कोहलपुर नयाँ बसपार्क : मूल गेट नै गायब पारेको भन्दै स्थानीयको विरोध,पर्खाल भत्काउने चेतावनी



कोहलपुर,  कोहलपुरमा निर्माणाधीन लामो दुरीको बसपार्कको डिपीआरअनुसार मूल गेट निर्माण नभएको भन्दै स्थानीयहरुले विरोध जनाएका छन् । चौराहा नजिकै मूल गेट निर्माण गर्ने डिपीआरमा उल्लेख भए पनि बेवास्ता गरिएको भन्दै वडा नम्बर १२ र १३ का स्थानीयहरुले विरोध जनाएका हुन् ।
डिपीआरअनुसार मूल गेट निर्माण गर्न माग गर्दै सोमबार उनीहरुले वडा नम्बर १२ का वडाध्यक्ष वीरेन्द्रबहादुर शाह र कोहलपुर नगरपालिकालाई ज्ञापनपत्र बुझाएका छन् । नगर र वडामा पटकपटक यस विषयमा ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएपछि ज्ञापनपत्र बुझाउनु परेको स्थानीयको भनाइ छ । स्थानीयले १२ नम्बर वडा कार्यालयमा समेत घेरा हालेका थिए ।

उक्त ज्ञापनपत्रमा भनिएको छ, ‘कोहलपुर–११ चौराहा र डुडुवा खोलाको बीचमा हालै निर्माण गरिएको नयाँ बसापर्कको डिपीआर गर्दा वडा नम्बर १२ डुडुवा खोलाको पश्चिम महेन्द्र राजमार्ग निस्कनको लागि हाल निर्माण भएको सटरको दुईतिरको भवनको बीचबाट ठाउँ छोडी निकास गेट बनाउने भनिएको थियो ।’ तर बसपार्क निर्माण भएर सञ्चालनको अन्तिम हुँदा पनि निकासलाई बन्द गर्ने काम भएको बन्दै उनीहरुले विरोध जनाए ।

वडा नम्बर १२ र १३ का एक सय ३० जनाभन्दा बढी स्थानीयद्वारा जारी विज्ञप्तिमा उक्त निकासी गेटका सम्बन्धमा पटकपटक नगरपालिका र वडालाई ध्यानाकर्षण गराइएको जनाइएको छ । तर स्थानीयहरुको मागलाई बेवास्ता गर्ने काम भएकाले फेरि ध्यानाकर्षण गराइएको स्थानीय केशव लम्सालले बताए । यसभन्दा पहिला नगर र वडाबाट आश्वासन मात्र पाएको उनले बताए । ‘हामीले मूल गेट निर्माण हुने विषयमा आश्वासन मात्र पायौं,’ उनले भने, ‘तर, उक्त आश्वासन कार्यान्वयन भएन ।’
प्रेस विज्ञप्तिमा उल्लेख भएका कुरा सुनाउँदै उनले भने, ‘२०७९ माघ २३ गते कोहलपुर १२ र १३ का जनता सम्बन्धित ठाउँमा भेला भएका थियौँ । सबैले अहिले लगाइएको पर्खाल भत्काउने भन्ने भयो । तर हामीले नगर प्रमुख र वडा नम्बर १२ का वडाध्यक्ष शाहलाई फोन गरेर स्थानीयहरुले भत्काउन लागेको जानकारी दियौँ ।’ त्यतिबेला स्थानीयहरुले सल्लाह गरेर आउन आग्रह गरिएको थियो । माघ २४ गते नगरपालिकामा वडा नम्बर १२ र १३ का सातजना अगुवा र नगरपालिकाका प्रतिनिधिबीच छलफल भएको थियो । उक्त बैठकमा नगर प्रमुख पूर्णप्रसाद आचार्यले तत्कालीन मेयरका पालामा भएका अधुरा योजनालाई जस्तोको त्यस्तै कार्यान्वयन गर्ने हो भनी आश्वान दिएका उनले बताए ।

उक्त विषयमा ध्यानाकर्षण गराउँदै सात दिनभित्र डिपीआर भएबमोजिम खुला नगराए जनताले हटाउने चेतावनीसमेत दिइएका छन् । त्यसबाट भएको क्षतिको जिम्मेवारी सम्बन्धित सरोकारवालाले लिनु पर्ने पनि विज्ञप्तिमा उल्लेख छ । उक्त विज्ञप्ति वडा नम्बर १२ को कार्यालय, कोहलपुर नगरपालिका, ईलाका प्रहरी कार्यालय कोहलपुर र ईलाका प्रशासन कार्यालयलाई बोद्धार्धका रुपमा दिइएको छ । विज्ञप्ति बुझ्दै वडाध्यक्ष शाहले पूर्व नगर प्रमुखको पालामा निर्माण सुरु भएको बसपार्कको डिपीआर तयार भएको बताए । यस विषयमा जनताले आफूलाई बारम्बार ध्यानाकर्षण गराइरहेको पनि उनले बताए । जनताको मागलाई सम्बोधन गर्न आफूले पुलको रुपमा काम गर्ने उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८० वैशाख ५ गते मंगलबार