बाँकेसहित तराईका जिल्लामा गर्मी बढ्यो



नेपालगन्ज (बाँके),
वैशाख सुरु भएसँगै पश्चिम तराईका जिल्लाको तापक्रम बढ्दै गएको छ । पश्चिम तराईका जिल्ला बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, रुपन्देही, कपिलवस्तुलगायतका जिल्लामा दैनिक तापक्रम बढ्दो मात्रामा छ ।
आइतबार र सोमबारको तुलनामा मंगलबार गर्मी बढी महसुस गरिएको छ । भैरहवाको अधिकतम तापक्रम ४२.४ डिग्री सेल्सियस पुगेको छ न्यूनतम तापक्रम २२ डिग्री सेल्सियस छ । यता नेपालगन्जको अधिकतम तापक्रम ४०.५ डिग्री सेल्सियस पुग्दा न्यूनतम तापक्रम २०.६ डिग्री सेल्सियस छ । धनगढीको अधिकतम तापक्रम ३८.५ डिग्री सेल्सियस तापक्रम छ भने न्यूनतम तापक्रम १८.६ डिग्री सेल्सियस पुगेको छ । डडेल्धुराको अधिकतम तापक्रम २९.२ छ भने १६ डिग्री सेल्सियस न्यूनतम तापक्रम छ । जल तथा मौसम विज्ञान कार्यालयका अनुसार दिपायलको अधिकतम तापक्रम ३८.५ डिग्री सेल्सियस छ भने सुर्खेत वीरेन्द्रनगरको अधिकतम तापक्रम ३८.१ डिग्री सेल्सियस छ ।


भैरहवा र नेपालगन्जमा दिउसोको समयमा तातो हावासमेत लाग्न सुरु भएको छ । सफा, ताजा र झोलिलो खानेकुरा खान चिकित्सकले सुझाएका छन् । पश्चिम तराईका भू–भागहरूमा तापक्रम बढ्ने क्रममा रहेको र आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान कार्यालयले अनुरोधसमेत गरेको छ । अध्यधिक गर्मी बढ्दै गएपछि यहाँको जनजीवन प्रभावित भएको छ ।

सबैभन्दा बढी बालबालिका र ज्यालादारीरुपमा काम गर्ने मदजुर प्रभावित भएका छन् । ‘दिउसो अत्यधिक गर्मी छ । घरभन्दा बाहिर निस्कनै सकिँदैन,’ नेपालगन्जमा मजदुरी गर्ने विकास थारुले भने, ‘बिहान र साँझ काम गर्छाैं र दिनमा काम रोक्ने गरेका छौं ।’

‘दिउँसो गर्मीले कामै गर्न सकिँदैन,’ नेपालगन्जकी उर्मिला विकले भनिन्, ‘गर्मीले गर्दा काम प्रभावित हुन थालेको छ ।’ दिउसो सामान्य तातो हावा चल्दा काम गर्न नसकिने उनी बताउँछिन् । तापक्रम यसरी नी बढ्दै जाँदा साता दिनसम्म लु सुरु हुनसक्ने आँकलन गरिएको छ । दिनप्रतिदिन गर्मी बढ्दै गएपछि हिँड्डल गर्न समस्या भएको छ । साथै गर्मी बढेसँगै यहाँका अस्पतालमा बिरामीको संख्यासमेत बढेको छ ।

गर्मीले सताउँदा के गर्ने ?
अत्यधिक गर्मी समयमा जरुरी कामले बाहिर निस्कनुपर्दा छाता ओढ्ने र कालो चस्मा लगाउने गर्नुपर्छ । अत्यधिक गर्मीको समयमा खेतबारीमा काम गर्नु वा कडा व्यायाम गर्नुहुँदैन । खेतबारीमा काम गर्नेले पनि बिहानबेलुकाको समयमा काम गर्ने र दिउसो शीतल ठाउँमा बस्नुपर्छ ।

२४ घन्टामा हरेक स्वास्थ्य व्यक्तिले कम्तीमा एक लिटर पिसाब फेर्नुपर्छ । ‘लु’ अर्थात् तातो हावा चलिरहेको अवस्थामा बाहिर निस्कनुहुँदैन, घरभित्र बस्नुपर्छ । साना बालबालिकाहरू, अशक्त, वृद्ध व्यक्तिहरू, पुरानो रोग भइ औषधि सेवन गरिरहेका व्यक्तिहरू, ज्वरो आएका बिरामीहरू, धेरै मोटा व्यक्तिहरू गर्मीका कारणले स्वास्थ्य जोखिममा पर्न सक्ने हुँदा उनीहरूको स्वास्थ्यमा विशेष ध्यान पुर्याउनुपर्छ । गर्मी समयमा पूरै शरीर ढाकिने गरी खुकुलो र हल्का रङका लुगा लगाउने गर्नुपर्छ । अत्यधिक गर्मी भएको कारणले केही गम्भीर स्वास्थ्य समस्या देखिएमा तत्काल अस्पताल वा नजिकको स्वास्थ्य संस्थामा गइ सल्लाह लिनुपर्छ ।

के नगर्ने गर्मीमा ?
बालबालिका र शिशुलाई तोरीको तेल वा अन्य तेल लगाउनुहुँदैन, यसबाट पसिना कम निस्कन गई झन् गर्मी हुन सक्छ । रक्सी खानुहुँदैन, यसले झन् जल वियोजन वा पानीको कमी गराउँछ । धेरै गुलिया खानेकुरा खानुहुँदैन, यसबाट पनि शरीरमा झन् गर्मी उत्पन्न हुन सक्छ । धेरै गह्रौँ काम वा कडा व्यायाम गर्नुहुँदैन ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख ६ गते बुधबार