स्ववियु निर्वाचनः बाँकेमा कतै सहकार्य कही प्रतिस्पर्धा



स्ववियु निर्वाचन हुने जिल्लाका पाँच क्याम्पसमध्ये चारवटामा भोलि स्ववियु निर्वाचन हुँदैछ । चुनाव हुन गइरहेका क्याम्पसहरुमा विद्यार्थी संगठनले कतै सहकार्य र कही एक्लाएक्लै प्रतिस्पर्धा गर्दैछन् ।

कृष्ण ओली । बाँके ।

भोलि हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा विद्यार्थी संगठनबीच बाँकेमा कतै सहकार्य र कही प्रतिस्पर्धा हुने भएको छ । स्ववियु निर्वाचन हुने जिल्लाका पाँच क्याम्पसमध्ये चारवटामा भोलि स्ववियु निर्वाचन हुँदैछ । चुनाव हुन गइरहेका क्याम्पसहरुमा विद्यार्थी संगठनले कतै सहकार्य र कही एक्लाएक्लै प्रतिस्पर्धा गर्दैछन् ।

विभिन्न क्याम्पसमा विद्यार्थी संगठनहरु आफू अनुकूल हुनेगरी गठबन्धन गरेरसमेत चुनावी मैदानमा उत्रिएका छन् । जिल्लामा सबैभन्दा बढी विद्यार्थी रहेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा भने भोलि स्ववियु निर्वाचन हुने छैन । उम्मेदवारी दर्ताको दिन विवाद भएपछि महेन्द्रमा चैत ८ गतेबाट चुनाव हुनेगरी मिति तय गरिएको छ । यहाँ २०६५ सालपछि चैत ८ गते स्ववियु निर्वाचन हुन लागेको छ । २०७३ सालमा विवाद भएपछि यहाँ स्ववियु निर्वाचन हुन सकेको थिएन ।

२०७३ सालमा भएको निर्वाचनमा एमाले निकट अनेरास्ववियुले जितेको कोहलपुरस्थित बागेश्वरी बहुमुखी क्याम्पसमा भोलि निर्वाचन हुँदैछ । पहिला एक्लै चुनाव जितेको अनेरास्ववियुले यसपटक भने नेकपा एकीकृत (समाजवादी) निकट अनेरास्ववियुसँग गठबन्धन गरेको छ ।

अनेरास्ववियुसँगको गठबन्धनबाट देवेन्द्रबहादुर बुढालाई अध्यक्षमा अगाडि सारिएको अनेरास्ववियुका केन्द्रीय सदस्य सुमन घिमिरे जानकारी दिए । ‘आफू अनुकूल हुनेगरी जिल्लाका विभिन्न क्याम्पसहरुमा विद्यार्थी संगठनहरुले गठबन्धन गरेका छन्,’ उनले मिसन टुडेसँग भने, ‘बागेश्वरीमा गठबन्धन गरे पनि अन्य क्याम्पसमा अनेरास्ववियुले अन्य संगठनसँग सहकार्य गरेको छैन ।’

कांग्रेस निकट नेविसंघ र माओवादी निकट अखिल क्रान्तिकारी भने एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् । बागेश्वरीमा नेविसंघबाट टीकाकुमारी शाही र क्रान्तिकारीबाट लक्ष्मण आचार्य (मानव) अध्यक्ष उम्मेदवार रहेका छन् । २०७३ मा भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुले जित हात पारेको नेपालगन्ज नर्सिङ क्याम्पसमा सभापतिमा दुईजनाले उम्मेदवारी दिएका छन् । संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीले दीपिका सोनी, अनेरास्ववियुले एक्लै निलीमा गिरीलाई सभापतिमा अगाडि सारेको छ । क्रान्तिकारीलाई नेविसंघ र अनेरास्ववियुले साथ दिएका छन् ।

कोहलपुरको बागेश्वरीमा अनेरास्ववियुलाई साथ दिएको समाजवादी निकट अनेरास्ववियुले यहाँ भने दिएन । तीन संगठनको संयुक्त प्यानल बनाएर नर्सिङ क्याम्पसमा आफूहरु चुनावमा होमिएको अखिल क्रान्तिकारीका केन्द्रीय सचिव तुलसीमणि केसीले जानकारी दिए । ‘नर्सिङ क्याम्पसमा तीन विद्यार्थी संगठनबीच सहकार्य भएर संयुक्त प्यानल बनाएका छौं,’ उनले मिसन टुडेसँग भने, ‘सोहीअनुसार नै हामी निर्वाचनमा होमीसकेका छौं । हामी चुनाव जित्छौं ।’

खजुरामा रहेको ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पसमा तीन ठूला संगठनहरु एक्लाएक्लै चुनावी मैदानमा छन् । २०७३ सालमा भएको चुनावमा ज्ञानोदयमा नेविसंघले जितेको थियो । अहिलेको निर्वाचनमा नजिता आफ्नो पक्षमा पार्न संगठनहरुले एक्लाएक्लै आफ्ना उम्मेदवार उठाएका छन् । सभापतिमा यहाँ अनेरास्ववियुले विनय यादव, अखिल क्रान्तिकारीले सरिफ खाँ र नेविसंघले हिमाल पंगालीलाई उम्मेदवार बनाएको छ ।

राप्ती नदी पारि क्षेत्रमा रहेको एकमात्र जन सिद्देश्वर बहुमुखी क्याम्पस हब्रहवामा सभापति पदका लागि पाँचजना चुनावी मैदानमा रहेका
छन् । २०७३ सालको निर्वाचनमा नेविसंघले जितको यहाँ अहिले उसले अन्य दुई संगठनसँग गठबन्धन गरेर उम्मेदवार उठाएको छ । अन्य चार संगठनहरुले भने एक्लै उम्मेदवार उठाएका छन् ।

नेविसंघले अनेरास्ववियु र नागरिक विद्यार्थी समाजको सहयोगमा निरा थारुलाई सभापतिमा अगाडि सारेको छ । नेविसंघ बाँकेका सभापति उपेन्द्र विष्टले आवश्यकताको आधारमा अन्य संगठनहरुसँग सहकार्य गरेर अगाडि बढेको बताए । ‘तीन क्याम्पसमा विभिन्न संगठनसँग नेविसंघले सहकार्य गरेको छ,’ उनले भने, ‘सहकार्य भएका स्थानमा सहकार्य र नभएका स्थानमा एक्लै मित्रवत् प्रतिस्पर्धा गरेर अगाडि बढेका छौं ।’

अन्य संगठन अनेरास्ववियुले हस्तबहादुर घर्ती, अखिल क्रान्तिकारीले ईन्द्रबहादुर थारु, अनेरास्ववियु क्रान्तिकारीले लालु थारु र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले बुधिराम थारुलाई सभापतिमा अगाडि सारेका छन् । अखिल क्रान्तिकारीका सचिव तथा लुम्बिनी प्रदेश ईञ्चार्ज सूर्यप्रकाश घर्तीले आफूहरुले उठाएका उम्मेदवारले जित्नेगरी तयारी भएको बताए ।

‘चैत ५ गते हुन गइरहेको जिल्लाका चार क्याम्पसमा क्रान्तिकारीले अघि सारेका उम्मेदवारले जित्छन्,’ उनले मिसन टुडेसँग भने, ‘कतै सहकार्य र कतै प्रतिस्पर्धा गरेर अगाडि बढेका छौं ।’ २०६५ सालमा भएको निर्वाचनमा महेन्द्र बहुमुखी क्याम्पसमा जित हात पारेको अखिल क्रान्तिकारीले पछि निर्णय हुने जनाएको छ । ‘महेन्द्रमा कसैसँग गठबन्धन गर्ने वा नगर्ने भन्ने विषयमा अहिलेसम्म हामी निर्णयमा पुगेका छैनौं,’ घर्तीले भने, ‘उम्मेदवारी दर्ताको दिनसम्म हामी एउटा निर्णयमा पुग्छौं । अहिले छलफल चलिरहेको छ ।’

स्ववियु निर्वाचनलाई लक्षित गरेर विद्यार्थी नेता मात्र नभएर ठूला राजनीतिक दलहरुबाट नेताहरु समेत खटिएका छन् । बाँकेमा स्ववियु निर्वाचन हुन गइरहेका पाँच क्याम्पसमध्ये चारबाट त्रिभुवन विश्वविद्यालय र एक मध्यपश्चिम विश्वविद्यालयअन्तर्गतका क्याम्पस हुन् ।

एमयुका क्याम्पसमा भोलि चुनाव

मध्यपश्चिम विश्वविद्यालय (एमयु) अन्तर्गतका क्याम्पसहरुमा भोलि स्ववियु निर्वाचन हुने भएको छ । यसअघि शुक्रबारका लागि निर्वाचनको मिति तोकिए पनि बिहीबार दिउसो विश्वविद्यालयले स्थगित गर्ने निर्णय गरेको थियो । निर्वाचन स्थगितको चर्को विरोध भएपछि विश्वविद्यालय पछि हटेर शुक्रबार फेरि चैत ५ गते निर्वाचन गर्ने मिति तोकेको हो ।

विश्वविद्यालयका उपकूलपति नन्दबहादुर सिंहले बिहीबार अदालतको आदेश र केही क्याम्पसहरुमा असहज परिस्थिति रहेको उल्लेख गर्दै स्ववियु निर्वाचन स्थगितको सूचना जारी गरेका थिए । विद्यार्थीले विरोध जनाएपछि स्थगित गरेको २४ घण्टा नबित्दै विश्वविद्यालयले निर्वाचनको नयाँ मिति तोक्न बाध्य भएको हो । शुक्रबार नै विश्वविद्यालयले अदालतमा मुद्दा परि स्थगित गरिएकाबाहेकका क्याम्पसहरुमा चैत ५ गते निर्वाचन सम्पन्न गराउन पत्राचार गरिसकेको छ ।

निर्वाचन सम्पन्न गराउन पत्राचार भएसँगै स्ववियु चुनावको मिति तय भएको बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्रमुख दानबहादुर हमालले जानकारी दिए । नयाँ पत्राचार भएसँगै आइतबार हुने निर्वाचनका लागि अन्तिम तयारी थालिएको उनले बताए । ‘बिहीबार स्थगित सूचना आएपछि हामी दोधारमा थियौं । फेरि शुक्रबार चैत ५ मा निर्वाचनको सम्पन्न गराउन पत्राचार भएपछि हामीले तयारी थालिसकेका छौं,’ हमालले भने ।

  • No tags available
प्रकाशित मिति : २०७९ चैत ४ गते शनिबार