालिएको छ । नाली स्तरोन्नति गर्दा सडकको भागमा परेका बिजुलीका पोलहरु सार्न नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्रले प्रक्रिया अगाडि बढाएको हो ।
त्यसका लागि दिनको समय राखेर शिलबन्दी सूचना आह्वान गरिएको वितरण केन्द्रका प्रमुख ईन्जिनियर सुरज रेग्मीले जानकारी दिए ।
‘पोलहरु सार्नका लागि हाम्रो ३० प्रतिशत र कोहलपुर नगर विकासको ७० प्रतिशत रकम खर्च हुन्छ,’ उनले मिसन टुडेसँग भने, ‘नगर विकासबाट हामीलाई रकम प्राप्त भएपछि शिलबन्दीको सूचना निकालिसकेका छौं ।’
टाउन क्षेत्रका एक सय ७७ वटा बिजुलीका पोल थालिएको कोहलपुर वितरण केन्द्रले जनाएको छ । पोल सार्ने जिम्मा पर्ने कम्पनीलाई चार÷पाँच महिनाको समय हुने भए पनि व्यवहारिकरुपमा एक महिनाभित्रै सारिसक्नको लागि भन्न सकिने वितरण केन्द्र प्रमुख रेग्मीले बताए ।









प्रतिक्रिया दिनुहोस्