कोहलपुर, ६६औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा ५९ प्वाइन्ट रगत संकलन गरिएको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमैत्री सहकारी’ भन्ने मूल नाराका साथ आइतबार मनाइएको उक्त दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५९ प्वाइन्ट रगत संकलन भएको हो ।

नेपाल रेडक्रस सोसाइटी कोहलपुर उपशाखाका ब्लड बैंक इन्चार्ज राजेन्द्र महताराका अनुसार तीमध्ये ३४ जना पुरुष र २५ जना महिला छन् । जिल्ला सहकारी संघ बाँकेको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा कोहलपुर क्षेत्रका सहकारीकर्मीहरुले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा दर्जन बढी सहकारीहरुको सहआयोजना थियो ।
जिल्ला सहकारी संघ बाँकेको आयोजनामा जिल्लाभरि दिवसको विभिन्न कार्यक्रम गरेर मनाइएको छ । जिल्लाका विभिन्न पालिकामा विविध कार्यक्रम आयोजना गरेर दिवस मनाइएको संघले जनाएको छ ।
दिवसकै कार्यक्रमअन्तर्गत कोहलपुरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको संघका अध्यक्ष प्रेम सुवेदीले बताए । ‘बाँकेमा विभिन्न कार्यक्रम गरेर दिवस मनाइएको छ । जिल्लाका सहकारी संस्थाहरुले पनि दिवस मनाए । सोहीअनुसार कोहलपुरमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो,’ उनले भने ।
कोहलपुरस्थित एक दर्जनभन्दा बढी सहकारीहरुको सहआयोजना रहेको रक्त कार्यक्रमको समन्वय जिल्ला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले गरेको थियो । रक्तदान कार्यक्रमका लागि नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुर, साझा सहकारी लिमिटेडले सहयोग गरेका छन् । दिवसअन्तर्गत शनिबार बैजनाथमा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको छ । बैजनाथमा ५० जनाले रक्तदान गरेका थिए । दिवसको अवसरमा आज नेपालगन्जमा रक्तदान कार्यक्रम हुँदैछ ।









प्रतिक्रिया दिनुहोस्