कहिले लिलामी हुन्छन् सवारी साधन ?



नेपालगन्ज,  जिल्ला प्रहरी कार्यालयको परिसरमा अहिले करिब तीन दर्जन सवारीसाधनहरु रहेका छन् । यी सवारीसाधनमध्ये अधिकांश मोटरसाइकल र स्कुटर छन् । यी सवारी साधन दुर्घटनामा परेका, चोरी भएका र बेवारिसे अवसस्थामा फेला परेका हुन् । मुद्दा चलिरहेको अवस्थामा बाहेक त्यस्ता सवारीसाधन बुझेर लैजान प्रहरीले सूचना जारी गर्ने र व्यक्ति सम्पर्कमा नआए भन्सार कार्यालयमार्फत लिलामी प्रक्रियमा लैजानुपर्ने व्यवस्था छ । तर, यी सवारीसाधन लामो समयदेखि प्रहरी कार्यालय परिसरमै थन्किएर रहेका छन् ।


जिल्ला प्रहरी कार्यालयले ती सवारी साधनको व्यवस्थित रेकर्ड पनि नराखेको पाइएको छ । प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले आफूहरुले समयसमयमा त्यस्ता सवारीसाधनहरु लिलामी प्रक्रियामा लिने गरेको जानकारी दिए । गत साउनमा २३ लाख ५६ हजार बराबरका सवारीसाधनहरु लिलामीका लागि भन्सार कार्यालयमा पठाइएको उनले जानकारी दिए । यद्दपि प्रक्रियामा लामो समय लाग्दा सवारीसाधनहरुको ह्रास भएर मूल्यांकन कम हुने गरेको र लिलामी गर्न समस्या गर्ने गरेको पाइएको छ । जसले एकातिर साधनहरु प्रयोगमा नआएरै खेर जाने गरेका छन् भने राजस्वमा पनि घाटा हुने गरेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत १३ गते सोमबार