विश्व खाद्यको चामल ४३ दिनदेखि नेपालगन्ज भन्सारमै



नेपालगन्ज ।

विश्व खाद्य कार्यक्रमको गुणस्तरहीन प्रमाणित भएको चामल अझै नेपालगन्ज भन्सारमै रोकिएको छ । जमुनाह नाकाबाट भिœयाउन लागेको ५४ हजार किलो चामल गुणस्तरहीन भएको भन्दै नेपालगन्ज भन्सार कार्यालयले रोकेको उक्त चामलसहितका तीनवटा कन्टेनर अझै भन्सारको यार्डमै रहेका छन् ।

नियमानुसार चामलको गुणस्तर चेकजाँचका लागि चामलको नमुना परीक्षणपछि खाद्य आयातनिर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगन्जले उक्त चामल भिजेको, गन्धसमेत आएको र खान अयोग्य रहेको प्रतिवेदन दिएपछि माघ १५ गते नाकामा आइपुरेको चामल भन्सारले रोकेको हो । तर, विश्व खाद्य कार्यक्रमले चामल फिर्ता पनि लिएको छैन भने चालकहरुको बास ट्रकमै हुन पुगेको छ ।

समुद्री मार्ग हुँदै इटलीबाट ल्याइएको उक्त चामल भारतको कलकत्ताबाट डब्लूबी ०३डीओ१०७, डब्लूबी११सी ५९६० र एनएल०१एडी ७१०५ नम्बरका तीनवटा भारतीय कन्टेनरमा नेपालगन्जसम्म ल्याइएको हो । उक्त चामल कर्णाली र सुदूरपश्चिमका विद्यालयमा बालबालिकालाई दिवा खाजा खुवाउनका लागि ल्याउन लागिएको बताइएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका प्रमुख नरबहादुर थापाले उक्त चामल अब कि फिर्ता लिनुपर्ने, कि नष्ट गर्नुपर्ने कि त अदालतबाट कुनै आदेश लिएर आएमा मात्रै छोड्न मिल्ने बताए । अहिलेसम्म आयातकर्ताले यी कुनै पनि प्रक्रियाका लागि सम्पर्कमा नआएको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७९ फागुन ३० गते मंगलबार