19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

‘कालले नरुचाएको मान्छे’ वृत्तचित्र प्रदर्शन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, चैत्र ७, २०७९  

कोहलपुर ।

कोहलपुरमा सोमबार ‘कालले नरुचाएको मान्छे’ नामक वृत्तचित्र प्रदर्शन गरिएको छ । कोहलपुर नगरपालिका वडा नम्बर ९ भवानीपुरका जीतबहादुर थापाको जीवनमा आधारित उक्त वृत्तचित्र प्रदर्शन गरिएको हो ।

नेपालगन्जमा प्रदर्शन गरिएको वृत्तचित्रमा थापाको अहिलेसम्मको यात्रा समेटिएको छ । विषेशगरी वृत्तचित्र उनी सोडिमयको कमीका कारण बिरामी हुँदा, त्यसपछि उनले बाँच्नका लागि गरेको संघर्ष, निको भएपछि गरिएको क्रियाकलाप समेटिएको छ ।

थापा पूर्व शिक्षक हुन् । उनले लामो समय शिक्षण पेसामा आबद्ध भएर सेवा गरेका थिए । यस्तै उनी कलाकारसमेत हुन् । अभिनयको माध्यमबाट उनले सामाजिक विषयमा वकालत गर्दै आएका छन् । अहिले भने पनि सामाजिक अभियानमा सक्रिय छन् ।

वृत्तचित्र प्रदर्शनी राष्ट्रिय परीक्षा बोर्ड नेपालगन्जका प्रमुख रामसुरेश यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । उक्त अवसरमा बोल्दै यादवले थापाको जीवनबाट धेरै राम्रो पाठ सिक्नुपर्ने बताए । वृत्तचित्रबाटै थापा एक संघर्षशील व्यक्ति हुन भन्ने पुष्टि भएको उनले बताए । उनका अनुसार व्यक्ति एक, व्यक्तित्व अनेक भएका सामाजिक योद्धाका रुपमा थापा अहिले पनि क्रियाशील छन् ।

नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गत महिला विकास महाशाखा प्रमुख शोभा शाहले ‘कालले नरुचाएको मान्छे’ नामक वृत्तचित्रबाट धेरै व्यक्तिले पाठ सिक्न सक्ने बताएकी थिइन् । यसैगरी डुडुवा गाउँपालिकाका वडा नम्बर ५ का वडाध्यक्ष झंकबहादुर थापाले यस्ता प्रकार सन्देशमूलक वृत्तचित्र सम्पूर्ण नागरिकलाई देखाउन आवश्यक रहेको बताए ।

उक्त वृत्तचित्र प्रदर्शनी कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति, नृत्य तथा समाज सेवा संस्थाका कलाकारहरुले सडक नाटक प्रदर्शन गरेका थिए । उक्त वृत्तचित्र बागेश्वरी असल शासन (बास)नेपाल र असल शासन मिडियाले निर्माण गरेको हो । उक्त अवसरमा राष्ट्रसेवक कर्मचारी, शिक्षक, कलाकार, स्थानीय बुद्धिजीवी, संघ संस्थाका प्रतिनिधि सर्वसाधारणको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

प्रकाशित मितिः मङ्लबार, चैत्र ७, २०७९     9:12:41 AM  |