बाँके,
नरैनापुर क्षेत्रको सुरक्षामा चासो राख्दै लुम्बिनी प्रदेशकी पूर्वमन्त्री तथा प्रदेश सांसद कृष्णा केसी (नमुना)ले सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी छिन् । उक्त क्षेत्रमा रहेका नेपाल र सशस्त्र प्रहरीका प्रमुखसँग उनले नरैनापुर क्षेत्रको सुरक्षाबारे छलफल गरेकी हुन् ।
स्थानीयको सुरक्षा, चोरी तस्करी नियन्त्रण, विपद् व्यवस्थापनको तयारीलगायतका विषयमा सांसद नमुनाले चासो राखेकी थिइन् । पछिल्लो समय नरैनापुरबाट तस्करी बढिरहेको गुनासो आइरहेको भन्दै त्यसलाई तत्काल रोक्नु उनले सक्रियता बढाएकी हुन् । पहिलो चरणमा उनले यस विषयमा सुरक्षा निकायको ध्यानाकर्षणसमेत जनाइन् । ‘पहिलेको भन्दा यस क्षेत्रमा अहिले सुरक्षाकर्मीको उपस्थिति पनि धेरै छ ।
स्थानीयलाई भरपर्दो सुरक्षा दिनुका साथै चोरी तस्करीसमेत रोक्नुपर्ने यहाँहरुको जिम्मेवारी हो,’ उनले भनिन्, ‘सरकारले दिएको जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह गर्नुहुन्छ भन्ने मैले अपेक्षा लिएकी छुँ ।’
सोही क्षेत्रबाट निर्वाचित सांसद नमुनाले सुरक्षाकर्मीलाई स्थानीयको सुरक्षा, चोरी तस्करी नियन्त्रणमा कडाइ गर्न निर्देशन दिइन् । धेरै कुरामा भारतमा निर्भर रहेका नरैनापुरवासीलाई आवतजावतका क्रममा दुःखसमेत नदिन उनले आग्रह गरिन् ।
‘अहिले पनि सीमा क्षेत्र नरैनापुरका स्थानीय किनमेलका लागि भारतीय बजारमा जाने चलन छ,’ उनले भनिन्, ‘सो क्रममा व्यवहारिकतासमेत हेरेर सुरक्षाकर्मीहरुले यहाँका नागरिकलाई सहज बनाइदिनुहोला ।’ तस्करमा संग्लनलाई गरिने व्यवहार यहाँ स्थानीयलाई नगर्नसमेत पूर्वमन्त्रीसमेत रहेकी सांसद नमुनाले सुरक्षा निकायका प्रमुखलाई आग्रह गरिन् ।
‘तस्करी नियन्त्रण गर्नुहुन्न भन्ने पक्षमा म छैन । तस्करी नियन्त्रणमा कडारुपमा प्रस्तुत हुनुहोला,’ उनी भन्छिन्, ‘तर यहाँका नागरिकलाई व्यवहारिकरुपमा हेरिदिनुपर्छ ।’ नरैनापुरमा उत्पादन भएका कृषि उपजलाई नेपालगन्ज लैजाँदा बाटोमा भारतबाट ल्याएको भन्दै नियन्त्रणमा लिइनु गलत भएको सांसद नमुनाले बताइन् । ‘यहाँका जनताले उत्पादन गरेका कृषिजन्य वस्तुलाई बाटोमा भारतबाट ल्याएको भनेर नियन्त्रणमा लिनु राम्रो होइन,’ उनले भनिन्, ‘तस्करी नै गरेर ल्याइएको हो भने नाकामै नियन्त्रणमा लिएर कारबाही गर्नुहोला । कम्दीमा पक्राउ गरेर जनतालाई दुःख दिने काम नगरौं ।’
अर्को प्रसंगमा सांसद नमुनाले यहाँका रहेका प्रहरी कार्यालयहरुलाई क्रमशः आफ्नै भवनमा सारिने बताइन् । जनताको सुरक्षामा खटिने सुरक्षाकर्मी बस्ने भवन राम्रो हुनुपर्ने बताउँदै उनले त्यसका लागि पहल गरिएको जानकारी दिइन् । ‘यहाँ रहेका सुरक्षाकर्मीका युनिटका भवन निर्माणका लागि पहल भइरहेको छ । केही भवनको लागि बजेटसमेत आउँदो वर्ष हुन्छ,’ सांसद नमुनाले भन्छिन्, ‘अरु युनिटहरुका लागि क्रमशः भवन बनाउँदै लैजाउनुपर्छ ।’ उक्त अवसरमा ईलाका प्रहरी कार्यालय भगवानपुरका ईन्चार्ज प्रहरी निरीक्षक राजन रायमाझीले सुरक्षामा कुनै सम्झौता हुन नदिने प्रतिबद्धता जनाए ।
‘भाडाका घरमा बसेर पनि हामीले नागरिकलाई सुरक्षा, चोरी तस्करी नियन्त्रणमा काम गरिरहेका छौं,’ उनले भने, ‘सकेसम्म स्थानीयवासीसँग सहकार्य समन्वय गरेर काम गर्ने हाम्रो प्रयास हुन्छ ।’
बोर्डर आउट पोष्ट (बिओपी) नरैनापुरका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपक चन्दले सीमा सुरक्षामा आफूहरु कटिबद्ध रहेको बताए । चोरी तस्करी नियन्त्रणका साथै विपद् व्यवस्थापनका कामहरुमा आफूहरु खटिरहेको उनले जानकारी दिए । ‘आफ्नो मातहत रहेका चारवटा बिओपीबाट सीमा क्षेत्रमा हामीले सुरक्षा प्रदान गरिरहेका छौं,’ डिएसपी चन्दले भने, ‘सबैसँग सहकार्य गरेर काम गरिरहेका छौं ।’
प्रतिक्रिया दिनुहोस्