शिवानी विक
कोहलपुर (बाँके), नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले टीकापुर घटना विशुद्ध राजनीतिक भएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा रिहा भएका चौधरीले टीकापुरको राजनीतिक घटनालाई नेपालका राजनीतिक दलले निकै ढिलो गरेर चिनेको बताए ।

रिहा भएपछि काठमाडौंबाट नेपालगन्ज हुँदै कोहलपुरमा पुगेका चौधरीले भने, ‘यो रिहाइ अकस्मात् पनि होइन । सुनियोजित पनि होइन । यसलाई मैले स्वाभाविकरूपमा लिएको छुँ । यो निकै ढिलो भएको हो । टीकापुर घटना एउटा विशुद्ध राजनैतिक घटना हो ।’
कोहलपुरस्थित चौराहामा आयोजित अभिनन्दन कार्यक्रममा बोल्दै उनले आफू पहिचानका लागि संघर्षमा उत्रिएको नेता भएको दाबी गरे । आफूले बाटो नबिराएको पनि उनको दाबी छ । आफूहरुले पहिचान खोज्दा राज्यले दमन गरेको चौधरीको भनाइ छ । ‘राज्यसँग सिमेन्टको पिलर बनाउने र सिमाना घेरा लगाउने आर्थिक नहुँदा भूमिपुत्र थारुहरु सालको बुटो लिएर देश जोगाएका थियौँ,’ उनले भने ।
राज्यमा भएको कमीकमजोरीका कारण आफू आठ वर्ष काराबासमा बस्न बाध्य तुल्याएको उनको आरोप छ । ‘म कारागार मुक्त भएँ । अब समृद्ध नेपाल बनाउन हिँड्छुँ,’ उनले भने, ‘अब देशको मुहार फेर्ने गरी सक्रिय हुन्छुँ ।’ सोहीअनुसार नागरिक उन्मुक्ति पार्टीले अभियान २०८४ लिएर हिँडेको छ । अब सबै पहिचानवादीहरु गोलबन्द हुन आवश्यक रहेको भन्दै उनले भने, ‘हाम्रो पार्टी संघीय सरकारमा छ । भूमिहीनहरुको जग्गा प्राप्त गराउन सक्रियरुपमा लाग्छ ।’
राज्यद्वारा पछि पारिएका क्षेत्रहरुको सपना पूरा हुने उनले बताए । रेशम चौधरी यो देशको काँचुली फेर्नको लागि अभियान २०८४ लिएर हिँडेको उनको भनाइ छ । ‘अबको पाँच वर्षमा नागरिक उन्मुक्तिले राज गर्नेछ । नागरिक उन्मुक्ति पार्टीको प्रधानमन्त्री हुनेछ,’ उनी दाबी गर्छन् ।
उनले अब आफू राजनीतिमै सक्रिय हुने उनले बताएका छन् । पार्टीलाई थप सुदृढ बनाउन आफू लागिपरेको उनले जनाए । उनले टीकापुर घटनामा मारिएकाहरुले न्याय पाउनुपर्नेमा जोड दिए ।









प्रतिक्रिया दिनुहोस्