शुभाकर विश्वकर्मा । कोहलपुर ।
कोहलपुर नगर क्षेत्रको अपराधिक गतिविधि नियन्त्रण र न्यूनीकरणका लागि योजना निर्माण गरिएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरले सुरक्षित कोहलपुरका लागि अपराधहरुको प्राथमिकीकरण गर्दैै योजना तयार गरेको हो । जसका लागि सुरक्षित र अपराधरहीत कोहलपुरका लागि विभिन्न ६ वटा उच्च अपराधको प्राथमिकीकरण गरिएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीका अनुसार सुरक्षित कोहलपुरका लागि सूचकहरु अघि सारिएको छ । कोहलपुर प्रहरी अब मिसन र भिजनसहित सरोकारवालाहरुको समन्वयमा अपराधको प्राथमिकीकरण र अपराधिक गतिविधि नियन्त्रण तथा न्यूनीकरणका लागि योजना अघि सारेको उनको भनाइ छ ।
कोहलपुर प्रहरीका अनुसार यहाँको मुख्य समस्या लागुऔषध दुव्र्यसन हो । लागुऔषध दुव्यर्सन तथा ओसारपोसार रोक्न समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना फैलाउने, आपूर्ति रोक्ने, सेवनकर्तालाई मनोसामाजिक परामर्श र लागुऔषधविरुद्ध सचेतना फैलाउने कार्यक्रम गर्ने योजना छ ।
दोस्रो ठूलो समस्याको रुपमा सवारी दुर्घटना रहेको कोहलपुर प्रहरीको निष्कर्ष छ । दुर्घटना न्यूनीकरणका लागि सडक सुरक्षा योजना, सडक सुरक्षा सचेतना र योजनबद्ध ट्राफिक चेकिङ र मादक पदार्थ सेवन (मापसे) चेकिङलाई प्राथमिकता दिइएको तिवारी बताउँछन् ।
आत्महत्या, सवारी दुर्घटना, चोरी तथा चोरी निकासी, साइबर अपराध लागुऔषध दुव्यर्सन तथा ओसारपोसार र महिला तथा बालबालिकाविरुद्ध अपराधलाई मुख्य अपराध सूचकका रुपमा वर्गीकरण गरिएको छ ।
समस्या मात्रै होइन समस्या समाधानका उपायसमेत सुरक्षित कोहलपुर अभियानमा समावेश छ । कोहलपुर प्रहरीको सुरक्षित कोहलपुर र अपराधिक गतिविधि नियन्त्रण र न्यूनीकरणका लागि गरिने क्रियाकलापसमेत उल्लेख गरिएको छ । यहाँको तेस्रो समस्याको रुपमा आत्महत्या रहेको उनले बताए । आत्महत्या रोकथामका लागि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि विशेष अभियान सञ्चालन गर्ने प्रहरीको योजना रहेको छ । आत्महत्या न्यूनीकरणका लागि पनि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतनालाई महŒव दिइएको छ ।
यसैगरी महिला तथा बालबालिकाविरुद्ध अपराधलाई मुख्य प्राथमिकता दिएको प्रहरीले त्यसका लागि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना र शून्य सहनशीलता अपनाउने जनाएको छ । चोरी तथा चोरी निकासी नियन्त्रणका लागि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना र चोरी निकासमा संलग्न उपर कारबाहीलाई प्राथमिकता दिइएको छ । यस्तै साइबर अपराध न्यूनीकरणका लागि समुदाय प्रहरी साझेदारीअन्तर्गत सचेतना र सामाजिक सञ्जाल प्रयोगमा सचेतना बढाउने रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
यस्तै सुरक्षित कोहलपुरको लागि सातवटा सूचकमा काम सुरु भएको उनले बताए । यसलाई अभियान कैरुपमा लागु गरिने उनले बताएका छन् । पहिलो सूचकको रुपमा प्रहरी र जनताको अनुपातको विश्लेषण गरिएको छ । अहिले ईलाका प्रहरी कार्यालयमा कार्यरत जनशक्तिले यस क्षेत्रका नौ सय ५१ जनालाई सुरक्षा दिनुपर्ने अवस्था रहेको तिवारीको भनाइ छ ।
दोस्रो नम्बरमा प्रहरी र जनताको सम्बन्ध जनसंख्या र अपराधिक घटनालाई न्यूनीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ । ‘अहिले हिरासतमा धेरै व्यक्ति छन् । उनीहरु विभिन्न अपराधमा मुछिएका छन् । अहिले हाम्रोमा रहेको संख्याको अनुपात धेरै छ । यसरी हेर्दा यो क्षेत्र अपराधको प्रमुख स्थल बन्दै गएको देखिन्छ । यो रोक्ने अभियान हो,’ उनले भने ।
यस्तै सुरक्षा जनशक्ति, जनताको सचेतनाको अवस्था, प्रहरीहरुको संरचना र स्रोत साधनको उपलब्धतालाई पनि ध्यान दिइएको उनले बताए । अपराध न्यूनीकरण र सुरक्षित कोहलपुरअन्तर्गत कोहलपुरलाई सीसीटिभी कार्यक्रम अघि सारिएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्