24 March 2023  |   शुक्रबार, चैत्र १०, २०७९

उपमेयर राईविरुद्ध पक्राउ पुर्जी प्रकरण :३८ दिनसम्म पनि पक्राउ परेनन् उपमेयर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, फाल्गुन २९, २०७९  

मिसन संवाददाता,नेपालगन्ज
नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर कमरुद्दीन राईविरुद्ध बाँके जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको ३८ दिन भइसक्दा पनि बाँके प्रहरीले उनलाई पक्राउ गरेको छैन । राजनीतिक संरक्षण हुँदा आरोपित राईलाई पक्राउ गर्न प्रहरीले कठिन भएको आरोप लागेको छ ।


कानुन व्यवसायीका अनुसार प्रहरीले पक्राउ पुर्जी लिइसकेपछि यथाशीघ्र आरोपितलाई पक्राउ गर्नुपर्छ । त्यसपछि अदालतमा उपस्थित गराएर अदालतले थुनामा राखेर अनुसन्धान गर्ने कि छोड्ने भन्नेबारेमा निर्णय दिने उनीहरु बताउँछन् । तर, यति दिनभित्रै पक्राउ गर्नुपर्छ भनेर तोकिएको व्यवस्था नभएको उनीहरु बताउँछन् । अधिवक्ता विश्वजित तिवारी भन्छन्, ‘पक्राउ पुर्जी प्रहरी आफैँले पक्राउ गर्न पाउँ भनी अदालतबाट लिने हो । पक्राउ पुर्जी जारी गरिसकेपछि प्रहरीले पक्राउ गर्दिन भन्न मिल्दैन । यथाशीघ्र पक्राउ गरेर अदालतमा उपस्थित गराउनुपर्छ ।’ अर्का अधिवक्ता वसन्त गौतमले पनि यति दिनभित्रै पक्राउ गर्नुपर्छ भन्ने समयसीमा नतोकिए पनि पक्राउ पुर्जी लिइसकेपछि प्रहरीले आरोपितलाई पक्राउ गर्नुपर्ने बताउँछन् ।

‘अदालतबाट पक्राउ पुर्जी लिएपछि त पक्राउ नै गर्ने हो नि,’ उनले भने ।
अदालतले पक्राउ पुर्जी जारी गरिसकेपछि अनुसन्धान अधिकृत नै खटाएर अनुसन्धान गरिरहेको बाँके प्रहरी बताउँछ । बाँके प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठौरले प्रहरी निरीक्षक चक्र डम्मरपाललाई अनुसन्धान अधिकृत नै खटाएर उक्त विषयमा अनुसन्धान गरिरहेको बताए । उनले अनुसन्धान अधिकृतले आफ्नो अनुसन्धान गरिसकेपछि पक्राउ गर्ने निर्णय लिने उनी बताउँछन् । ‘अनुसन्धानमा रहेको विषयमा हामीले धेरै कुरा बोल्न मिल्दैन । अहिले हामी अनुसन्धानको क्रममै छौँ । यतिमात्रै भन्न सक्छौँ,’ उनले भने ।

उपमेयर राईविरुद्ध पूर्वमन्त्रीसमेत रहेका सर्वदेव ओझाले आफ्नी श्रीमतिको नाममा सञ्चालित एक फर्मको भन्सार क्लियरिङ एजेन्ट रहेको बेला सामानहरुमा ठगी भएको भन्दै अदालतमा दायर मुद्दाको वयानका क्रममा बुझाएका विवरणहरुमा राईले व्यक्तिगत विवरण फरक पारेर झुक्याएको विषयमा गरेको उजुरीमा बाँके जिल्ला अदालतले माघ १८ गते पक्राउ पुर्जी जारी गरेको थियो ।

उक्त जाहेरीमा मनीषा एग्री कन्सर्न नेपालगन्जको भन्सार क्लियरिङ एजेन्ट रहेका राईले अरु दुईजनासँग मिली ठगी गरेको विषयमा परेको मुद्दाको वयानका क्रममा दिएका विवरणमा कम्पनीमा काम गर्दा सत्यतथ्य विवरण भनेर बुझाएकोभन्दा बाबुको नाम र वडा नम्बर फरक पारी झुक्याएको उल्लेख छ । राई भने ती आरोप अस्वीकार गर्दै आएका छन् ।

सन्तोषसिंह राठौर
एसपी, बाँके
अदालतले पक्राउ पुर्जी जारी गरिसकेपछि अनुसन्धान अधिकृत नै खटाएर अनुसन्धान भइरहेको छ । अनुसन्धान अधिकृतले अनुसन्धान गरिसकेपछि पक्राउ गर्ने निर्णय लिन्छौं ।

विश्वजित तिवारी
अधिवक्ता, बाँके
पक्राउ पुर्जी प्रहरी आफैँले पक्राउ गर्न पाउँ भनी अदालतबाट लिने हो । पक्राउ पुर्जी जारी गरिसकेपछि प्रहरीले पक्राउ गर्दिन भन्न मिल्दैन ।

वसन्त गौतम
अधिवक्ता, बाँके
यति दिनभित्रै पक्राउ गर्नुपर्छ भन्ने समयसीमा नतोकिए पनि पक्राउ पुर्जी लिइसकेपछि प्रहरीले आरोपितलाई पक्राउ गर्नुपर्छ । पक्राउ पुर्जी लिएपछि त पक्राउ नै गर्ने हो नि ।

प्रकाशित मितिः सोमवार, फाल्गुन २९, २०७९     9:34:04 AM  |