नेपालगन्ज ।
बाँकेका चारवटा क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनबाट दुईवटा क्याम्पस अध्यक्षमा एमाले निकट अनेरास्ववियु, एउटामा कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) र एउटामा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) का उम्मेदवार निर्वाचित भएका छन् ।
बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर, ज्ञानोदय पब्लिक क्याम्पस खजुरा, जनसिद्धेश्वर क्याम्पस राप्तीसोनारी र नेपालगन्ज नर्सिङ क्याम्प्समा आइतबार निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनबाट बागेश्वरी र ज्ञानोदयमा प्रत्यक्षतर्फ अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ । यसैगरी जनसिद्धेश्वरमा नेविसंघ र नर्सिङ क्याम्पसमा अखिल (क्रान्तिकारी) का अध्यक्ष उम्मेदवार निर्वाचित भएका छन् ।
बागेश्वरीको स्ववियु अध्यक्षमा अनेरास्ववियुका देवेन्द्र बुढा निर्वाचित भए । नेपाल विद्यार्थी संघकी टीकाकुमारी शाहीलाई पराजित गर्दै बुढा निर्वाचित भएका हुन् । बुढाले चार सय ५४ मत प्राप्त गर्दा टीकाले दुई सय ४० मत प्राप्त गरिन् । बागेश्वरीको स्ववियु सचिवमा अनेरास्ववियुकै महेन्द्र मल्ल तीन सय १४ मत र कोषाध्यक्षमा सुरेश चदारा तीन सय १२ मत प्राप्त गरेर निर्वाचित भए ।
सदस्यहरुमा पनि अनेरास्ववियुकै अभिसा बोहरा, तिर्थकुमारी नकाल, तुलाराम भट्टराई र सिर्जना मल्ल निर्वाचित भएका छन् । ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस खजुराको स्ववियु सभापतिमा विनयकुमार यादवसहित प्रत्यक्षतर्फ अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ । यादवले अखिल क्रान्तिकारीका मोहम्मद सरफि खाँलाई ४० मतले पछि पारे ।
यादवले एक सय एक मत ल्याउँदा खाँले ६१ मत पाए । निर्वाचनबाट सचिवमा अनेरास्ववियुकै प्रेमप्रसाद पौडेल एक सय १७, कोषाध्यक्षमा विनिता पुनमगर एक सय १० मतसहित निर्वाचित भएका छन् । सदस्यहरुमा सपना थापाक्षेत्री, मोहम्मद असफाक खाँ र निरुता थापा निर्वाचित भएका छन् ।
राप्तीसोनारीको फत्तेपुरस्थित जनसिद्धेश्वर बहुमुखी पब्लिक क्याम्पसमा नेविसंघकी निरा थारु विजयी भएकी छिन् । नेविसंघले नागरिक विद्यार्थी समाज र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनसँग गठबन्धन गरेको थियो । क्याम्पसमा अनेरास्ववियु, नेविसंघ र नागरिक विद्यार्थी समाज (संयुक्त प्यानल)का निरा थारु अध्यक्षमा निर्वाचित भइन् । निराले ८० मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका इन्द्रबहादुर थारु ५८ मत प्राप्त गरे । सचिवमा संयुक्त प्यानलकै गंगाराम थारु र कोषाध्यक्षमा रमेशबहादुर थारु निर्वाचित भएका छन् ।
नर्सिङ क्याम्पस नेपालगन्जको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियु (समाजवादी) को संयुक्त प्यानलबाट उम्मेदवार रहेकी दिपीका सोनी निर्वाचित भएकी छन् । सोनीले ८१ मत ल्याएर निकटतम प्रतिस्पर्धी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ‘अनेरास्ववियु’का निलिमा गिरिलाई पराजित गरेकी हुन् ।
उनीहरुबीचको मतान्तर मात्र तीन मत रहेको छ । क्याम्पसको स्ववियु सचिवमा भने अनेरास्ववियुका देवार्चना अधिकारी निर्वाचित भएकी छन् । उनले संयुक्त प्यानलकी नेहा थापालाई पराजित गरिन् । सदस्यहरुमा संयुक्त प्यानलतर्फका एकजना र अनेरास्ववियुतर्फका दुईजना निर्वाचित भएका छन् ।
बाँकेको सबैभन्दा ठूलो महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भने चैत ८ गते मतदानको मिति तोकिएको छ । महेन्द्रमा नेविसंघका जीवनराज सुवेदी र अनेरास्ववियुका माधव खत्रीको प्यानलबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।








प्रतिक्रिया दिनुहोस्