म्याजिक गाडीको ‘फालो’ फाल्दै ट्राफिक



मिसन संवाददाता
कोहलपुर,
सडक दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले म्याजिक गाडीका फलामे ‘स्ट्याण्ड’ (फालो) फाल्ने अभियान सुरु गरेको छ । यातायात व्यवसायीले फालोमा झुन्ड्याएर यात्रु राख्ने र सहचालकसमेत झुन्डिएर यात्रा गर्दा दुर्घटना हुन सक्ने भन्दै ट्राफिक प्रहरीले फालो फाल्ने अभियान चलाएको हो ।
यसले सडक दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

                                                                फालो फालिएको म्याजिक गाडी । तस्विरः मिसन टुडे

बाँकेमा प्रमुख समस्याको रुपमा सवारी दुर्घटना भएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक तिलक सुनारले भने, ‘उक्त समस्या समाधानका लागि पहिलो चरणमा म्याजिक गाडीहरुमा सुरक्षित यात्रा अभियान सुरु गरेका छौं ।’ सोका लागि व्यवसायीहरुले अनाधिकृतरुपमा गाडीका पछाडि राखेका फालो हटाउने अभियान सुरु भएको उनले जनाए । ‘म्याजिक दुर्घटनाबाट समेत धेरैले ज्यान गुमाएका छन् । म्याजिक यात्रालाई सहज र सुरक्षित बनाउन अभियान थालिएको हो,’ उनले भने, ‘यसमा सबैका साथ र सहयोग आवश्यक छ ।’

बाँकेमा सञ्चालन हुने ९० प्रतिशतभन्दा बढी गाडीहरुमा नियमविपरीत फालो राखिएको छ । क्षमताभन्दा बढी यात्रु बोक्ने गरेको पाइएपछि फालो हटाउने अभियान नै सञ्चालन गरिएको कार्यालय प्रमुखसमेत रहेका प्रहरी निरीक्षक सुनारले बताए । फालो हटाउनको सवारी धनी र सवारी मजदुरहरुसँग बृहत् अन्तरक्रिया तथा छलफलसमेत गरिएको उनको भनाइ छ । छलफलको क्रममा सवारी मजदुर पनि सकारात्मक देखिएका छन् ।

अभियान सुरु भएको केही दिनमै करिब एक सयभन्दा बढी म्याजिक गाडीका फालो फालिसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । यस्तै अटेर गर्ने ४० भन्दा बढी सवारीका कागजात नियन्त्रणमा लिने र फालो हटाएपछि कागजात फिर्ता दिने गरिएको छ । सचेतनामूलक अभियान भएकाले सवारीलाई कारबाहीको प्रक्रियासम्म नपुगेको उनले बताए । म्याजिक गाडीमा जम्मा आठजना सवारी राख्न पाइन्छ ।

यातायात व्यवस्था कार्यालयले नै म्याजिक गाडीका लागि आठजना मात्रै यात्रु बोक्ने अनुमति दिएको हुन्छ । तर, बाँकेमा म्याजिक गाडीहरुले अनुमतिविपरीत करिब १५ जनासम्म यात्रु पनि राखेको पाइन्छ । गाडीको बाहिर झुन्डिएरसमेत यात्रा गर्ने गरेकाले यस्तो जोखिमपूर्ण यात्रालाई निरुत्साहित गर्न खोजेको कार्यालय प्रमुख सुनारले बताए ।
बाँकेलाई सुरक्षित यात्राको जिल्लाको रुपमा चिनाउन यो अभियानले मद्दत पु¥याउने अपेक्षा गरिएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ चैत १३ गते सोमबार