17 April 2024  |   बुधबार, बैशाख ५, २०८१

सिक्टाको पूर्वी नहर सञ्चालनमा

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, चैत्र २२, २०७९  

नेपालगन्ज (बाँके),  अघिल्लो बर्खामा पर्याप्त पानी नपर्दा नरैनापुरमा करिब ८५ प्रतिशत जमिन बाँझै रह्यो । सिँचाइ अभावमा यहाँका किसानले धान रोपाइँ गर्नै पाएनन् । जसको प्रभाव उत्पादनमा देखियो । तर, यसपालि सुख्खाग्रस्त नरैनापुरमा अधिकांश खेतबारीमा सिँचाइ पुग्ने गरी सिक्टा सिँचाइ आयोजनाले पूर्वी नहरमार्फत सफलतापूर्वक पानी सञ्चालन गरेको छ ।

२०७४ साउन ९ गतेदेखि पूर्वी नहर निर्माणको काम सुचारु गरिएको थियो । यसका चारवटा शाखा नहर छन् भने परम्परागत राजकुलोसँगै फत्तेपुर सिँचाइ प्रणाली पुनस्थापना हुनेछ । अहिले पूर्ण क्षमतामा फत्तेपुरसम्म सिँचाइका लागि पानी सञ्चालन भएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ । पूर्वी नहरको लम्बाइ ४३.५ किलोमिटरसम्म छ । अहिले ३९ किलोमिटरसम्म पानी सञ्चालन गरिएको सिक्टा सिँचाइ आयोजनाले जनाएको छ । नरैनापुरको गंगापुर, मटहयौ र वडा नम्बर १, २, ३ र ४ मा अर्काे चरणमा काम सुरुवात हुने सिक्टा सिँचाइ आयोजनाका आयोजना निर्देशक रमेशकुमार सिंहले जनाए । उनका अनुसार सिक्टाको पूर्वी नहरबाट नौ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ पुग्नेछ ।

‘पुरानो राजकुलो आठ सय हेक्टर, फत्तेपुर एक हजार हेक्टर र नयाँ निर्माण गरिएका चारवटा शाखा नहरबाट करिब एक हजार चार सय हेक्टरमा वर्षभरिनै सिँचाइ सुविधा पुग्ने सुनिश्चितता भएको छ,’ उनले भने, ‘बाँकी मुल नहरसहित शाखा नहरको भर्से र डिजाइनको चरणमा रहेकाले आवश्यक वातावरणीय अध्ययनपश्चात ठेक्का व्यवस्थापन कार्य अगाडि बढाइछ ।’ असार २८ गते ७ घनमिटर प्रति सेकेन्ड पानी परीक्षणका लागि छाडिएको थियो ।

परीक्षण सफल भएपछि पूरै क्षमताको पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर रणधीर झाले जनाए । ‘पानी छाडिएपछि किसानलाई ठूलो राहत हुनेछ,’ उनले भने, ‘नरैनापुरको सुख्खा क्षेत्रलाई सिञ्चित गर्नेछ ।’ पूर्वी नहरको संरचना भने ३७ किलोमिटर नहर निर्माण भएको छ । केही राजकुलो पर्ने भएकाले ३९ किलोमिटरसम्म पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाका वरिष्ठ डिभिजनल इन्जिनियर तथा सूचना अधिकारी विशाल यादवले जनाए ।
नरैनापुर नगरपालिकाका यहाँका ९० प्रतिशत परिवार कृषिमा निर्भर छन् । सिँचाइ नहुँदा नरैनापुरलाई सुख्खा ग्रस्त क्षेत्रसमेत घोषणा गरिएको थियो । पूर्वी नहरबाट पानी सुचार भएपछि सुख्खा क्षेत्रलाई केही राहत पुग्ने स्थानीयको अपेक्षा छ । सिँचाइ कुलो पुगेपछि यस क्षेत्रका स्थानीय खुसी भएका छन् ।

सिँचाइ नहुँदा खेत बाँझै राख्नुपर्ने बाध्यता हटेको यहाँका किसानको भनाइ छ । ‘गत वर्ष सिँचाइ अभावमा धाननै रोपाइँ गर्न पाइएन,’ स्थानीय किसान अकवीर चौधरीले भने, ‘सिक्टाले सिँचाइ कुलोमा पानी छाडेपछि खेतमा सिँचाइ हुने भएको छ ।’ गत वर्ष जस्तो यस वर्ष खेत बाँझै राख्नुपर्ने अवस्था नहुने उनले बताइन् ।

यस क्षेत्रका किसानले आकासे पानीकै भर परेर खेती गर्नुपर्ने अवस्था थियो । पूर्वी नहरमा पानी छाडिएपछि आकासे पानीको भर पर्नुपर्ने बाध्यता अन्त्य भएको स्थानीय बुद्धिसिंह थारुले जनाए । पूर्वी नहर निर्माणका लागि कालीका–कुमार जेभीसँग तीन अर्ब ६ करोड ९८ लाख ५९ हजार दुई सय ५९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

प्रकाशित मितिः बुधबार, चैत्र २२, २०७९     11:05:38 AM  |