नाली बनाउँदा बिग्रिएका सडक मर्मत नहुँदा सास्ती



कोहलपुर :  कोहलपुर नगरपालिका अन्तर्गत टाउन प्लानिङ क्षेत्रमा केही महिनायता नाली विस्तार कार्य भइरहेको छ । नगर विकास समिति कोहलपुर ठेक्का प्रक्रियामा नाली विस्तार गरिरहेको हो । नगर विकास समितिका अनुसार अहिलेसम्म ९० प्रतिशत नाली निर्माण कार्य सम्पन्न भइसकेको छ । अब नाली निर्माणको लागि १० प्रतिशत मात्रै काम बाँकी रहेको नगर विकास समितिका इन्जिनियर विराज अर्याल बताउँछन् । उनका अनुसार निर्माण जिम्मा लिएको ड्रागन सिद्धिगढी जेवीले उज्वल मेडिकल लाइन क्षेत्रमा नाली विस्तारको काम गरिरहेको छ ।


नगर विकास समितिले नाली निर्माण कार्य सम्पन्न हुन लागेको बताएपछि नाली विस्तार गरिएको टाउन प्लानिङ क्षेत्र अहिले निकै अस्तव्यस्त अवस्थामा छ । नाली निर्माण गर्दै छोड्दै जाँदा सडक क्षेत्र निकै अस्तव्यवस्त भएको हो । नाली विस्तार गर्दा बिग्रिएको सडक मर्मत नहुँदा नगरबासीले सास्ती भोगिरदापनि सम्बन्धित क्षेत्रको ध्यान जान सकेको छैन ।

नाली निर्माण गर्दै छोड्दै जाने गरेका कारण दैनिक रुपमा हिड्डुल गर्न र सवारी साधनमा आवातजावतमा समेत समस्या भइरहेको स्थानीयहरुको गुनासो छ । स्थानीय धनबहादुर बस्नेत नाली विस्तार गर्नु सकारात्मक भएपनि बिग्रिएको सडक मर्मतमा ध्यान नदिँदा समस्या भइरहेको बताउँछन् । उनका अनुसार अब नगर विकास समितिले छिटो भन्दा छिटो सडक मर्मत कार्य अघि बढाउनुपर्छ । गर्मी याम सुरु भएकोले सडकको धुलोका कारण समस्या भोग्नु परेको उनको गुनासो छ । अर्का स्थानीय मिना थापा नाली निर्माण गरेर बिग्रिएको अवस्थामा रहेको सडक छिटो भन्दा छिटो बनाउनुपर्ने बताउँछिन् ।

उनले निर्माण कम्पनी वा नगर विकास समिति कसले बनाउने हो छिटो बनाउन आग्रह गरिन् । ‘ लामो समय विकास हुँदैछ छ भनेर चुप बसियो । बिग्रिएको सडक बनाउन ध्यान कसैले दिएको छैन । छिटो भन्दा छिटो बनाउनपर्छ ,’ उनले भनिन् ।
यता नगर विकास समिति कोहलपुरका इन्जिनियर अर्यालले अहिलेसम्म ६ किलोमीटर नाली निर्माण कार्य सम्पन्न भएको बताए । अहिलेसम्म अधिकांश क्षेत्रमा नाली निर्माण कार्य सम्पन्न भइसकेको छ । केही प्रतिशत मात्रै काम बाँकी रहेको उनले बताए । ‘अहिले उज्वल मेडिकल लाइनमा नाली विस्तार कार्य भइरहेको छ’, उनले भने, ‘कृषि मण्डी क्षेत्रमा पोल नउठाएका कारण काम भएको छैन । केही क्षेत्रमा पानी व्यवस्थापन गर्नुपर्नेछ । चैत मसान्तसम्म सबै काम सकिन्छ ।’

यस्तै नाली निर्माण कार्य सकिए लगत्तै नाली विस्तारको क्रममा बिग्रिएको सडक पीच गर्ने प्रक्रिया सुरु हुने नगर विकास समितिले जनाएको छ । इन्जिनियर अर्यालले त्यसको लागि ठेक्का आह्वान गरिएको बताए । करिब १२ करोड लागतमा टाउन प्लानिङ क्षेत्रमा नयाँ पीच हुने उनको भनाइ छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ चैत १४ गते मंगलबार