26 April 2024  |   शनिबार, बैशाख १५, २०८१

सुरक्षित कोहलपुरका लागि सहकार्य आवश्यक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र २, २०७९  

कोहलपुर पश्चिम नेपालको प्रवेशद्वार मात्र होइन, एउटा उदाउँदै गएको सहर पनि हो । सहरीकरण बढ्दै गएपछि यहाँ विभिन्नखाले अपराधिक गतिविधि पनि बढ्दो मात्रामा छन् । यस्तो अवस्थामा कोहलपुरलाई शान्त र मर्यादित तवरले सुरक्षित राख्नुपर्ने प्रमुख जिम्मेवारी सुरक्षा निकायको हो ।

 

ईलाका प्रहरी कार्यालयमा भर्खरै सुरुवा भएर आएका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीले सुरक्षित कोहलपुर अभियानका लागि सूचकहरु तयार पारेका छन् । जसले कोहलपुरलाई सुरक्षित राख्न मद्दत पुग्ने अपेक्षा गरिएको छ । यसै सन्दर्भमा कसरी कोहलपुरलाई सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा कोहलपुरका विभिन्न व्यक्तिसँग प्रतिक्रिया लिइएको छ । सम्पादन अंश

लक्ष्मणराज पौडेल
अध्यक्ष, कोहलपुर उद्योग वाणिज्य संघ
कोहलपुरमा यो मुद्दा उठ्दै आएको छ । सुरक्षित कोहलपुरको लागि यसअघि पनि धेरैपटक छलफल भइसकेको छ । अघिल्लो स्थानीय सरकारका पालामा सीसीटिभीका लागि आर्थिक संकलन समिति बनेको थियो । यसको संयोजक म नै थिए । हामीलाई दिइएको जिम्मेवारीअनुसार काम गरियो । नयाँ सरकारलाई प्रतिवेदनसमेत बुझाएका थियौं । टेण्डर भएको भन्ने सुनिएको छ । काम भएको देखिएको छ ।

अहिले ईलाका प्रहरी कार्यलयले अग्रसरता लिएको छ । यस विषयमा कोहलपुर उद्योग वाणिज्य संघसँग पनि काम भएको थियो । यसमा हामीले सबैभन्दा पहिलो प्रहरी सुरक्षित हुनुपर्छ भनेका छौँ । अहिले प्रहरीको संरचनासमेत बनिरहेको छ । यसमा उद्योग वाणिज्य संघले समेत सहयोग गरिरहेको छ । यस्तै हामीले जेब्रा क्रसिङ राख्नको लागि समेत सहयोग गरेका छौं । अन्य थुप्रै सहयोग हाम्रो रहेको छ । कोहलपुर सुरक्षित बनाउन सीसीटिभीको विकल्प छैन । यस्तो कुरामा प्रविधिको समेत अधिकतम् प्रयास हुनुपर्छ । सुरक्षित कोहलपुरका लागि सबै मिलेर अघि बढ्नुपर्छ । हाम्रो ठाउँ सुरक्षित भयो भने हामी सुरक्षित हुन्छौँ ।

उर्मिला अधिकारी पाण्डे
महिला अधिकारकर्मी
कोहलपुरमा अहिले पनि महिला सुरक्षित छैनन् । उनीहरु घरदेखि सडकसम्म असुरक्षित छन् । बिहान ‘मोर्निङ वाक’ मा हिँड्दा होस् या राति एक्लै बाटोमा हिँड्दा उनीहरु सुरक्षित छैनन् । वन जंगलमा समेत महिलाहरुले सुरक्षाको महसुस गर्न पाएका छैनन् । त्यसैले उनीहरुको सुरक्षाको अहिलेको प्रमुख आवश्यकता हो । अर्कातिर महिलामाथि हुने हिंसा रोकिन सकेको छैन । न्यायिक प्रक्रियामा सुरक्षा निकायको असहयोगदेखि राजनीतिक दबाबसमेत रहेको छ । त्यसैले यस्ता कुरामा सुरक्षित कोहलपुर अभियानमा समेटिन जरुरी छ । महिलामाथि हिंसा भयो भने हामीसँग आउँछन् ।

अब राज्यका निकायहरुलाई महिलामैत्री बनाउन आवश्यक छ । वडा कार्यालय, न्यायिक समिति र प्रहरी कार्यालयलाई महिलामैत्री बनाउन जरुरी छ । यसमा सबै सरोकारवालाहरुको भूमिका अहम छ । यसमा महिला स्वयम् पनि जागरुक हुन जरुरी देख्छुँ । सुुरक्षित कोहलपुर अभियान राम्रो छ । यसको निरन्तरता होस् । महिलाले न्यायको अनुभूति गर्न सकून् । महिला र प्रहरीबीच राम्रो सम्बन्ध स्थापित होस् । यसमा महिला अधिकार पनि जोडिन आवश्यक छ ।

वीरबहादुर थापा
नगर प्रहरी प्रमुख, नगर प्रहरी कोहलपुर
सुरक्षित कोहलपुर अभियान साझा अभियान हो । यस अभियानमा कोहलपुर नगरपालिका र नगर प्रहरी कोहलपुरको समेत प्रत्यक्ष भूमिका छ । जिडिटल कोहलपुर बनाउने हाम्रो अभियानलाई सघाउ पु¥याउने अभियान सुरु भएको छ । यसमा स्थानीय सरकारको तर्फबाट गर्नुपर्ने सहयोग नगर प्रहरीले गर्छ । कोहलपुर प्रहरी र नगर प्रहरी यसमा समन्वयात्मकरुपमा अघि बढ्ने म प्रतिबद्धता व्यक्त गर्न चाहन्छुँ । यसमा हाम्रो काम यस्ता अभियानमा समन्वय गर्ने रहन्छ । सुरक्षित कोहलपुरको लागि विभिन्न सूचकसमेत तयार गरिएको छ । यसमा विभिन्न कारण छन् ।

यस्ता कुरामा अभियान फोकस हुनुपर्छ । अहिलेको सबैभन्दा ठूलो समस्याको रुपमा रहेको सवारी दुर्घटना र यसबाट हुने थप जोखिम न्यूनीकरणमा ध्यान दिनुपर्छ र लागु औषधको दलदल रोक्न अभियानले चासो दिनेछ । लागुऔषध सेवनविरुद्धको अभियान हामीले पनि थालेका छौँ । अहिले विद्यालयमा अभिमुखीकरण भइरहेको छ । चोरी सिकारी पनि यहाँको समस्या हो । अभियानमा यसमा पनि केन्द्रित होस् । बलात्कार, महिला हिंसा, मानव वेचविखनलगायतका विषयमा सुरक्षित कोहलपुर अभिया केन्द्रित हुनुपर्छ ।

लालबहादुर खड्का
युवा
सुरक्षित कोहलपुर अभियान सुरु भएको सुन्दा मलाई खुसी लाग्यो । कोहलपुर एउटा ठाउँ मात्रै होइन । यो बाँके जिल्लाको उदाउँदो सहर हो । यसलाई हरेक हिसाबले सुरक्षित बनाउन आवश्यक छ । त्यसको लागि हामी सबै एकजुट हुन जरुरी छ । म व्यवसायसँगै राजनीतिमा समेत आबद्ध छुँ । यो अभियानलाई राजनीतिक युवाबाट कस्तो सहयोग चाहिन्छ । ईलाका प्रहरी कार्यालयले सहकार्य गर्न चाहेको खण्डमा हामी तयार छौँ ।

यो अभियानमा हाम्रो समर्थन रहनेछ । सुरक्षित कोहलपुर अभियानमा व्यक्तिगतरुपमा पनि म साथ दिने प्रतिबद्धता व्यक्त गर्न चाहन्छुँ । अर्को कुरा पछिल्लो समय युवा पुस्ता विभिन्न लतमा फस्दै गएको देखिन्छ । लागुऔषध दुव्र्यसनलगायतका समस्यालाई प्रहरीले गम्भीरताका साथ लिनुपर्छ । नागरिकको सुरक्षा अहिलेको आवश्यकता हो । यतिमात्रै होइन बेरोजगारीका कारण यस्तो समस्या देखिएको छ । यस्ता कुरामा समेत ध्यान दिनुपर्छ ।

विक्रम शिशिर
सुरक्षित कोहलपुर बनाउने विभिन्न आयाम छन् । सबैभन्दा पहिला यसलाई एउटा शसक्त अभियानको रुपमा लैजानुपर्छ । जनचेतनाका माध्यमबाट पनि सुरक्षित कोहलपुर अभियानको प्रचारप्रसार गर्न सकिन्छ । यसमा संगठित र व्यक्तिगत स्तरमा अभियानलाई लैजानुपर्छ । मेरो कुरा गर्नुहुन्छ भने म पेन्टर हो । म विभिन्न सवारी साधनमा पेन्ट गर्छुँ यतिमात्रै होइन म चित्रसमेत बनाउने गर्छुँ । यो मेरो व्यवसायभन्दा पनि सौख हो । यो अभियानलाई सफल बनाउन मैले गर्नुपर्ने भूमिका खेल्न म तयार छुँ । यो अभियानलाई साहित्यसँग पनि जोड्नुपर्छ ।

साहित्यका विभिन्न विधामार्फत यसलाई अघि बढाउन सकिन्छ । त्यसको लागि प्रहरीले यहाँ रहेको साहित्यप्रेमी तथा संघ संगठनहरुसँग समन्वय गरोस् भन्ने मेरो धारणा छ । सुरक्षाको प्रमुख सूचक नै यातायात क्षेत्र भएको यसलाई यातायात व्यवसायीसम्म पनि लैजान जरुरी देखिन्छ । यातायात पनि सुरक्षाको मेरुदण्ड हो । यसलाई जोड्नैपर्छ । यस्ता विषयलाई क्यानभासमा पु¥याउन सकिन्छ । चित्रकला, हस्तकला र साहित्यका माध्यमबाट समेत प्रमोसन गर्नुपर्छ ।

बद्रिप्रसाद जैशी
वडाध्यक्ष, कोहलपुर–१
वडा नम्बर १ ले ईलाका प्रहरी कार्यालयमा सरुवा भएर आउने प्रमुखलाई स्वागत गर्ने गरेको छ । यो वडा नम्बर १ को चलन नै हो । यो अभियान २०७४ सालदेखि नै सुरु भएको हो । पहिलाका वडाध्यक्षज्यूले सुरु गर्नु भएको हो । यसलाई हामीले पनि निरन्तरता दिएका छौं । ईलाका प्रहरी कार्यालयमा नयाँ आउनु भएका प्रमुखलाई वडा नम्बर १ ले स्वागत गरिसकेको छ । सो अवसरमा जनताको सुरक्षाका लागि गरेको कामका र योजनाका विषयमा जानकारी गराएका छौं ।

अहिले उहाँले नै सुरक्षित कोहलपुर अभियान सुरु गर्नु भएको छ । यसमा वडा नम्बर १ को तर्फबाट धन्यवाद दिन चाहन्छुँ । यो अभियानमा हाम्रो पनि पूर्ण साथ र सर्मथन छ । हाम्रो वडामा पनि लागुऔषध, चोरी, हिंसालगायतका समस्या व्याप्त छन् । यी समस्या समाधानको लागि वडाले नीति नै लिएको छ । कुनै पनि व्यक्तिले गरेको अपराधमा कसैले पनि पक्षपोषण नगर्ने । सुरक्षित कोहलपुर अभियान हामी सबैको अभियान हो । अभियान सफल बनाउन र जनता, वडा र प्रहरीबीच समन्वय हुन आवश्यक छ ।

दिलबहादुर परियार
दलित अधिकारकर्मी
कुनै पनि अभियान सुरु हुनु आफैँमा राम्रो कुरा हो । यसमा सबैभन्दा पहिला समस्या पहिचान गर्न जरुरी छ । यसका विषयमा सरोकारलावा निकायसँग अन्तरक्रिया आवश्यक छ । यस्ता अभियान सुरु गर्दा पूर्वतयारी गरेर अघि बढ्नुपर्छ । जनता, सरोकारवाला र राज्य पक्षको साझेदारीमा अघि बढ्यो भने अभियान सफल हुने हो । होइन भने सस्तो लोकप्रियताका लागि अभियानलाई सञ्चालन गर्नुहुन्न भन्ने मान्यता मेरो छ । आपसी सहयोग, समन्वय र साझेदारी हुन आवश्यक छ । हाम्रो समाजमा जातीय विभेद् अहिले पनि गम्भीर समस्याका रुपमा छ ।

अहिले पनि दलित तथा सीमान्तकृत समुदायले विभिन्न समस्या भोगिरहेको अवस्था छ । यतिमात्रै होइन अन्तरजातीय विवाहमा समेत दलित समुदायका प्रतिनिधिले समस्या भोगिरहेको अवस्था छ । प्रहरी कतिपय अवस्थामा सत्ता र शक्तिका पछि लागेर यर्थाथको धरातलसम्म नपुगेको हामीले महसुस गर्दै आएका छौं । बलात्कार, विभेद् र कुटपिट जस्ता घटनामा उजुरी नै दर्ता गर्न नमान्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ । यस्तै बेरोजगारी प्रमुख समस्याका रुपमा छ । कार्ययोजनासहित अघि बढ्नुपर्छ ।

निमबहादुर चलाउने
व्यवसायी
म कोहलपुर नगरपालिकाको निवर्तमान जनप्रतिनिधि हुँ । राजननीतिककर्मी र व्यवसायीसमेत हुँ । तपाईले भनेपछि अभियानका विषयमा जानकारी पाए । नत्र व्यक्तिगत रुपमा म यो अभियानको विषयमा अनविज्ञ छु । म सावद्ध संस्थासँग पनि कुनै किसिमको कुराकानी भएको छैन । जहाँसम्म सुरक्षित कोहलपुर अभियानको कुरा छ, यो अभियान सफल होस् भन्न चाहन्छुँ । अभियानले यातायात क्षेत्र पनि जोड्छ होला । अहिले सबैभन्दा सुरक्षा गर्नुपर्ने क्षेत्र नै यातायात हो । राज्यको गलत नीति र आर्थिक मन्दीको मारमा हामी छौं । हाम्रो समस्या समाधानको विकल्प छैन ।

व्यवसायबाट पलायन हुने अवस्था आएको छ । कोहलपुर क्षेत्रका व्यवसायीहरुसँग सल्लाह र समन्वय भयो भने हामी सहकार्यका लागि सधै तयार छौं । हामीले यो अभियानलाई कसरी सघाउनुपर्छ हामी सकारात्मक छौं । पेसागत सुरक्षा अहिलेको आवश्यकता हो । हामीप्रति राज्य अनुदार छ । यसमा राज्यले व्यावसायिक क्षेत्रको विकासका लागि नीति बनाउनुपर्छ । हाम्रोतर्फ बाट हुने सहयोग हामी गर्छौं । जहाँसम्म लाग्छ, सुरक्षित कोहलपुर हामी सबै मिलेर गयौं भने बन्न सक्छ ।

भरत पनेरु
युवा
कोहलपुरमा थुप्रै सम्भावना छन् । त्यतिकै मात्रामा जोखिम पनि छन् । डर र त्रास र असुरक्षाको वातावरणसमेत छ । त्यसैले सबैभन्दा पहिला आमनागरिकको सुरक्षा पहिलो शर्त हो । यहाँ दिउसै चोरी र डकैतीका घटना घट्छन् । अँध्यारोमा हिँड्ने वातावरण छैन । कोहलपुर प्रहरीलाई मेरो आग्रह छ, सबैभन्दा पहिला जनतालाई सुरक्षा दिनुहोस् । व्यावसायिक सुरक्षाका साथै सामाजिकरुपमा पनि मानिसले सुरक्षाको अनुभूति गर्न पाउन् ।

त्यसको वातावरण सिर्जना गर्नुहोस् । यहाँ हुने गरेका ठगी रोक्नुहोस् । सुरक्षित कोहलपुरका लागि तपाईंका योजना र कार्यक्रम के–के हुन् । छलफल गरौं । म यो देशको एक सचेत नागरिक हुँ । मैले मेरोतर्फबाट कस्तो सहयोग गर्नुपर्छ तयार छुँ । राजनीतिक युवासमेत भएकोले राजनीतिकरुपमा दलको तर्फबाट हामीले के गर्नुपर्ने हो । राजनीतिक नजोडिएको क्षेत्र छैन । सबै कुरामा राजनीति आवश्यक छैन भन्ने हाम्रो मान्यता छ । सुरक्षा निकायले सहयोग खोजेमा हामी पछि हट्ने कुरा हुँदैन । त्यसको लागि हामीसँग समन्वय आवश्यक छ ।

नवकिरण शाह
सुरक्षित कोहलपुरको लागि यहाँका युवाहरुको भूमिका महŒवपूर्ण छ । यो अभियानको फ्रन्टलाइनमा युवा हुनुपर्छ । युवा समाज विकासका मेरुदण्ड हुन् । उनीहरुलाई समाज परिवर्तनको संवाहकको रुपमा हामीले परिचालन गर्न सक्नुपर्छ । राज्यले सबैभन्दा पहिला युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । रोजगारी सिर्जना गर्नु भनेको युवालाई सुरक्षित बनाउनु हो । युवाहरु रोजगार भए, उनीहरु काममा व्यस्त भएभने समाजमा हुने गरेको आधा समस्या निराकरण हुन्छ । अहिले सवारी दुर्घटना भइरहेको छ । यसमा युवा जोडिएका छन् ।

लागुऔषध दुव्यर्सनमा युवाहरु छन् । चौरी डकैती हुन्छ । युवाहरु नै देखिन्छन् । त्यसैले सबैभन्दा पहिला युवा आफैँ जिम्मेवार नागरिकका रुपमा प्रस्तुत हुनुपर्छ । उनीहरु सचेत हुन आवश्यक छ । अनि मात्र हामीले समाजलाई नयाँ कुरा दिन सक्छौं । सामाजिकरुपमा हाम्रो भूमिका अहम भएकोले यस्ता कुरामा ध्यान दिन जरुरी छ । युवा नै हो समाजको मार्ग निर्देश गर्ने । देशको नेतृत्व गर्ने र समाज विकासका लागि भूमिका खेल्ने । म सम्पूर्ण कोहलपुरका युवाहरुलाई यस्तो अभियानमा सहभागी हुन आह्वान गर्दछुँ ।

 

प्रकाशित मितिः बिहिबार, चैत्र २, २०७९     10:43:28 AM  |