सुदीप अधिकारी,बर्दिया
ठाकुरबाबा नगरपालिकाले बेरोजगारहरुका लागि एक दिने रोजगार मेला आयोजना गरेको छ । पालिकाले आफनो छैठौँ स्थापना दिवसका अवसरमा शनिबार रोजगार मेलाको आयोजना गरेको हो ।
रोजगारीको खोजीमा रहेका युवा जनशक्ति र रोजगारदातालाई एकै स्थानमा सहभागी गराई आ–आफनो आवश्यकता अनुसारको जनशक्ति खोज्न र रोज्न सहयोग पु¥याउनका लागि रोजगार मेला कार्यक्रम आयोजना गरेको ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख तिलकराम लम्सालले जानकारी बताए ।
समृद्ध नेपाल, सुखी नेपाली र ५ लाख युवालाई रोजगारी उपलब्ध गराउने सरकारको लक्ष्यलाई सहयोग पु¥याउने उद्देश्यसहित मेला आयोजना गरिएको हो । ‘समुन्नत ठाकुरबाबा, सबल नगरबासी’ नारासहित नगरभित्रका जनशक्तिलई स्थानीय उद्योग, व्यवसाय, बैँकिङ, पर्यटन, होटल व्यवसायलगायतका क्षेत्रमा रोजगार उपलब्ध गराउन रोजगार मेला सहयोगी हुने नगरप्रमुख लम्सालले बताए ।
श्रमशक्तिलाई गुणस्तरीय बनाउँदै श्रमिकहरुको सीप र क्षमता अभिवृद्धि गर्दै युवाहरुका कामलाई सम्मान गर्ने संस्कृतिको विकास गर्न तथा श्रम बजारमा उनीहरुको माग र सम्मान वृद्धि गर्नका लागि स्थानीय बेरोजगार युवाहरुलाई सीप सिक्न अभिप्रेरित गर्ने, रोजगारीका अवसर सिर्जना गर्ने र रोजगारीकै लागि युवाशक्तिलाई विदेशिनु पर्ने बाध्यताको अन्त्य गर्ने मेलाको उद्देश्य रहेको पालिकाले जनाएको छ ।
रोजगार मेलामा २९ वटा जानकारी मुलक स्टलहरु राखिएका थिए । मेलामा कृषि, पर्यटन, उद्योग, व्यापार, सूचना प्रविधि,घरेलु उद्योग, सहकारी र सामुदायिक विद्यालयले आ–आफनो सूचना मूलक स्टल राखेका थिए ।
रोजगार मेलामा वृद्धि विकास सम्बन्धि परामर्श सेवा, सीपमुलक तालिम दिने संस्थाहरुको प्रदर्शनी, तालिमबारे जानकारी गराइएको थियो । रोजगार मेलाबाट विद्यार्थीहरु तथा युवाहरुले वृत्ति परामर्श सेवा, बेरोजगार युवाहरुले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारीका अवसर, उद्योग तथा व्यवसायीहरुले उपलब्ध जनशक्तिबारे जानकारी, बेरोजगार युवाहरुले स्थानीय स्तरमा रहेका उद्योग तथा व्यवसायसँग उपलब्ध विभिन्न रोजगारीका अवसरहरुबारे जानकारी पाउनुका साथै तालिम प्रदायक संस्थाबाट प्रदान गरिने सीपमुलक तालिम र अवसरका बारेमा जानकारी प्राप्त गरेको नगर उपप्रमुख विनाकुमारी भट्टराईले बताइन् । करिव १ हजार ५ सय जनाको मेलामा सहभागिता रहेको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्