नेपालगन्ज ।
नेपालगन्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले नगरवासीहरुले खोप नलगाउने र औषधि सेवन नगर्नुको कारण पत्ता लगाउन घरदैलो सर्वेक्षण गर्ने भएको छ ।
कोभिड–१९, दादुराविरुद्धको खोप, विभिन्न नियमित खोप तथा हात्तीपाइलेलगायत अन्य औषधि सेवनमा उपमहानगरपालिका जिल्लाका अन्य पालिकाभन्दा निकै पछाडि रहेको पाइएपछि सर्वेक्षण गर्न लागिएको महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले जानकारी दिए ।
सर्वेक्षणले खोप लगाए, नलगाएको बुझ्न र खोप लगाएका छैनन् भने लगाउन तथा नलगाउनुभएको कारण पत्ता लगाउन सघाउने उनले बताए । बस्नेतले १६ महिनादेखि ५९ महिनाका बालबालिकाले खोप लगाएको नलगाएको सर्वेक्षणका साथै खोप लगाउने अभियानसँगै अघि बढाउने जानकारी दिए ।
अब उपमहानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणाका पनि सर्वेक्षणले सघाउने उनले बताए ।
नेपालगन्जलाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिए पनि केही महिनाअघि दादुरा महामारीकै रुपमा फैलिएको थियो । यसका साथै हात्तीपाइलेविरुद्धको औषधि सेवन पनि लक्ष्यअनुसार नभएको पाइएको छ ।








प्रतिक्रिया दिनुहोस्