नेपालगन्ज (बाँके) ।
बैजनाथ–५, गुरुवा गाउँका ३५ वर्षीय काशिराम अहिर घर नजिकैको पसलमा गफिँदै थिए । साँझ पर्नै लाग्दा उक्त पसलमा पुरुषहरु जम्मा हुने सुखदुःखका कुराकानीका लागि गमघट हुने थलो पनि हो ।
शनिबार (४ गते) एक्कासी लाठ्ठी, बाँको (आँसी) लगायतका घरेलु हतियार लिएर एक समूह आउँछ र काशिराममाथि अन्धाधुन्ध प्रहार गर्छ । उक्त तस्विर र भिडियो मिसन टुडेसँग सुरक्षित छ । जसको कुटाइबाट काशिराम गम्भीर घाइते भएका छन् । कुटपिट घटना यतिमै सीमित बनेन, उक्त समूह काशिरामको घरसम्म पुग्यो उनका श्रीमती सुनिता, भाइ सुनिल र छोरा मुकेशमाथि पनि जाइलाग्छन् ।
उक्त कुटपिटबाट काशिराम गम्भीर घाइते भएका छन् भने १२ वर्षीय मुकेशको खुट्टामा गहिरो चोट छ । सुनिता र सुनिललाई सामान्य चोट लागेको छ । जोध्याप्रसाद यादव, दशरथ यादव, रामकिशोर यादव, उत्तमप्रसाद यादव, शत्रुधन यादव, सुरजप्रसाद यादव, रुपादेवी अहिर, शोभा अहिर र लक्ष्मीकुमारी यादवले काशिरामको परिवारमाथि मरणासन्न हुनेगरी कुटपिट गरेको पीडित परिवारले दाबी गरेको छ ।
उक्त घटनामा प्रयोग गरिएका घरेलु हातहतियार, तस्विर तथा भिडियो प्रहरीसमक्ष पुगेको छ तर, पीडित परिवारले ज्यान मार्नेसम्बन्धी जाहेरी दर्ता गराउन खोज्दा प्रहरीले आनाकानी गरिरहेको छ । ‘घटना हुँदा प्रहरीले आवश्यक प्रमाण जुटाएर जाहेरी लिने बताएको थियो,’ पीडित परिवारले भन्यो, ‘आइतबारदेखि विषयलाई विषयान्तर गर्दै अभद्र व्यवहारमा मुद्दा दर्ता गर्न प्रहरीले सुझाएको छ ।
हामी त्यो मान्दैनौं ।’ ‘घरमै आइ ज्यान मार्ने उद्देश्यले कुटपिट भएको छ,’ कुटपिटबाट सामान्य घाइते भएका सुनिलले भने, ‘तर, प्रहरीले यति ठूलो घटनालाई सामान्यकरण गरेर अभद्र व्यवहार भन्छ ।’
‘दशरथसँग पारिवारिक सामान्य विवाद भएको र उनले बेलाबेला धाकधम्की दिँदै आएका थिए,’ पीडित पक्षले लेखेको जाहेरीमा भनिएको छ, ‘उक्त धाकधम्कीको बेवास्ता गर्दै म आफ्नो कार्य गर्दै आएको थिएँ ।’ ‘भाग्न उम्कन नपाउने गरी घेरा हाली ज्यानै मार्ने मानसायले धारिलो हतियार फलामको सब्बल, फलामको रड, काठको चिरपट दाउरा, हात मुक्काले टाउकोलगायत शरीरको विभिन्न भागमा प्रहार गरिएको छ,’ जाहेरीमा भनिएको छ ।
दशरथको छोरी र काशिरामका भाइ सुनिलबीच सम्बन्ध रही आएको र सुनिलले उक्त युवतीलाई भगाएको भन्ने आरोपमा कुटपिटको घटना घटेको प्रहरीले जनाएको छ । तर, सुनिलले करिब ति युवतीसँग पाँच वर्षदेखि चिनजानको भएको र आफूले विवाह गरेर नभगाएको दाबी गरेका छन् ।
यता प्रहरीले भने घटनासँग प्रत्यक्ष जोडिएका व्यक्तिको नाममा मात्र जाहेरी ल्याउँदा दर्ता गर्न सकिने बताएको छ । ‘घटना अनुसन्धान हुन्छ । अनुसन्धानका क्रममा घटनामा जोजस समेटिनु भएको छ, उहाँ त दायरामा आउनु हुन्छ,’ ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले भने, ‘जाहेरीमा घटनासँग प्रमाण नपुग्ने व्यक्तिहरुको नाममा पनि भएको हुन सक्ने भएकाले घटनामा प्रमाण पुग्ने व्यक्तिहरुका नाममा मात्र जोहरी गरौं भनेको हो ।’ पीडित भनिएकाले ईलाका प्रहरी कार्यालयमा दुईवटा जाहेरी लिएका थिए । पाँच लाख रुपैयाँ लुटिएको र ज्यान मार्नेसम्बन्धी जोहरी ल्याएको प्रहरीले जनाएको छ ।
उक्त विषयमा गहिरो ढंगबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘घटनालाई बढाइचढाइ गर्दा झन अनुसन्धान प्रभावित हुन्छ,’ डिएसपी तिवारीले भने, ‘घटनालाई सुक्ष्मढंगले अनुसन्धान भइरहेको छ ।’ उक्त घटनामा दुवैपक्षका व्यक्तिहरु घाइते भएका ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्