चार वर्षपछि घट्यो बाँकेमा सडक दुर्घटना



शुभाकर विश्वकर्मा
कोहलपुर,
चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म बाँकेमा सवारी दुर्घटनाका कारण ५८ जनाले ज्यान गुमाए । एक सय ३४ वटा सवारी दुर्घटना हुँदा ६२ जना गम्भीर घाइते भए भने २९ जना सामान्य घाइते भएका छन् । यो तथ्यांकका विगत चार वर्षयताकै कम हो ।


आर्थिक वर्ष २०७६÷०७७ मा एक सय ९१ सवारी दुर्घटना भए । जसमा ७३ जनाको ज्यान गयो भने, ८४ जना गम्भीर घाइते भए । एक सय २५ जना सामान्य घाइते भएका जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७÷०७८ को दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढेर ७७ जना पुगेको थियो भने एक सय पाँचजना गम्भीर घाइते भएका थिए । एक सय ५० वटा सवारी दुर्घटना हुँदा यस आर्थिक वर्षमा ३० जना सामान्य घाइते भए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा मृत्यु हुनेको संख्या ८२ पुगेको थियो । दुर्घटनामा परी ८२ जना गम्भीर घाइते भएका थिए । सामान्य घाइते हुनेको संख्या एक सय ५४ जना थियो भने एक सय ५४ वटा सवारी दुर्घटनामा परेका थिए ।

विगत तीन आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने बाँकेमा बर्सेनि सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढ्दो क्रममा रहेको देखिन्छ । दुर्घटनाकै कारण गम्भीर घाइते हुनेको संख्या पनि बढ्दो छ । सामान्य घाइतेको संख्या उस्तै छ । दुर्घटना संख्या पनि बढ्दो क्रममा नै छ ।

तर, चालु आर्थिक वर्षमा भने दुर्घटनाको संख्यासँगै मृतक र घाइतेको संख्या पनि कम देखिएको छ । जिल्ला ट्राफिक प्रहरी र ईलाका प्रहरी कार्यालयले सडक दुर्घटनाका लागि विशेष पहल गरेका थिए । उनीहरुले चेकिङ र जनचेतनामूलक कार्यक्रमसँगै चालकलाई तालिम दिएका थिए ।

मादक पदार्थ सेवन (मापसे) चेकिङमा कडाइ हुँदा पनि दुर्घटना न्यूनीकरण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक तिलकबहादुर सुनारले जनाए । यात्राका लागि सुरक्षित बाँके बनाउने अभियान प्रभावकारी हुँदा दुर्घटनाको संख्या घटेको उनी बताउँछन् ।

दुर्घटनाविरुद्ध सचेतना अभियान
दुर्घटना न्यूनीकरणका लागि कार्यालयले सचेतनामूलक अभियान नै सञ्चालन गरेको छ । दुर्घटना न्यूनीकरणका लागि भूमिका खेल्न सक्ने सरोकारवाला निकायसँग समन्वय गर्नुका साथै सचेतनामूलक कार्यक्रम आयोजना गर्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तिलकबहादुर सुनारको भनाइ छ ।

सोहीअनुसार चालु आर्थिक वर्षको चैत र वैशाख समान्तसम्म नियमविपरीत सवारी चलाउने आठ हजार सवारी कारबाहीमा परेका छन् । त्यसमा कूल ५१ लाखभन्दा बढी राजस्व संकलन भएको छ । यो दुई महिनामा राजस्व संकलनमा धेरै नै वृद्धि भएको छ ।

दुई महिनामा पाँच सय ७४ वटा मापसेविरुद्ध सचेतना कक्षा सञ्चालन गरिएको छ । यो कक्षा हरेक दिन आठ बजे हुने गरेको छ । चार सय जनाभन्दा बढीले मापसे कक्षा लिएका छन् । मापसे चेकिङमा सक्रियता बढाइएको उनले बताए ।

सवारी दुर्घटनाका प्रमुख तीन कारण

जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बाँकेमा दुर्घटनाका प्रमुख तीन कारण छन् । तीमध्ये पहिलो कारण हो, मानवीय लापरबाही । ट्राफिक नियमको पालना नगर्नु, जेब्रा क्रसिङमा समस्या, मापसे, ओभरटेक, तीव्र गति आदि छन् । दुर्घटनाको दोस्रो कारण हो, सवारीमा देखिने समस्याअर्थात यान्त्रिक समस्या ।

यसमा सवारी पुराना हुनु, मेसिनमा गडबडी हुनु, लाइट नबल्नु, इन्जिनको समयमै मर्मत नहुनु, ब्रेक फेल हुनु जस्ता कारणले पनि दुर्घटना निम्तिने गरेको छ । दुर्घटनाको तेस्रो कारणका रुपमा वातावरणीय अवस्था प्रमुख कारक छ । खराब मौसम, हुस्सु तथा तुवालो, कच्ची सडकलगायतका कारणले दुर्घटना हुने गरेको छ ।

‘सुरक्षित यात्राको जिल्ला बनाउँछौं ’
तिलकबहादुर सुनार
कार्यालय प्रमुख, जिल्ला ट्राफिक प्रहरी कार्यालय
हामी रहेक दिन ड्युटीमा छौँ । सम्पूर्णले ट्राफिक नियमको उचित पालना गर्नुपर्छ । म आएपछि सवारी चेकजाँचलाई तीव्र बनाएका छौँ । मापसेविरुद्ध निर्मम भएका छौँ । सचेतनामूलक कार्यक्रमलाई निरन्तर चलाइरहेको अवस्था छ । जोखिमयुक्त क्षेत्रको पहिचान गरेर अघि बढिरहेका छौँ । ट्राफिक व्यवस्थापन एउटा संयन्त्र बनाउन जरुरी छ । सोहीअनुसार कार्यालय सक्रिय छ । यसको आम सर्वसाधारण र अन्य कार्यालयबीच समन्वय र सहकार्य हुन आवश्यक छ । यसविरुद्ध हामी सँगसँगै जान सक्छौँ । ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउन, सचेतनामूलक कार्यक्रममा सहभागी हुन र सुरक्षित यात्राका लागि सबैजना मिलेर जानुको विकल्प छैन । बाँके जिल्लालाई सुरक्षित यात्राको जिल्ला बनाउन लागिपरेका छौँ ।

  • No tags available
प्रकाशित मिति : २०८० जेठ १३ गते शनिबार