बाँके ।
लुम्बिनी प्रदेशसभाको बैठक आगामी चैत ७ गतेका लागि आह्वान गरिएको छ । बिहीबार प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले सूचना जारी गरेर चैत ७ गते दिउँसो १ बजेका लागि बैठक आह्वान भएको जानकारी दिएका हुन् ।
सरकारले प्रदेशसभाका लागि कुनै बिजनेस दिएको छैन । तर, सूचना टाँसेर बैठक आह्वान गरेपछि त्यही दिन केन्द्रको नयाँ गठबन्धनअनुसार सत्ता समीकरण फेरबदलको प्रयास हुने सम्भावना छ । फागुन १७ गते बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लीला गिरीको सरकारलाई समर्थन गरेर सरकारमा सहभागी नभएका लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिने तयारी थियो ।
तर, अन्तिम समयमा दुवै दल समर्थन फिर्ता लिने अवस्थाबाट पछि हटेपछि चैत ७ गतेको बैठकमा माओवादी केन्द्र नै अघि सरेर समर्थन फिर्ता लिने सम्भावना देखिएको छ । लुम्बिनी प्रदेशमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नयाँ सरकारको नेतृत्व लिने तयारीमा छन् । माओवादीले पनि नेतृत्वको दाबी छोडेको छैन् ।
तर, लुम्बिनीमा यस अघिको शंकर पोखरेल नेतृत्वको सरकार विघटन गरी कांग्रेस माओवादीको नेतृत्वमा आलोपालो सरकारको नेतृत्व गर्ने सहमतिमा सरकार गठन गरे पनि माओवादीले नेतृत्व हस्तान्तरण नगरेका कारण यस पटक कांग्रेसकै नेतृत्वमै सरकार बन्ने सम्भावना छ ।
कांग्रेस संसदीय दलका नेता चौधरीले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी अनौपचारिक सहमति भइसकेको बताए ।
‘एक खालको समझादारी भइसकेको छ, मेरै नेतृत्वमा सरकार बन्छ,’ उनले भने, ‘त्यसका लागि छलफलबाटै एमालेले सहज निकास दिने विषयमा म आफँै पनि आशावादी छुँ ।’ सरकार अस्थिर बनाउने विषयमा सरकारमा सहभागी दलहरुले अझै निर्णय गरिसकेका छैनन् । ८७ सदस्यीय लुम्बिनीमा सरकार जोगाउन ४४ सांसदको समर्थन आवश्यक पर्छ ।
अहिले एमालेका २९, माओवादीका १०, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४/४, लोसपा, जनमत पार्टी र जसपाका ३/३ र नेकपा एकीकृत समाजवादीका १ प्रदेशसभा सदस्य रहेका दल र २ स्वतन्त्र प्रदेशसभा सदस्यले सरकारलाई समर्थन गरेका छन् । लोसपा, नागरिक उन्मुक्ति र एकीकृत समाजवादी पार्टी सरकारलाई समर्थन गरेर पनि सरकार बाहिरै छन् । कांग्रेसका २७, राष्ट्रिय जनमोर्चाका १ प्रदेशसभा सदस्य विपक्षी दलको रुपमा छन् ।
मुख्यमन्त्रीमा गिरी गत पुस २७ गते नियुक्त भएका थिए । माघ ५ गते मुख्यमन्त्री गिरीले प्रदेशसभामा सहभागी १० दलमध्ये ८ दलका सदस्यबाट ५७ जनाको विश्वासको मत प्राप्त गरेका थिए । एक महिनापछि एमालेका ५, माओवादीका तीन, राप्रपा, जनमत र जसपाका १÷१ मन्त्री बनाएका थिए ।








प्रतिक्रिया दिनुहोस्