अटो रिक्सा व्यवस्थापन गर्दै कोहलपुर



कोहलपुर, कोहलपुर नगरपालिकाले अटो तथा विद्युतीय रिक्सा व्यवस्थापन सुरु गरेको छ । अटो तथा विद्युतीय रिक्सा अव्यवस्थित सञ्चालन हुँदा दुर्घटनाको जोखिम बढ्ने भन्दै नगरले यसलाई व्यवस्थित गर्न लागेको हो ।
अटो तथा विद्युतीय रिक्सा सञ्चालन व्यवस्थापनका लागि दर्ता आह्वानसमेत भएको छ । कोहलपुर नगर कार्यपालिकाको बैठक निर्णय नम्बर ६ मा भनिएको छ, ‘अटो तथा विद्युतीय रिक्सा सञ्चालन व्यवस्थापनका लागि अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७९ को दफा ६ बमोजिम अटो तथा विद्युतीय रिक्सा र म्यानुयल रिक्सा दर्ता गर्नेसम्बन्धी २१ दिने सूचना प्रकाशित गरिनेछ ।’

यससम्बन्धी सूचनासमेत प्रकाशित भइसकेको छ ।
नगर कार्यपालिकाको उक्त निर्णयबमोजिम अटो रिक्सा दर्ता प्रयोजनका लागि २१ दिने सूचना प्रकाशित गरिएको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले बताए । उनका अनुसार सूचना जारी भएको २१ दिनभित्र कोहलपुर क्षेत्रमा सञ्चालित अटो रिक्सा दर्ता गरिसक्नुपर्नेछ । अटो, विद्युतीय रिक्सा र म्यानुयल रिक्सा तथा पेट्रोलियम पदार्थबाट चल्ने तीन पांग्रे टेम्पुहरुलाई व्यवस्थापन गर्ने उद्देश्य रहेको उनले बताए ।

यस्तै नगर क्षेत्रको ट्राफिक व्यवस्थापन, बजार व्यवस्थापन तथा यात्रु, सवारी चालक र सवारी धनीसमेतको हित प्रवद्र्धन गर्न स्थानीय यातायातलाई सुरक्षित र भरपर्दो बनाउन अटो रिक्साहरु नियमन गर्न खोजिएको उनको भनाइ छ ।
अटो रिक्सा व्यवस्थापन कै लागि कोहलपुर नगरपालिकाले अटो तथा विद्युतीय रिक्सा सञ्चालन, व्यवस्थापन तथा नियमनसम्बन्धी कार्यविधि २०७९ जारी गरेको छ । सवारी दर्तामा कोहलपुर नगरपालिकाका स्थानीयहरुलाई विशेष प्राथमिकता दिइने उल्लेख गरिएको छ ।

महिलाद्वारा सञ्चालित अटो, तथा विद्यतुीय रिक्सा र म्यानुयल रिक्सा दर्ता प्राथमिकता दिइने उनले बताएका छन् । अटो रिक्सा सञ्चालन गर्ने व्यक्ति नेपाली नागरिक हुनुपर्ने प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । यस्तै बाहिरी जिल्ला तथा छिमेकी पालिका (बैजनाथ, राप्तीसोनारी र जानकी गाउँपालिका) का बासिन्दाहरुले समेत अटो रिक्सा दर्ता गर्न पाउने छन् ।
सवारी दर्ताका लागि अन्य जिल्लाबाट नागरिकता प्राप्त गरेका कोहलपुर नगरपालिकामा अस्थायी बसोबास गरिरहेका नागरिकको हकमा वडाको सिफारिस हुनुपर्ने कोहलपुर नगरपालिकाले जनाएको छ ।
अटो तथा विद्युतीय रिक्सा व्यवस्थापनले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । अटोहरु करको दायरामा समेत आउने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ १७ गते बुधबार