‘प्रेस स्वतन्त्रताको रक्षाका लागि जिम्मेवार बनौं’



नेपालगन्ज, प्रेस स्वतन्त्रताको रक्षाका लागि पत्रकार तथा मिडिया सम्बद्धहरु नै जिम्मेवार हुनुपर्नेमा एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ बाँकेले आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले आम मानिसमा पत्रकारिता र सामाजिक सञ्जालको भेद छ भन्ने जानकारीको अभावले समस्या निम्तिरहेको बताए ।


यसका साथै पत्रकारहरु नै कहिलेकाहिँ आचारसंहिताभन्दा बाहिर गइदिँदा त्यसले आम मानिसमा नकारात्मक धारण विकास हुँदै जानेतर्फ सचेत रहनुपर्नेमा सहभागी पत्रकारहरुको जोड थियो । नेपालमा प्रेस स्वतन्त्रका लागि पटकपटक विभिन्न संघर्ष गर्नुपरेको र ती संघर्षबाट प्रेस स्वतन्त्रताले संवैधानिक मान्यता पाएको बताउँदै सहभागीहरुले अब त्यसको रक्षाका लागि हरदम सचेत रहनुपर्नेमा जोड दिए ।

विभिन्न तहका सरकारले अनेक विधेयक तथा कानुनका नाममा प्रेस स्वतन्त्रता संकूचन गराउने कामहरु गर्ने गरेको बताउँदै राज्यका त्यस्ता कदमहरुविरुद्ध खरोरुपमा प्रस्तुत हुनुपर्नेमा उनीहरुले जोड दिएका थिए ।

प्रेस स्वतन्त्रका लोकतन्त्रको मेरुदण्ड भएकोले यसको संरक्षणको जिम्मेवारी समाजका हरेक सचेत वर्गको भएकोमा सहभागीहरुले जोड दिएका थिए । पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकारहरु झलक गैरे, शंकर खनाल, नवीन गिरी, अर्जुन ओली, गोविन्द आचार्य, आरिफ अन्सारीलगायतले आफ्नो धारणा राखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख २१ गते बिहीबार