नेपालगन्ज,अहिले चैत नवरात्री चलिरहेको छ । नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा दर्शनार्थीहरुको भिड लाग्ने पर्वमध्ये एक हो चैत नवरात्री । यस अवसरमा बाँके र बर्दियाका गाउँगाउँबाट मानिस दर्शन र पुजाआजाका लागि बागेश्वरी मन्दिर पुग्छन् । तर, यहीबेला बागेश्वरी मन्दिर परिसरमा सवारी साधन पार्किङ गर्ने ठाउँको अभाव भएको छ । यो अभाव ठाउँको कमीले भन्दा पनि पार्किङ गर्ने ठाउँमा मेला सञ्चालन गर्न दिएपछि समस्या भएको हो ।

घरबारीटोल युवा समितिलाई नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले मन्दिर अघिको खाली जमिनमा एक महिनासम्मका लागि मिनी रमाइलो मेला सञ्चालनका लागि अनुमति दिएपछि यहाँ सवारी साधन पार्किङको ठाउँ अभाव भएको छ । समितिले चैत १२ देखि वैशाख १२ गतेसम्म मेला सञ्चालनका लागि अनुमति मागेकोमा मेयर विष्टले पनि चाडपर्वको ख्याल नगरी मागअनुसार नै मेला सञ्चालनका लागि अनुमति दिएको पाइएको छ ।
उपमहानगरपालिकाले दिएको अनुमतिपत्रमा राजस्व शाखा वा प्रमुख प्रशासकीय अधिकृतको नभइ सिधै मेयर प्रशान्त विष्टको हस्ताक्षर छ । जुन कार्यविभाजनविपरीत छ । मेयरले अनुमति दिएपछि युवा समितिले आइतबारबाट मेलाको लागि ठाउँ ओगटिसकेको छ । ठाउँ ओगटेपछि आइतबार पञ्चमीको अवसरमा मन्दिरमा आउने दर्शनार्थीहरुले पार्किङ गर्ने ठाउँको अभाव भएको थियो । अझ सप्तमीपछि मन्दिरमा दर्शनार्थीहरुको ठूलो घुइँचो लाग्ने गर्छ । त्यतिबेला पार्किङ व्यवस्थापन झनै जटिल हुने देखिएको छ ।
बागेश्वरी मन्दिर व्यवस्थापन समितिका सचिव गोपाल अधिकारी पनि उपहानगरपालिकाले स्थितिको आँकलन नगरेर मेलाको अनुमति दिएको बताउँछन् । अब यथास्थितिमा पार्किङ व्यवस्थापन गर्नुको विकल्प नभएको उनले बताए । ‘त्यो जमिन हाम्रो मातहतमा पर्दैन । हामीले सुझाव मात्रै दिने हो । अनुमति दिइसकेपछि मात्रै हामीले थाहा पायौं । त्यसपछि पनि अवस्थाको बारेमा जानकारी त दिएका छौँ ।
तर, अब यथास्थितिमा व्यवस्थापन गर्नुको विकल्प रहेन,’ उनले भने ।
उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख वीरबहादुर थापाले आयोजकसँग मनोरञ्जन कर उठाउने गरी अनुमति दिइएको बताउँछन् । तर, पूरै खाली क्षेत्रमा कार्यक्रम गर्ने अनुमति पाएकोमा आफूहरुले पार्किङका लागि ठाउँ छोडिदिएको दाबी छ । खेलकुद सामग्री खरिदका लागि आर्थिक जोहो गर्न मेला आयोजना गरिएको मिनी मेला आयोजक समिति युवा समितिका अध्यक्ष टासी थापाले बताए ।
सित्तैमा पार्किङ शुल्क उठाउन अनुमति
मिनी मेला आयोजक समितिकै अनुरोधमा खाली रहेको ठाउँमा पार्किङ गर्नेहरुबाट नवरात्र अवधिभर पार्किङ शुल्क उठाउन उपमहानगरपालिकाले एकजना व्यक्तिलाई अनुमति दिएको छ । तर, उक्त पार्किङ शुल्कवापत उपमहानगरपालिकाले कुनै शुल्क लिनेगरी नतोकेको राजस्व शाखा प्रमुख वीरबहादुर थापा बताउँछन् । अहिले स्थानीय एक युवाले उक्त क्षेत्रमा पार्किङ गर्ने गाडीहरुबाट शुल्क उठाइरहेका छन् ।

उनले आफूले हरेक वर्ष नवरात्रमा पार्किङ शुल्क उठाउने जिम्मा पाउँदै आएको ती युवाले बताए । उनले केही व्यक्तिहरुलाई संस्थाको नाम र छापविहीन टिकट थमाएर शुल्क उठाउन लगाइरहेका छन् । राजस्व शाखा प्रमुख थापाले भने, ‘पार्किङ शुल्क उठाएवापतबाट यति नै राजस्व असुल्ने भन्ने छैन । अहिलेलाई पार्किङ व्यवस्थापन गर्ने अनुमति मात्रै दिइएको छ । मेयर’साब चीनबाट फर्किसकेपछि त्यसबारेमा पनि निर्णय हुन्छ होला ।’








प्रतिक्रिया दिनुहोस्