कोहलपुरको बन्दा खोलामा पौडी खेल्न निषेध



कोहलपुर : कोहलपुर नगरपालिकास्थित बन्दा खोलमा पौडी खेल्न निषेध गरिएको छ । कोहलपुर नगरपालिका वडा १० र १३ को सीमानामा पर्ने डुडुवा नाला अन्तर्गतको बन्दा खोलामा नुहाउन र पौडी खेल्न पूर्ण रुपमा निषेध गरिएको छ । कोहलपुर नगर प्रहरी प्रमुख वीरबहादुर थापाका अनुसार विगत लामो समयदेखि उक्त खोलामा स्थानीयहरुले नुहाउने क्रममा ज्यानै गुमाउने घटना घट्ने गरेकोले उक्त क्षेत्रमा पौडी खेल्न पूर्ण रुपमा निषेध गरिएको हो ।


उनले सोमबार वडा नम्बर १० र १३ को सीमा क्षेत्रमा सचेतनाका लागि जनचेतनामुलक बोर्ड राखिएको उनले बताए ।‘यस क्षेत्रमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएका घटनाहरु भएकोले पौडी खेल्न पूर्ण रुपमा निषेध गरिएको छ,’ उक्त बोर्डमा लेखिएको छ । उक्त बोर्ड कोहलपुर नगरपालिका वडा नम्बर १२ को कार्यालयले सहयोग गरेको हो ।

उनी भन्छन्, ‘उक्त खोलामा वर्षेनी पौडी खेल्ने क्रममा मानिसको मृत्यु हुने गरेको छ । अस्ति पनि दुई जनाको मृत्यु भयो । त्यसैले सचेतनाका लागि बोर्ड राखिएको छ । अब त्यहाँ कसैलाई पनि नुहाउन र पौडी खेल्न अनुमति छैन ।’ त्यहाँ नियम भए नभएको विषयमा दैनिक कोहलपुर नगर प्रहरी र इलाका प्रहरी कार्यालयले निगरानी गर्नेछ ।
गत फागुन २३ गते बन्दा खोलामा नुहाउने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको थियो । मृत्यु हुनेमा कोहलपुर नगरपालिका वडा नम्बर १२ का १५ वर्षीय मनसुन बराल र अनिल भट्टराईको मृत्यु भएको थियो । अनिल ज्ञानज्योति मावि चप्परगौडीमा कक्षा ९ मा अध्यनरत थिए । बराल दिपज्योति बिद्याश्रम मावि चप्परगौडीमा कक्षा १० मा अध्यनरत थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत १४ गते मंगलबार