मिसन संवाददाता,नेपालगन्ज
‘पछिल्लो समय देखिएका केही समस्याहरुका कारण सहकारी अभियान तहसनहस हुने आभाष भइरहेको छ,’ जिल्ला सहकारी संघ बाँकेले आइतबार नेपालगन्जमा आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा संघकी उपाध्यक्ष मीना सिग्देलले भनिन् । सहकारी संघले आर्थिक मन्दीका कारण पछिल्लो समय केही सहकारीहरुले बचतकर्ताहरुको बचत फिर्ता गर्न नसकेको, ऋण फिर्ता नगर्ने, सहकारीका सञ्चालक र व्यवस्थापकलाई कालोमोसो दल्ने भनेर केही समूहले दिइरहेका धम्कीबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा सहभागी सहकारीकर्मी र सरोकारवालाहरुले पछिल्लो समय सहकारीमा अनेक समस्याहरु देखिएका र तीनको समाधानमा केन्द्रित हुनुपर्नेमा जोड दिए । अधिकांश वक्ताहरुले केही सहकारीका कारण समग्र सहकारी अभियान नै बदनाम हुने अवस्था आएको बताए । उनीहरुले स्वनियमनमा चल्नुपर्ने सहकारीहरुमा विकृति बढ्दै गएको पनि बताए । सबैको निक्र्यौल थियो, सहकारी अभियानलाई अहिलेको संकटबाट पार लगाउन सबैले प्रयास गर्नुपर्छ ।
कार्यक्रममा सहभागीहरुले पछिल्लो समय सहकारीहरु समस्यामा पर्नुका कारण र समाधानबारे धारणा राखेका थिए । उनीहरुले आर्थिक मन्दीको प्रभाव, कर्जा तिर्नुपर्छ भन्ने भावनाको कमी, सहकारी संस्थाको पहिचान नगरी सदस्य बन्ने प्रवृत्ति, सहकारीले उद्देश्यअनुसारका व्यावसायिक कारोबार सञ्चालन नगरेको लगायतका कारण सहकारी अभियान समस्यामा परेको बताए । यसैगरी, सहकारीहरुले घुमाउरो बाटोबाट सदस्यहरुलाई रकम बाँड्ने प्रवृत्ति, संस्थामा रहेका कोषहरु उद्देश्यअनुरूप प्रयोग नगरिनु, अधिकांश संस्थामा सदस्य शिक्षा तथा तालिमको व्यवस्था अत्यन्त कमजोर र प्रभावहिन हुनुजस्ता कारण पनि सहकारी समस्यामा परेका उनीहरुको भनाइ थियो । सहभागीहरुले सहकारी शिक्षा र तालिमको उचित व्यवस्था गर्नुपर्ने, दीर्घकालीन पुँजीको खोजी गर्नुपर्ने, ब्याजको मापदण्ड निर्धारण गर्नुपर्नेमा जोड दिए ।
यसैगरी सहभागीहरुले सहकारीहरु एकीकरणको मोडेलमा अघि बढ्नुपर्ने आवश्यकता पनि औँल्याएका छन् । उनीहरुले स्थानीय तहका सहकारी शाखाहरु क्रियाशिल बन्नुपर्ने र नियमनको कामलाई प्राथमिकतामा राख्नुपर्ने पनि बताए । नेपालगन्ज, खजुरा र जानकी गाउँपालिकाका सहकारी शाखा प्रमुखहरुले बजेट अभाव, सहकारीहरुको निष्क्रियता र अधिकांश सहकारीहरुले ऐनको पालना नगर्नु मुख्य समस्या रहेकोमा जोड दिएका थिए ।
जिल्ला सहकारी संघ एवम् सहकारी संघ लुम्बिनी प्रदेशका अध्यक्ष प्रेम सुवेदीले कार्यक्रममा बाँकेमा सहकारीको समग्र अवस्थाका बारेमा प्रस्तुतिकरण दिएका थिए । उनले जिल्लामा रहेका चार सय नौ सहकारीमध्ये तीन सय ८९ सहकारी संघमा आबद्ध रहेका जानकारी दिए । तीमध्ये एक सय ६९ कृषि, ८० बहुउद्देश्यीय, ७७ बचत तथा ऋण र ५७ वटा अन्य सहकारीहरु रहेका जानकारी दिए ।
जिल्लाका सहकारीहरुमा अहिले तीन अर्बभन्दा बढी निक्षेप रहेको उनले जानकारी दिए । सहकारीहरुले एक हजार नौ सय ४५ जनालाई प्रत्यक्ष रोजगारी दिएका र बीउबिजन, राइस मिल, बाख्रा पालन, अचार उत्पादन, अस्पताल, सामूहिक बजारजस्ता उदाहरणीय कामहरु पनि सहकारीमार्फत भएका उनले बताए । तर, केही सहकारीहरुका कारण र अन्य बाह्य कारण सहकारीप्रति नकारात्मक धारणको विकास हुँदै गएको उनले बताए । कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक विजया धिताल, नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीलगायतको पनि सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्